आगामी फागुन ७ गते देखि १६ गतेसम्म झापाको भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन हुने भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजक सौर्य एयरलाइन्स प्रा.लि. तथा ओम साई पाथिभरा अस्पताल रहने भएको छ ।
गोल्डकपले भद्रपुरमा प्रायोजक हस्तान्तरण कार्यक्रममार्फत सार्वजनिक गरेको प्रायोजक विवरण अनुसार सौर्य एयरलाइन्स प्रा.लि. तथा ओम साई पाथिभरा अस्पताल रहने भएको हो ।
सौर्य एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलले सो कार्यक्रममा ३१ लाख नगद हस्तान्तरण गर्दै गोल्डकप प्रायोजन गर्ने घोषणा गरेका थिए ।
२०७९ सालदेखि सुरू गरिएको भद्रपुर झापा गोल्डकप यस पटक भने फागुन ७ देखि १६ गतेसम्म १० दिन संचालन गरिँदै छ ।
खेलमा प्रथम पुरस्कार चण्डीराज ढकाल, नवराज ढकाल तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, टिकाराज ढकाल समेतका मातापिता रामरेखा तथा लक्ष्मण ढकालको स्मृतिमा सौजन्य गरेका छन् भने सो पुरस्कारको राशि १३ लाख रुपैयाँ रहेको छ । यस्तै, द्वितीय पुरस्कार अन्तर्राष्ट्रिय झापाली समाजले प्रदान गर्नेछ भने सो पुरस्कारको राशि ७ लाख रुपैयाँ रहेको छ ।
गोल्डकपका अध्यक्ष दिपेश ढकालका अनुसार गोल्डकप संचालन गर्न १ करोड ७८ लाख रुपैयाँ लाग्नेछ । सर्वोत्कृष्ट खेलाडी, गोलकिपर, प्रशिक्षक, म्यान अफ दि म्याच लगायत खेललाई रोचक र उत्प्रेरक बनाउन दिइने पुरस्कारका लागि २१ हजारदेखि १ लाखसम्म नगद पुरस्कार प्रदान गरिने छ ।
ढकालले यस खेलसित सरकारी स्वामित्वको मेची रंंगशालाको थप स्तर उन्नतिमा सहयोग पुग्ने भएकाले संघीय तथा प्रादेशिक सरकारले समेत आवश्यक रकम सहयोग गर्न माग गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगर प्रमुख गणेश पोखरेलले नगरपालिकाले खेलकुदको क्षेत्रमा महत्त्वपूर्ण कार्यहरू गरेको उल्लेख गर्दै गोल्डकप प्रतियोगिता सम्पन्न गर्न नगरपालिकाले सक्दो सहयोग गर्ने बताए ।
अग्रज पत्रकार गोपाल गिरीले गोल्डकपका गतिविधि वारे प्रकाश पारेको कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी लगायतले शुभकामना मन्तव्य राख्दै प्रतियोगिता सम्पन्न गर्न सबैले सहयोग गर्नु पर्नेमा जोड दिएका थिए ।
अध्यक्ष ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव जीवनकुमार श्रेष्ठले गरेका थिए भने प्रतियोगिता हेर्न आउने जेष्ठ नागरिक, विद्यार्थी, फरक क्षमताका दर्शकलाई निःशुल्क रुपमा प्रवेश दिने समेत आयोनकले जनाएको छ ।
प्रतिक्रिया