दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगिता आज (२७ माघ)देखि सुरु हुँदैछ ।
धनगढी रङ्गशालामा छनोट प्रतियोगिताको उद्घाट्न परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाबाट हुने कार्यक्रम रहेको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहले जानकारी दिएका छन् । आज छनोट प्रतियोगिताको उद्घाटन भए पनि छनोटका लागि प्रतियोगिता भने भोलिदेखि सुरु हुने बताइएको छ ।
छनोट भएका सात सय ७८ खेलाडीसहित चार सय ५० जना निर्णायक दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट सहभागी हुने परिषद्का सदस्यसचिव सिंहले जानकारी दिए ।
दशौँ राष्ट्रिय खेलकुदमा ६१ विधाका खेलमा खेलाडीले सहभागिता जनाउने छन् । प्रदेश छनोट प्रतियोगितामा महिला र पुरुष गरी ३१ खेल हुने सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहले जानकारी दिए । उनका अनुसार छनोट प्रतियोगिता फागुन २ गतेसम्म सञ्चालन हुनेछ ।
छनोट प्रतियोगिताका खेल कैलाली र कञ्चनपुरमा हुनेछ । कैलालीको धनगढीमा फुटबल, भलिबल, एथलेक्टिस, क्रिकेट, बास्केटबल, ब्याडमिन्टन, टेबलटेनिस, बुद्धिचाल, खो-खो, उसुलगायत खेल हुनेछन् । यस्तै, कञ्चनपुरको महेन्द्रनगरमा कबड्डी, कुस्तीलगायत खेल हुने जनाइएको छ ।
अछामबाट एक सय ४१, बझाङबाट दुई सय ६३, बैतडीबाट दुई सय दुई, डोटीबाट दुई सय ९४, बाजुराबाट दुई सय ३९, दार्चुलाबाट दुई सय ३६, डडेल्धुराबाट दुई सय ४३, कैलालीबाट चार सय ३१ र कञ्चनपुरबाट चार सय २३ जना खेलाडीले प्रतियोगितामा भाग लिँदैछन् ।
एकतीसमध्ये १६ खेलको प्रतियोगिता हुनेछ । छनोट हुने खेलमा बास्केटबल महिला, कुस्ती, आइटिएफ तेक्वान्दो, सुटिङ, जुडो, रब्बी, भारत्तोलन, हेन्डबल महिला रहेका छन् । हक्की, आर्चरी, साइक्लिङ, सफटेनिस, पौडी, शारीरिक सुगठन, सेपाक ताक्क्रो, फेन्सिङ, लङटेनिस, जिम्न्यास्टिक खेलका खेलाडीले राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन पाउनेछन् । छनोट प्रतियोगितामा प्रथम मेडल तीन सय ३२, द्वितीय मेडल तीन सय २०, तृतीय मेडल चार सय ५६ गरी एक हजार एक सय ९८ वटा मेडल रहेका छन् ।
अर्जुन ट्रफी क्रिकेट : फाइनलका लागि अत्तरिया र धनगढी भिड्दै
धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । फाइनल प्रवेशका लागि सिवाइसी अत्तरिया र डिसीए धनगढी भिड्ने भएका हुन् ।
यसअघि शनिबार भएको पहिलो फाइनल खेलमा न्यू होराइजन बुटवललाई पाँच विकेटले हराउँदै डडेल्धुरा फाइनलमा पुगेको छ । आजको विजेता टिमले सोमबार फाइनलमा डडेल्धुरासँग भिड्ने छ ।
अत्तरियासँगको सेमिफाइनल खेल खेल्नका लागि धनगढीले नेपाली अलराउण्डर दीपेन्द्रसिंह ऐरीलाई नयाँ खेलाडीका रूपमा भित्र्याएको छ । उनले खेललाई झन् रोचकता प्रदान गर्ने विश्वास लिइएको छ ।
धनगढीबाट दीपेन्द्रसिंह ऐरीसहित ललित राजवंशी, लोकेश बम, नारायण जोशीलगायत खेलाडी रहेका छन् भने अत्तरियाबाट भीम सार्की, विवेक यादव, साहव आलम, रसिद खानलगायत खेलाडी रहेका छन् ।
गो ड्रिर्मसको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखसहित ट्रफी पाउने छन् । क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद रु एक लाख प्रदान गरिने छ ।
उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयीमान खेलाडीले जनही रु ५०/५० हजार पाउने छन् । प्रत्येक खेलका म्यान अफ दी म्याचलाई नगद रु १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया