पृथ्वी मावि बाक्सिलाले कब्जा गऱ्यो राष्ट्रपति रनिङ शिल्ड

पृथ्वी मावि बाक्सिलाले कब्जा गऱ्यो राष्ट्रपति रनिङ शिल्ड


खोटाङको केपिलासगढी गाउँपालिकाले आयोजना गरेको अन्तरमाध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाले कब्जा (पच) गरेको छ ।

तेस्रो अन्तरमाध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लगातार तेस्रो पटक विजयी भएपछि सोमबार पृथ्वी माविले शिल्ड कब्जा गरेको हो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७०, पाँचौँ संशोधन २०८० मा उल्लेख भएअनुसार लगातार तीन पटकसम्म रनिङ शिल्ड प्रतियोगितामा विजयी हुनेले सो रनिङ शिल्ड सधैका लागि राख्न पाउने व्यवस्था छ । चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सितोरियो कराँते र तेक्वान्दोसहित २६ स्वर्ण, २१ रजत २५ कास्य पदक ल्याएर पृथ्वी माविले उपाधि आफ्नो पोल्टामा पारेको हो ।

यही माघ ११ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ स्वर्ण, तीन रजत, एक कास्य पदकसहित शुक्रजित मावि दोस्रो र तीन स्वर्ण, ६ रजत र एक कास्य पदकसहित जालपा मावि बाक्सिला तेस्रो भएको छ ।

प्रतियोगितामा विजयी प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः नगद रु ५० हजार, ४५ हजार र ४० हजार नगद पुरस्कारको साथमा शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी विद्यालय तथा विद्यार्थीहरुलाई गाउँपालिका प्रमुख समिर राई, प्रमुख प्रशासकीय अधिकृत शौधन राईलगायतले पुरस्कार वितरण गर्नुभएको छ ।

प्रतियोगितामा गाउँपालिकाभित्र सञ्चालित नौवटा माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए । अन्तरमाध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनोट भएका विद्यार्थीहरुले नवौँ जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछन् । केपिलासगढी गाउँपालिकासँगै हलेसी तुवाचुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटेहाङ र बराहपोखरी गाउँपालिकाले पालिकास्तरीय प्रतियोगिता सम्पन्न गरिसकेका छन् ।

तस्बिर : रासस