बाँस ‘ग्रिन गोल्ड’ हो, यसप्रति आशा जगाउँदै छौँ : गणेश शाह

बाँस ‘ग्रिन गोल्ड’ हो, यसप्रति आशा जगाउँदै छौँ : गणेश शाह


यही फागुन १५, १६ र १७ गते खोटाङमा हुने प्रथम राष्ट्रिय बाँस सम्मेलनको पूर्व तयारीमा रहेका आयोजकहरूले बाँसलाई ‘ग्रीन गोल्ड’कै संज्ञा दिएका छन् । निर्माण क्षेत्रमा प्रयोग गर्न सके यसले नेपालको अर्थतन्त्रलाई दीगोरूपमा आत्मनिर्भर बनाउन सक्ने उनीहरूको तर्क छ । रड, डण्डी तथा प्लाष्टिकका लागि बाहिरिने नेपाली पैसा रोक्न सकिने र त्यसबाट अर्थतन्त्र सवल बन्ने प्रक्षेपण उनीहरूले गरिरहेका छन् । बाँसको प्रयोग तथा प्रवर्द्धनमा लागिपरेका, बाँस सम्मेलन आयोजक समितिका अध्यक्ष गणेश शाहसँग सुरेश सुवेदीद्वारा गरिएको कुराकानीको सार-संक्षेप :

० बाँसलाई तपाईंहरूले ‘ग्रिन गोल्ड’को संज्ञा दिनुभएको छ, यसबाट अर्थतन्त्रमै कायापलट गर्न सकिन्छ भन्नुहुन्छ, बाँसप्रतिको यो आशा र विश्वास अलि बढी भएन र ?
– बाँसविज्ञ एवम् प्राविधिकहरूले ‘ट्रिटमेन्ट’ गरिएका बाँस पच्चीस वर्षभन्दा बढी टिक्न सक्ने ग्यारेन्टी गर्नुका साथै मानिसहरूमा १२-१५ वर्षमै आवासको डिजाइन परिर्वतन गर्न चाहने ट्रेण्ड बढेकोले बाँसप्रति आशा जागेको छ । अर्को कुरा, देशमा आयात र निर्यातको अनुपात हेर्दा निसासिनुपर्ने अवस्था छ । राजस्व तिरिरहेका जग्गाजमिन प्रायः उत्पादनविहीन छन् । उत्पादन भएकामा पनि मजदुरको अभाव छ । युवाहरू कडा परिश्रम भन्दा पनि ‘इजी फार्मिङ’प्रति लालायित भएका छन् । यस्तो अवस्थामा बाँस नै उत्तम विकल्प हो भन्ने विश्वास जाग्नु कुनै अनौठो र अस्वाभाविक कुरा होइन ।

० बाँसको माध्यमबाट दीगोे रुपमै अर्थतन्त्रमा स्थायित्व आउने भनिएको छ, यो कसरी सम्भव छ ?
– अर्थतन्त्र सिथिल भएकोले सबल र दीगोे अर्थतन्त्रको खोजी भैरहेको अवस्था छ, त्यसैले ‘ग्रीन इकोनोमी’को जरुरी परेको छ । दीगोे अर्थतन्त्रका लागि ‘ग्रीन इकोनोमी’को अवधारणा नयाँ पनि होइन । यसलाई दीर्घकालिन अर्थतन्त्रको साधन मानिन्छ । ‘ग्रीन इकोनोमी’का विभिन्न उपाय छन् । विभिन्न देशले फरक-फरक उपाय अपनाएका छन् । तीमध्ये हामीले उपयुक्त छान्ने समय आएको छ । हाम्रो सन्दर्भमा बाँस नै गीन इकोनोमीको प्रमुख आधार बन्न सक्छ ।

० तपाईंहरूले बाँसलाई ‘ग्रीन गोल्ड’ नै भन्नुको कारणचाहिँ के हो त ?
– बाँसको महत्व बुझेर यसलाई प्रयोगमा ल्याउन सके यसबाट ब्यापकमात्रामा आर्थिक उपार्जन गर्न सकिन्छ । मानिसहरूले यो अझै बुझ्न सकेका छैनन्, जो विडम्बनाको विषय हो । बाँसलाई ‘ग्रीन गोल्ड’का रुपमा स्थापित गर्ने उद्देश्यले नै बाँस सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनले यत्ति गर्न सके दीगो अर्थतन्त्रलाई मद्दत गर्ने विश्वास हामीलाई छ ।

० एक अभियन्ताको आँखामा बाँस कस्तो वनस्पति हो ?
– यो एक बहुउपयोगी वनस्पति हो । मानव जीवीकासँग यसको अन्योन्याश्रित सम्बन्ध रहेको छ । नेपालमा बाँसजन्य वनस्पतिका विभिन्न ७५ भन्दा बढी प्रजातिहरू उपलब्ध छन् र पनि वनस्पति विभागले ४० प्रजातिलाई मात्र स्वीकृत दिएको छ । अहिले अनेक विकल्प भेटिएको भएपनि हाम्रो पुर्खाहरूका लागि त बाँस अपरिहार्य नै थियो । सबै जात, वर्ण, धर्मको पौराणिक कला, धर्म, संस्कृति, परम्परा बाँससँगै झाँगिएको पाइन्छ । विकास तथा उन्नतिका निमित्त पनि घरेलु तथा साना उद्यम र जनजीवीकासँग जोडिएको छ । नेपालजस्तो पहाडी तथा सम्वेदनशील भूवनोट भएको देशमा भू तथा जलाधार संरक्षण गर्न बाँस कम खर्चिलो विधि हो । दीगो भुकम्पमैत्री निर्माणका लागि पनि यो उपयुक्त मानिन्छ । पर्यावरणीय शुद्धीकरणका लागि त हुँदै हो, अब व्यवसायिक वृत्तिविकास गर्न पनि बाँसको महत्वलाई थप सान्दर्भिक बनाउनुपर्ने देखिन्छ ।

० पर्यावरणीय शुद्धीकरण भन्दैमा मानिसहरू बाँसको घरमा बस्लान् र ?
– पछिल्ला दिनहरूमा ‘ब्याक टु नेचर’को अवधारणा बढ्दै गर्दा मानव जीवनशैली प्रकृतिउन्मुख हुन थालेको छ । ग्रामीण क्षेत्रमा आवश्यकता र शहरी क्षेत्रमा सौखका कारण पनि बाँसका सामग्रीहरूको प्रयोग बढ्दै गएको छ । बाँसले वायुमण्डलमा रहेको कार्वन पनि अरु बिरुवाले भन्दा बढी शोषण गर्छ । विश्वव्यापीरूपमा बढ्दै गरेको जलवायु परिवर्तनको दुष्प्रभावलाई न्यूनीकरण गर्न यसको महत्वपूर्ण भूमिका हुन्छ । यत्ति बुझ्नेले बाँसको घरलाई निवास बनाउन आपत्ति मान्दैनन् । बिस्तारै यसप्रति मानिसमा रूचि वा चाहना बढ्नेमा हामी विश्वस्त छौँ ।

० बहुतले घरमा बसेर विलासी जीवन जिउने मनोविज्ञानले ग्रस्त छ नि नेपाली समाज त, होइन र ?
– हो…, धेरैमा यो बुझाइ नभएको होइन । तर, बहुतले घरमा बस्दा ऋणले ग्रस्त भइन्छ भने कसरी स्वस्थ र सुरक्षित मान्न सकिएला त ? लामो ऋणको दुष्चक्रमा फस्ने अवस्थाले आर्थिक स्थायित्व ल्याउन सकिन्न । हामी अर्थतन्त्रमा दीगोपना ल्याउन चाहने भए वैज्ञानिक तथा मनोवैज्ञानिक रूपमा तयार हुनुपर्छ । त्यसैले हाम्रो अनुरोध छ- ‘आर्थिक स्थायित्वका लागि पनि बाँसनिर्मित आवास उपयुक्त हुन्छ, यसको प्रयोग गरौँ ।’

० बाँसको घरका लागि नक्सा पास हुन्छ त ?
– नक्सापासको विषय सरल र सहुलियतयुक्त छ नि । नक्सापासको आवश्यकता बाटो, बत्तीका लागि हो, यो त अहिले कटेजमा बस्नेहरूले पनि पाइरहनुभएको छ । केही ठाँउमा अस्पष्ट होला, त्यसलाई सहज बनाउनु पर्छ । यसैका लागि त समन्वय चाहियो नि !

० अनि बैंकिङ कारोबार र ऋणका लागि त.. ?
– हामी ऋणको बोझविहीन नेपालको कल्पना गरिरहका छौँ । जति अग्लो घर त्यति नै ठूलो आर्थिक बोझ ! यो नगरौँ भन्ने हाम्रो आशय हो । आजको पुस्तालाई यसतर्फ आकृष्ट गर्नैपर्छ । तबमात्र यसको सम्भावना र अवसर देखिन्छ । बाँसबाट प्राप्त हुने विविध वस्तु तथा सेवाहरूको प्रदर्शनी गर्ने, बाँसको अध्ययन तथा अनुसन्धानलाई थप बढावा दिने, बाँसको प्रवर्धनका लागि सरोकारवालाहरूको ध्यानाकर्षण गर्दै आवास तथा सामाग्री उत्पादनमा बाँसको उपयोगिता बढाउन सकिन्छ । बाँसको दररेट तोक्न कठिन मान्नु हुँदैन । यससम्बन्धी उद्योग धन्दालाई प्रवर्धन गर्नु पर्दछ । यसैका लागि त समन्वय चाहियो नि !

० बाँस र बाँसजन्य सामग्रीप्रति सामाजिक मनोविज्ञान परिर्वतन गर्ने भन्ने छ, यो कसरी सम्भव छ ?
– बाँस र बाँसजन्य सामग्रीहरू विशेषगरी आयस्तर कम भएका नागरिकहरूको जीवनयापनको महत्वपूर्ण आधार वस्तुका रुपमा रहँदै आएको छ । तर अब बाँसको व्यवसायीकरण र प्रत्यक्ष तथा अप्रत्यक्ष लाभका बारेमा हामी जानकारी गराउने छौँ । यो ग्रीन गोल्ड हो भन्ने बुझाउनै पर्नेछ । बाँसको दररेट, नक्सापास लगायत विषयमा सम्बन्धित निकायसँग छलफल गरी टंङ्ग्याउनु पर्दछ । नयाँ पुस्तालाई प्रकृतिसँग सहअस्तित्व कायम राख्दै वातावरण संरक्षण र दीगो विकासको मूलप्रवाहीकरणमा लैजाने, बाँससँग सम्बन्धित ग्रामिण क्षेत्रमा बस्ने आदिवासी, किराँत लगायतका धार्मिक, पौराणिक कला संस्कृति र रीतिरिवाजको संरक्षण गर्न पनि उत्साहित गर्न सकिन्छ । बाँसबाट प्राप्त हुने वस्तु तथा सेवाको प्रवर्धन तथा बजारीकरण गर्ने र बाँससम्बन्धी अध्ययन/अनुसन्धानलाई बढावा दिन तथा बाँसकेन्द्रित युवा स्वरोजगारको सृजना एवं प्रवर्धन गर्न यस सम्मेलनले मद्दत गर्ने आशा र लक्ष्य राखेका छौँ ।

० बाँससम्वन्धी नीति-निर्माणमा पनि केही पहल हुन्छ कि ?
– अवश्य ! यस सम्मेलनमा सहभागीहरूलाई नेपालमा पाइने बाँसका प्रजातिहरूको विस्तृत जानकारी, उपयोगिता, अर्थतन्त्रमा योगदान र बाँसको व्यवसायिक खेती, उद्यम प्रवर्धन तथा दीगो उपयोगिताको विषयमा सम्बन्धित विज्ञहरूसँग भेटघाट गरी यिनका सम्भावना र चुनौतिहरूको विषयमा वृहत् छलफल गरी अनुभव आदानप्रदान गरिनेछ । यस्ता विविध महत्व बोकेको बाँसप्रजातिको संरक्षण, प्रवर्धन र उपयोगितालाई उजागर गर्दै बाँसका उत्पादनहरूको विविधीकरण तथा यिनको प्रयोगलाई गुणात्मक बनाउन बाँसकेन्द्रित राष्ट्रिय नीति-निर्माण, योजना तथा कार्यक्रम लगायतका विषयहरूलाई लक्षित गरी यो सम्मेलनको आयोजना गर्न लागिएको हो ।

० सम्मेलनको थप उद्देश्य या लक्ष्य पनि छन् कि ?
– बाँसबाट प्राप्त हुने वस्तु तथा सेवाको प्रवर्धन एवम् बजारीकरण गरी राष्ट्रिय अर्थतन्त्रलाई टेवा पु¥याउने लक्ष्यका साथ प्रथम राष्ट्रिय बाँस सम्मेलन आयोजना गरिने भएको हो । बिजनेस डुइङ रिर्पोटले पनि बाँसलाई धेरै सम्भावना भएको प्रकृतिक श्रोत भनी उल्लेख गरेको छ । त्यसैले बाँससम्बन्धी अनुसन्धानलाई बढावा दिइ बाँसकेन्द्रित रोजगारको सृजना गर्न यस सम्मेलनले मद्दत गर्ने लक्ष्य लिइएको छ ।

० सम्मेलनमा के-के हुनेछ ?
– नेपालमा पहिलो पटक हुन लागेको राष्ट्रिय बाँस सम्मेलनलाई सफल बनाउन प्रदेशस्तरीय र काठमाडौं उपत्यकामा पूर्व तयारीसम्बन्धी छलफल कार्यक्रम आयोजना भैसकेको छ । यस सम्मेलानको मूल नारा ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ तय गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मुख्य आयोजक रहनेछ । सम्मेलनमा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल, काठमाडौं, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश लगायत ५० वटा सरकारी तथा गैरसरकारी निकाय १०० भन्दा बढी वन उपभोक्ता समूह, ५० विश्वविद्यालय तथा अनुसन्धान केन्द्र, वन विज्ञान विषय अध्ययन संस्था लगायत प्रत्यक्ष सहभागी हुने छन् । फागुन १५, १६ र १७ गते खोटाङ जिल्लाको दिक्तेलमा बाँससँग सम्बन्धित सरकारी तथा वन वातावरण सम्बन्धी गैरसरकारी संघ-संस्था, शैक्षिक तथा अनुसन्धान निकाय, नीजि क्षेत्र, बाँसमा आधारित उद्यमीहरूले सहभागिता जनाउने छन् । अनलाइनबाट हजारौँ शुभचिन्तकहरूले परोक्ष रुपमा अवलोकन गर्नेछन् । खोटाङ जिल्ला र आसपासबाट हजारौं मानिसले स्टलको अवलोकन गर्ने त छँदैछ । सांस्कृतिक झाँकीहरूको प्रदर्शनले सम्मेलन उत्सवमय बनाउने छौँ ।