यौनस्वास्थ्यका विषयमा निर्माण गरिएको चलचित्र ‘दुःखी आत्मा’को काठमाडौंमा पहिलो प्रदर्शनी (प्रिमियर शो) गरिएको छ । बिहीबार (१ फागुन) प्रिमियर शोमा उपस्थित दर्शकले चलचित्रको विषयवस्तुको प्रसंशा गरे । शुक्रबारदेखि चलचित्र सार्वजनिक प्रदर्शन गरिँदैछ ।
यौन स्वास्थ्यका विषयमा धेरै विदेशी चलचित्र निर्माण भएपनि नेपालमा उक्त विषयमा चलचित्र निर्माण नभएकाले आफूले अग्रसरता देखाएको निर्देशक दीपेन्द्र लामाको भनाइ छ ।
आफ्ना चलचित्रमार्फत सामाजिक विषयलाई उठान गर्दैआएका निर्देशक लामाले ‘दुःखी आत्मा’मा पुरुषमा ‘इरेक्टाइल डिस्फक्सन’ भएको देखाएका छन् । यस पात्रका लागि उनले कविको पृष्ठभूमि तयार गरेका छन् ।
चलचित्रमा कविको भूमिकामा अभिनेता दयाहाङ राई छन् । आफ्नो पात्रलाई न्याय गर्न हरसम्भव प्रयास गरेको उल्लेख गर्दै दयाहाङले भनेका छन्- ‘म कवि होइन र इरेक्टाइल डिस्फक्सनको समस्यालाई महसुस गरेको छैन । त्यसैले त्यो पात्रलाई न्याय गर्न एउटा अभिनेताका रुपमा सक्दो मेहनत गरेँ ।’
अभिनेत्री आँचल शर्माले यौनस्वास्थ्यका विषयमा खुलेर संवाद नहुँदा निम्तिने समस्याले परिवारलाई असर गर्ने गरेको धारणा राख्दै भनिन्- ‘हामीले चलचित्रमा उठान गरेको विषय परिवारले हेर्नुपर्ने र चर्चा गर्नुपर्ने हो । नेपाली समाजमा यौन समस्यालाई डाक्टरसँग पनि भन्न लजाउने स्थिति छ । समस्या व्यक्त गर्न नसक्दा आइपर्ने जोखिम र सामाजिक भयको मिश्रणले निम्त्याउने घटनाक्रम चलचित्रमा प्रस्तुत छ ।’
‘एडल्ट ड्रामा’ भनिएको उक्त चलचित्रमा अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देललगायतका कलाकारले अभिनय गरेका छन् ।
प्रणय दिवसको अवसर पारेर प्रदर्शन हुने चलचित्रलाई आलोक शुक्लाले छायाङ्कन तथा निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।
प्रतिक्रिया