लण्डन ः समग्र राष्ट्र महाभूकम्पको निर्दयी प्रहरबाट असीम वेदनामा छटपटिई रहेको अवस्थालाई देख्दा सम्पूर्ण विश्वका मानव समुदाय मर्माहात भएका छन् । सबै स्वदेश र विदेशमा बसेका नेपालीहरुलाई यस प्राकृत्तिक प्रकोपले मर्माहात तुल्याएको छ । महाभूकम्प गएकै दिनदेखि सबै प्रवासमा तथा स्वदेशमा बस्दै आएका नेपालीहरुले यस दुःखद घडिमा ठूलो धार्य र साहस देखाएर पीडितहरुलाई राहत दिने काममा ऐक्यबद्धता देखाएर नेपाली र नेपालीको गौरव तथा राष्ट्रिय एकताको नमूना देखाएका छन् । आ–आफ्नै तरिकाले राहत दिने अभियानमा सबै लागि परेका छन् । महाभूकम्प गएको दोश्रोदिन, आईतवार दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डन र ग्रिनविच बारो स्थित साफाको संयुक्त बैठक समाजका अध्यक्ष श्रीचन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकलाई समाजका सहसचिव निर्मला गुरुङले सञ्चालन गरेकी थिईन् । बैठक शुरुहुनु अघि महाभूकम्पबाट मृत्यु भएका दिवंगतहरुका आत्मा शान्तिका लागि २ मिनटको मौन धारण गरेर प्रार्थना गरेको थियो । बैठकको मुख्य उद्धेश्य महाभूकम्पबाट पीडितहरुलाई प्रत्यक्ष कसरी सहयोग पुर्याउने कुरामा केन्द्रित रहेको थियो । समाजका सल्लाहकारहरु, कार्यकारी समितिका सदस्यहरुको बाकलो सहभागिता रहेको बैठकमा साफाका वरिष्ठ संयोजक जेरी आर्मस्ट्रोङ तथा कार्यकर्ता ज्ञान तमाङको सहभागिता रहेको थियो । वृहत छलफलपछि राहतका लागि रकम तथा जिन्सी सङ्कलन गरेर सोझै महाभुकम्पको मुख्य केन्द्र रहेको स्थानलाई लक्षित गरि सहयोग पुर्याउने निर्णय बैठकले गरेको थियो । पारदर्शिता र कुनक्षेत्रका पीँडितहरुलाई राहत दिने विषयमा समाजका उपाध्यक्ष हिराप्रसाद गुरुङ तथा सल्लाहकार सुमलकुमार गुरुङले स्थानीय निकायमा सम्पर्क गरेर सूचना प्राप्त गरेपछि राहत प्रदान गर्ने निर्णय गरिएको थियो । बैठककै क्रममा अब आउने ०४ मई २०१५को दिनमा सम्पन्न हुन गईरहेको बुद्ध जयन्तीका दिन सबै महाभूकम्पबाट दिवंगत भएका व्यक्तिहरुलाई श्रद्धान्जली अर्पण गरिने कुरा कार्यक्रम संयोजक सुमलकुमार गुरुङले बताएका थिए । ०४ मई २०१५का दिन विलविच स्थित लोटाज क्लबबाट वृहत विश्व शान्ति रैलीको पदयात्रा सम्पन्न गरिँदैछ तथा रैली पश्चात सोहि स्थानमा बुद्ध जयन्ती भव्यताका साथ सम्पन्न गरिनेछ । यस वर्षको बुद्ध जयन्तीको विशेषता रहेको छ । विश्वमा शान्तिका लागि अग्रदूत भगवान बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देशका साथ यस महाभूकम्पबाट पीँडित भएका नेपालीहरुको राहत सङ्कलन त्यसैदिन गरिने कुरा संयोजक सुमलकुमार गुरुङले सम्बोधन गरेका थिए । यस प्रस्तावलाई सबैले समर्थन गरेका थिए ।

प्रतिक्रिया