तेस्रो अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा नेपालले ६ स्वर्णसहित २५ पदक जितेको छ । नेपालले ६ रजत र १३ कास्य पदक समेत प्राप्त गरेको छ ।
भारतको असम राज्यको गुवाहटीमा भएको उक्त प्रतियोगितामा होमबहादुर राई, रसिला श्रेष्ठ, सिवानी आले मगर, जेनो पुन, अर्जुन अधिकारी र आशिष तामाङले नेपालका लागि स्वर्ण पदक हात पारे । त्यसैगरी विवेक नेपाली, आरोज तामाङ, सतालीराज बुढा, साम्राज्ञी चौधरी, रोजी फगामी मगर र निर्जला ओलीले रजत प्राप्त गरे ।
यस्तै सार्थक शाही, प्रलिशा प्रधान, ऐश्वर्य बुढा, इल्भा सिंह, युदिका राणा, प्रनिश बर्देवा, रेहान श्रेष्ठ, उदय परियार, महेन्द्र कार्की, अङ्कित पाठक, रोहित श्रेष्ठ, साजन नेपाली र करण औडले कास्य पदक प्राप्त गरे ।
‘खो खो’मा पुरुषतर्फ नेपाल उपविजेता
पहिलो पटक आयोजना गरिएको खो खो विश्वकप प्रतियोगितामा नेपालको पुरुष टोली उपविजेता बनेको छ । नेपाल फाइनलमा भारतसँग पराजित भएको हो ।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा सम्पन्न फाइनल खेलमा नेपाल आयोजक भारतसँग ५४–३६ अङ्कले पराजित भएको हो । यसअघि आइतबार नै भएको महिलातर्फको फाइनल खेलमा पनि नेपाल भारतसँग नै ७८–४० अङ्कले पराजित भएको थियो ।
पुरुषतर्फ नेपाल समूह ‘ए’को उपविजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको हो । नेपाल पहिलो खेलमा भारतसँग ४२–३७ अङ्कले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले पेरूलाई ८०–३४ अङ्कले, तेस्रो खेलमा ब्राजिललाई १३४–८ अङ्कले तथा चौथो खेलमा भुटानलाई ९८–८ अङ्कले हराएको थियो । नेपालले क्वाटरफाइनलमा बङ्गलादेशलाई ६७–१८ अङ्कले तथा सेमिफाइनलमा इरानलाई ७२–२० अङ्कले पराजित गरेको थियो ।
प्रतिक्रिया