त्रिशूली र नारायणी नदीमा आयोजना गरिएको ३५ किलोमिटर राष्ट्रिय कायाक प्रतियोगितामा तनहुँका रवीन गुरूङ विजेता बनेका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका-५ स्थित त्रिशूली नदीको छिम्केश्वरी क्याम्पबाट नवलपुरको गैँडाकोट–५ स्थित नारायणी नदीको कुसुमघाटसम्मको दूरी दुई घण्टा २८ मिनेट २६ सेकेण्डमा पूरा गर्दै रवीन विजेता बनेका हुन् ।
गण्डकी प्रदेश खेलकुद विकास समितिले शुक्रबार (१८ माघ) आयोजना गरेको राष्ट्रिय कायाक प्रतियोगिताको विजेता बनेका उनले नगद रु २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा उपविजेता तनहुँका प्रमोद गुरूङ भएका छन् । उनले निर्धारित दूरी दुई घण्टा २८ मिनेट ४५ सेकेण्डमा पूरा गर्दै नगद रु १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
देशभरका ११ जिल्लाका २५ खेलाडीको सहभागिता रहेको प्रतियोगितामा उदयपुरका कृष्ण खड्काले दुई घण्टा ३० मिनेट २२ सेकेण्डमा दूरी पार गर्दै तेस्रो भएका छन् । उनले रु १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका आयोजकले जनाएको छ ।
धनकुटाका विजय माझीले दुई घण्टा ३० मिनेट २४ सेकेण्डमा दूरी पार गर्दै चौथो स्थान प्राप्त गर्दै रु पाँच हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा निर्धारित दूरी दुई घण्टा ३३ मिनेट पाँच सकेण्डमा पार गर्दै गोरखाका सुरेन्द्र चेपाङ सान्त्वना भएका छन् । उनलाई नगद रू तीन हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
विजेताहरूलाई गण्डकी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव श्रीधर शर्मा, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल, जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुनले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
पुरस्कार वितरण कार्यक्रममा समितिका सदस्य सचिव शर्माले नेपालमा खेलाडीहरू खेलेरै जीवनयापन गर्ने अवस्थामा आइसकेको बताए । राज्यबाट खेलकुदमा लगानी कम भइरहेको सन्दर्भमा निजी क्षेत्रले खेलकुद क्षेत्रलाई अगाडि बढाउन लगानी गर्नुपर्नेमा उनले जोड दिए । गण्डकीले प्रदेशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पदक पाउने खेलाडीलाई सम्मानित गर्ने किसिमले कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ ।
‘प्रदेश सरकारले खेलकुदको क्षेत्रलाई समेटेर विभिन्न आठवटा विधामा मेडल दिनेगरी कार्यविधि ल्याएको छ’, शर्माले भने, ‘अन्तर्राष्ट्रिय पदकप्राप्त खेलाडी, खेलकुदको क्षेत्रमा काम गर्ने सञ्चारमाध्यम, खेलकुदको विकासमा काम गर्ने व्यक्ति तथा संस्था, रेफ्री, कोचसहित पर्नेगरी आठ वटा विधाबाट वार्षिक रूपमा मेडल प्रदान गर्दैछ ।’ खेल क्षेत्रलाई योगदान पुग्नेगरी प्रदेशले मुलुकमा पहिलोपटक कार्यविधि ल्याएको उनले जानकारी दिए ।
प्रदेशमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई प्रोत्साहन स्वरूप मासिक रूपमा पारिश्रमिक दिन सुरु गरिएको भन्दै सदस्य सचिवले यहाँ रहेका नौ जना ओलम्पिक खेलाडीलाई गतवर्षदेखि मासिक रूपमा रु पाँच हजार भत्ता दिइएको उल्लेख गरे । गण्डकी जल सम्पदामा धनी रहेको भन्दै उनले पानीमा खेलिने साहसिक खेलकुद गर्दै जल पर्यटनको प्रवर्द्धन गर्न सकिने धारणा राखे ।
‘जल पर्यटनमार्फत धार्मिक पर्यटन प्रवर्द्धन गर्दै खेलकुद क्षेत्रलाई जोड्न सकिन्छ’, उनले भने, ‘धार्मिक पर्यटक र साहसिक पर्यटकलाई जोडेर लैजान सकेमा प्रदेशवासीको आयआर्जनमा वृद्धि हुनेछ ।’ नारायणी नदीमा ड्रागन मोटर रेस गर्न सकिने सम्भावना भएको बताउँदै उनले यसको तयारी गरेमा जल पर्यटन प्रवर्द्धन हुँदै जाने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया