सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान

सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान


पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (२१ पुस) दिउँसो आंशिकदेखि साधारणतया बदली रहने र भोलि सोमबार देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार अहिले कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती र मधेस प्रदेशको पूर्वी भू-भागमा साधरणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । आज दिउँसो देशको पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि साधरणतया मौसम बदलीदेखि सामान्यतया वर्षा रहने छ । आज राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनेछ ।

तुलनात्मक रूपमा आजभन्दा भोलि सोमबार बढी बदली रहने र वर्षाको पनि सम्भावना रहेको छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिमका पहाडी र उच्च हिमाली क्षेत्र र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको बढी प्रभाव सोमबार र मङ्गलबार रहने भएकाले बदली र वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

काठमाडौंको न्यूनतम तापक्रम बढ्यो

शनिबारको तुलनामा आज काठमाडौंको न्यूनतम तापक्रम केही वृद्धि भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतम तापक्रम सात दशमलव दुई डिग्री सेल्सियस मापन भएको छ । शनिबार पाँच दशमलव नौ डिग्री सेल्सियस मापन भएको थियो । राति काठमाडौंको आकाशमा बादल लागेको हुनाले न्यूनतम तापक्रम थोरै बढेको मौसमविद् महर्जनको भनाइ छ । न्यूनतम तापक्रम बढेकाले काठमाडौंमा आज बिहान तुलनात्मक रूपमा बिहान कम चिसो महसूस भएको छ । ज्ञातव्य छ, गत मङ्सिर २९ गते काठमाडौंको न्यूनतम तापक्रम दुई दशमलव पाँच डिग्री सेल्सियस पुगेको थियो ।