पोखरामा माघ १५ देखि ‘अन्तरराष्ट्रिय भेट्रान्स फुटबल’

पोखरामा माघ १५ देखि ‘अन्तरराष्ट्रिय भेट्रान्स फुटबल’


नेपालकै प्रतिष्ठित बगर भाइखलक पोखराले १४औं संस्करणको अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

पोखरा महानगरपालिका १ पुरानो टुंडिखेल मैदानमा आगामी माघ १५ गतेदेखि २१ गतेसम्म तीन विधामा प्रतियोगिता सञ्चालन गर्ने तयारीमा जुटेको हो ।

खलकका अध्यक्ष इश्वरमान गुरुङका अनुसार प्रतियोगितामा ४० वर्ष पुरा भएका उमेर समूह, ५० वर्ष र ६० वर्ष नाघेकाहरुबीच प्रतिस्पर्धा हुनेछ । सो प्रतियोगितामा नेपालका विभिन्न शहर तथा भारत तथा बेलायतबाट पनि टिम सहभागिता हुने उनको भनाइ छ ।

४० वर्षतर्फको विजेताले नगद रु २ लाख र उपविजेताले नगद रु १ लाख प्राप्त गर्नेछ । यस्तै ५० वर्षतर्फ विजेताले नगद रु १ लाख र उपविजेताले नगद रु ५० हजार हात पार्नेछ भने ६० वर्षतर्फ विजेताले नगद रु ५० हजार र उपविजेताले नगद रु ३० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।