गुलाम अलीले नेपालमा प्रस्तुति दिने

गुलाम अलीले नेपालमा प्रस्तुति दिने


सुप्रसिद्ध पाकिस्तानी गजल गायक गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन् । गजल सम्राट भनेर समेत चिनिने गुलाम अली खानले आगामी चैत २ गते ललितपुरको पुल्चोकस्थित द प्लाजामा ‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रममा आफ्नो प्रस्तुति दिने आयोजक साधना कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले जानकारी दिए ।

मोक्तानका अनुसार गजलकार अलीले छोरा आमिर गुलाम अली र नाति नाजिर गुलाम अलीका साथ एउटै स्टेजमा प्रस्तुति दिने छन् । गुलाम अलीलाई नेपाल आउने इच्छा भएकाले आफूहरुले कार्यक्रम आयोजना गर्न लागेको बताउँदै अध्यक्ष मोक्तानले गजलकार अली यही फागुन ३० गते नेपाल आउने कार्यक्रम रहेको जानकारी दिए ।

सङ्गीतकार दीपक जङ्गमले गजल सम्राट गुलाम अलीको कार्यक्रमले नेपाली गजलकारलाई ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै भनेका छन्, ‘उहाँसँग मैले काम गर्ने अवसर पाएको छु । उहाँलाई प्रत्यक्ष सुन्ने र हेर्ने दर्शकझैँ सङ्गीतकर्मीको पनि सपना हुन्छ । त्यसैले यो कार्यक्रम दर्शकझैँ सङ्गीतकर्मीका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ ।’

गजलकार अलीका ‘गाजलु ती ठूलाठूला आँखा’, ‘किन किन तिम्रो तस्बिर’, ‘लोलाएका ती ठूला’, ‘के छ र दिउँ’, ‘निधारमा’ जस्ता नेपाली गीत र गजल प्रसिद्ध छन् ।