नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख अलराउन्डर खेलाडी दीपेन्द्रसिंह ऐरीलाई गृहनगर उद्योग वाणिज्य सङ्घ कञ्चनपुरले सम्मान गरेको छ ।
सोमबार (१२ फागुन)देखि महेन्द्रनगरमा सुरु भएको १६औँ सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन समारोहमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोसल्ला र सम्मानपत्रसहित रु ५१ हजार पुरस्कार प्रदान गरे । त्यसअघि ऐरीलाई रथमा महेन्द्रनगर बजार परिक्रममा गराइएको थियो ।
ऐरीलाई सम्मान गर्दै मन्त्री भण्डारीले खेलका माध्यमबाट मुलुकको परिचान अन्नर्राष्ट्रियस्तरमा पुऱ्याउने र विश्वकीर्तिमान राख्नेगरी खेल्न शुभकामना दिँदै भने, ‘अझै विश्व कीर्तिमान राख्न सफल हुनुहोला शुभकामना छ ।’
नेपालका ‘ब्याटिङ अलराउण्डर’ ऐरीले विश्वक्रिकेटमा दुलर्भ कीर्तिमान बनाएका छन् । ऐरीले सन् २०२३ सेप्टेम्बर २७ मा चीनको हाङ्गजाउमा एसियन गेमअन्तर्गत मङ्गोलियाविरुद्ध टी–२० आई खेलमा सर्वाधिक छिटो नौ बलमा अर्धशतक प्रहार गरेर कीर्तिमान राखेका हुन् । त्यसअघि भारतीय पूर्वक्रिकेटर युवराज सिंहले सन् २००७ को टी–२० विश्वकपमा इङ्ग्ल्यान्डविरुद्ध १२ बलमा अर्धशतकको कीर्तिमान बनाएका थिए । सिंहले बनाएको उक्त कीर्तिमानलाई ऐरीले तोडिदिएका हुन् ।
साथै अन्तरराष्ट्रिय क्रिकेटमा एक ओभरमा छ छक्का हान्ने खेलाडीको सूचीमासमेत ऐरीको नाम छ । दीपेन्द्रले १३ अप्रिल २०२४ मा एसिसी प्रिमियर कपमा कतारविरुद्ध एकै ओभरमा छ छक्का हानेर अर्को ‘रेकर्ड’ बनाएका थिए । गृहनगरमा उद्योग वाणिज्य सङ्घले गरेको सम्मानले खेलाडीलाई प्रोत्साहन मिलेको उनले बताए ।
‘यसरी गृहनगरमा खेलाडीको आत्मबल बढाउने गरी गरिएको सम्मानले मनोबल उच्च बनाएको छ । साथै अन्य खेलाडीलाई पनि यसबाट प्रोत्साहन मिलेको विश्वसा छ, पछिल्लो समय कञ्चनपुरमा क्रिकेट खेलप्रति आकर्षण बढ्दै गएकोले राज्यले खेलकुदका पूर्वाधार विकासमा ध्यान दिनुपर्छ’, ऐरीले भने ।
ऐरी ब्याटिङमा मात्रै नभई बलिङ र फिल्डिङमा पनि अब्बल मानिन्छन् । ऐरी आइसिसीको टी–२० आई वरियता अलराउण्डरतर्फ शीर्ष छ मा पर्ने पहिलो नेपाली खेलाडी हुन् । उनीबाहेक नेपाली क्रिकेटमा कुनै पनि वरियता शीर्ष–२० पार लगाउन सकेका छैनन् । नेपाली क्रिकेटको उर्भर भूमि कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौर भानुचोकमा दीपेन्द्रको परिवारको बसोबास छ ।
photo: rss
प्रतिक्रिया