लन्डन । शनिबार नेपालमा गएको विध्वंशक भूकम्पमा परी ३९०० बढीको ज्यान गइसकेको अधिकारीहरुले बताइरहँदा बेलायतस्थित पत्रकारहरूका छाता संस्था नेपाल पत्रकार महासंघ यूके शाखा तथा कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्क यूके शाखाले पीडितहरुका लागि तत्काल आपत्कालीन सहयोग तथा दीर्घकालीन पुनर्निर्माणमा सघाउनका लागि सहयोग संकलन अभियान शुरु गरेक छन्।
इच्छुक सहयोगदाताहरुलाई https://www.justgiving.com/earthquake2015/ मा गएर सहयोग उनीहरुले आग्रह गरेका छन्। अनलाइन डोनेशन गर्न सम्भव नभएका सोझै जाे कुनै पनि मन ट्रान्सफर एजेन्सीमार्फत तलको खातामा सहयोग जम्मा गर्न सकिनेछ।
Account Name: HELP NEPAL Network
Account No: 043952P
Account type: Current
Bank Name: NB Bank Ltd.
Bank Address: Khichapokhari, New Road, Kathmandu
सबै सहयोगदाताहरुले आफूहरुले गरेको सहयोगबारे [email protected] मा इमेल पठाएर जानकारी दिन पनि नेटवर्कले अनुरोध गरेको छ।
“विगत असी वर्ष यताको सबैभन्दा विध्वंशकारी भूकम्पका कारण लाखौं नेपाली दाजुभाइ दिदी बहिनीहरु नराम्रो संग प्रभावित भइरहनु भएका बेला संसारको जुनसुकै ठाउँमा बसेको भए पनि सक्दो सहयोग गर्नु सबै नेपालीहरुको कर्तव्य हो। त्यसैले आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्न हामी हार्दिक अपील गर्दछौ,” हेल्प नेपाल नेटवर्क युके शाखाका अध्यक्ष डा. प्रणव ज्ञवालीले भने ।
हेल्प नेपाल नेटवर्कले विगतमा पनि बाढी पहिरो तथा आगलागीबाट पीडित नेपाली जनसमुदायलाई थलोमै गएर राहत वितरण गर्दै आएको छ। गत साता मात्रै सप्तरीको रामपुरा-मल्हिनियामा भीषण आगलागीका कारण घरबारविहीन भएका दर्जनौं परिवारलाई हेल्पनेपाल नेटवर्कले भाँडाकुँडा, धोती-साडी, त्रिपाल र लुगाहरू वितरण गरेको थियो।
“हेल्प नेपालमार्फत प्रदान गरिएको सबै सहयोग सीधै पीडित परिवारसम्म र पुनर्निर्माण कार्यमा उपयोग गरिने हुनाले हामीले संयुक्त रुपमा सहयोग संकलन गरिरहेका छौं। त्यसैले ढुक्क भएर विपदको यो समयमा मन खोलेर सहयोग गर्न हामी आह्वान गर्दछौं,” नेपाल पत्रकार महासंघ यूके शाखाका अध्यक्ष चिरन शर्माले भने।
सन् १९९९ मा स्थापना गरिएको कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्कका १४ मुलुकहरुमा शाखाहरु रहेका छन्।
Photo taken from Net
प्रतिक्रिया