नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले आफू अझै पनि अर्धभूमिगत अवस्थामै रहेको बताएका छन् । सरकारले आफूविरुद्ध वारेन्ट जारी नगरे पनि पार्टीलाई अर्धभूमिगत राखेकै कारण आफू पनि अर्धभूमिगत रहेको उनको भनाइ छ । नेकपा माओवादी केन्द्रले गरेको सशस्त्र संघर्ष मार्क्सवादी लेनिनवाद सिद्धान्तअनुरुप नभएको उनले बताए । व्यवस्था र मुलुक परिर्वतनका निम्ति सशस्त्र संघर्ष अनिवार्य भएपनि त्यसको विधि पद्धति हुने उनको तर्क छ ।
‘दुध खानुस्, घ्यू खानुस् अझ औषधिको प्रयोग गर्नुस् । समय/परिस्थितिको ख्याल गर्नुपर्छ । तसर्थ सशस्त्र संघर्षको सिद्धान्त नै गलत भो भनेर हामीले भन्दैनौं । त्यो गल्ती कहाँ भयो भने मार्क्सवादी लेनिनवादी सिद्धान्तले संघर्षको प्रक्रिया, परिस्थिति निर्माण गरेको छ । त्यसलाई उहाँहरुले सही किसिमले प्रयोग गर्नुभएन’, मोहनविक्रमले थपे, ‘त्यसकारण त्यो संघर्ष गलत भो । त्यसैले हामीले उग्रवामपन्थी भन्यौं । कतिपय अवस्थामा आतंकवाद पनि ग्रहण गऱ्यौँ । त्यो गलत हो । सशस्त्र संघर्षको सिद्धान्त नै गलत भएको छैन । उहाँले जुन प्रयोग गर्नुभो- त्यो मार्क्सवादी सिद्धान्त अनुरुप थिएन त्यसकारण त्यो गलत थियो ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई र माओवादी नेता कृष्णबहादुर महरालाई आफ्ना शिष्य भन्दा पनि कुनै बेलाको आन्दोलनका सहकर्मीका रुपमा लिने उनले सुनाए । उनै मोहनविक्रमसँग गरिएको अन्तरवार्ताको सम्पादित अंश ।
✍ तपाईं हिजोआज अर्द्धभूमिगत हुनुहुन्छ कि भूमिगत ?
– अर्द्धभूमिगत छु । मेरो ९० वर्षको जीवन त्यो मध्य लामो समय नेपालको प्रजातान्त्रिक आन्दोलन र वामपन्थी आन्दोलनमा बितेको छ । जीवनको लामो सयम म जेलमा बसेँ । भूमिगत भएँ । अहिले म अर्द्धभूमिगत अवस्थामा छु । अर्द्धभूमिगत यस मानेमा कि मलाई अहिले सरकारबाट कुनै वारेन्ट छैन । हाम्रो पार्टी हो नेकपा मसाललाई हामीले भूमिगत नै राखेका छौं । त्यसको महामन्त्रीको हैसियतले म अर्द्धभूमिगत छु । पुरै भूमिगत पनि छैन, पूरै खुला पनि छैन ।
✍ तपाईं नेपाली कम्युनिष्ट आन्दोलनको भीष्मपिता हुनुहुन्छ, तपाईंका शिष्यहरुमा ठुल्ठूला नामहरु छन्– प्रचण्डजी, बाबुरामजी, महराजी । यो लिष्ट लामो बन्दै जान्छ । आज तपाईंका शिष्यलाई देखेर गर्व महशुस हुन्छ कि ग्लानी लाग्छ ? कि होइन जीवन यस्तै हो लाग्छ ?
– पहिला त हामीले गुरु र शिष्यको सम्बन्धको उल्लेख गरौँ । यो सम्बन्धलाई हामीले गुरु र शिष्यको सम्बन्ध मान्दैनौं । पार्टीमा कोही केही दिन पहिला आयो कोही केही पछि आयो । गुरु र शिष्यको सम्बन्ध होइन, हाम्रो साथीको सम्बन्ध हो । यसरी देशका हजारौं साथीहरुसँग मैले पार्टीमा काम गरें । कतिपय साथीहरु हामीबाट अलग भएर जानुभो । त्यसलाई मैले शिष्य पनि ठान्दिनँ । मैले आफूलाई गुरु पनि मान्दिनँ । हामी नेपालको प्रजातान्त्रिक र वामपन्थी आन्दोलनमा सहयोद्धा हौं । र हाम्रा दृष्टिकोणहरु बेग्लै छन् । त्यै पनि जसले जहाँ जुन रुपमा देशको प्रजातान्त्रिक आन्दोलन, वामपन्थी आन्दोलनका लागि जति सहयोग गरिराख्नुभाछ त्यसको लागि सबलाई धन्यवाद दिन्छु ।
✍ तपाईंलाई उनीहरुप्रति कुनै गुनासो छ ?
– नाइ, धेरै मतभेद छ । त्यो मतभेद र मतभेद भन्नुको अर्थ हो हामीले अरु साथीहरुले अपनाएको कतिपय नीति, कार्यक्रमहरुलाई गलत मानेका छौं । हामीले उनीहरुलाई गलत मानेका छौं, उनीहरुले हामीलाई गलत मानेका छन् । त्यसकारण को असल छ को गलत छ ? इतिहासको लामो धारामा दर्ज हुँदै जाने कुरा हो ।
✍ तपाईंले आज फेरि शिक्षा दिनुभो भने पूरानै शिक्षा दिनुहुन्छ कि नयाँ शिक्षा दिनुहुन्छ ? अथवा त्यो बखतको लागि त्यै शिक्षा ठिक थियो, आजको युगका लागि बेग्लै शिक्षा चाहिन्छ ?
– के सही थियो के गलत थियो । जति पूराना कुराहरु थिए । मूलभूत सिद्धान्तहरु अहिले पनि सही छन् । तर, व्यवहार इतिहासका विभिन्न कालखण्डमा हामीले नीतिहरु अपनायौं । कयौं पूराना भए । कयौं गलत भए । नयाँ परिस्थितिमा नयाँ विचारहरु हामीले अपनाँउदै आएका छौं । त्यो इतिहासमा परिवर्तन हुदै जानेछ । र पूराना सबै विचारहरु हामीले गलत पनि भन्दैनौं । आफ्नो समयमा ति सही थिए, त्यसै गरे । त्योमध्य कयौं गलत पनि भएका छन् । हामीले अपनाएका विचारहरु कति गलत छन् । अरु साथीहरुले अपनाएका विचार कति गलत छन् । त्यो इतिहासले र व्यवहारले पहिचान गर्दै जानेछ ।
✍ तपाईंले हमेसा लामो समयसम्म सशस्त्र संघर्षको वकालत गर्नुभयो मुलुकमा । तपाईंका शिष्यहरुले कार्यन्वयनमा ल्याए । आजको दिनमा तपाईंले शिक्षा दिनुप¥यो भने नयाँ अध्याय जोड्नुहुन्छ कि पूरानोले पुग्छ ?
– सशस्त्र संघर्षको जुन सिद्धान्त हो, मार्क्सवाद लेनिनवादले के भन्छ भने अहिलेको व्यवस्थामा परिवर्तनका लागि र मुलुक परिवर्तनका लागि सशस्त्र संघर्ष अनिवार्य छ । त्यसका विधिहरु छन् । दुुध खानुस्, घ्यूू खानुस् अझ औषधिको प्रयोग गर्नुस् । समय परिस्थितिको ख्याल गर्नुपर्छ । तसर्थ सशस्त्र संघर्षको सिद्धान्त नै गलत भो भनेर हामीले भन्दैनौं । त्यो गल्ती कहाँ भयो भने मार्क्सवादी लेनिनवादी सिद्धान्तले संघर्षको प्रक्रिया, परिस्थिति निर्माण गरेको छ । त्यसलाई उहाँहरुले सही किसिमले प्रयोग गर्नुभएन । त्यसकारण त्यो संघर्ष गलत भो । त्यसैले हामीले उग्रवामपन्थी भन्यौं । कतिपय अवस्थामा आतंकवाद पनि ग्रहण ग¥यौं । त्यो गलत हो । सशस्त्र संघर्षको सिद्धान्त नै गलत भएको छैन । उहाँले जुन प्रयोग गर्नुभो त्यो मार्क्सवादी सिद्धान्त अनुरुप थिएन त्यसकारण त्यो गलत थियो ।
✍ तपाईंका शिष्यहरु उनीहरुले जीवनमा जे-जस्तो तरिकाले गतिविधिहरु गरे, जसरी उनीहरुको जीवनशैली कायकल्प भयो । जसरी जायज नजायज तरिकाले उनीहरुले आर्जन गरे । कि कयौं कम्युनिष्टहरु कुनै दिन ठगौंला भनेर निस्किएका थिए यात्रामा या बाटोमा हिँड्दाहिँड्दै मान्छे त्यस्तो भएको हो ?
– यो नेपालमा मात्रै होइन संसारमा पनि कयौं संख्याहरुमा कम्युनिष्टहरुको पतन भएको छ । विचलन भएका छन् । भ्रष्ट भएका छन् । यो संसार विश्वव्यापी रुपमा हो । त्यसको असर नेपालमा पनि पर्दछ । जस्तो कि भनौं एउटा मुुसलमान हुन्छ । एउटा बुद्धिस्ट हुन्छ, हिन्दु हुन्छ । कर्मचारी हुन्छ शिक्षक हुन्छ । यो सबैले के गर्नुपर्छ भन्ने नियम छन् । मान्छेहरु नियमबाट विचलन हुन्छ । कम्युनिष्टहरुले पनि ठिक त्यसै गरे । के गर्नुपर्छ ? केका लागि कम्युनिष्ट भाका हौं यो भन्नका लागि सिद्धान्त छन् । नियम छन् । तर, ठूलो संख्यामा कम्युनिष्टहरु त्यो सिद्धान्त, आचारण, नियमबाट विचलन भएको छ । संसारभरमा त्यस्ता प्रकारका विचलनहरु देखा परेका छन् । नेपालमा पनि त्यसको असर कम्युनिष्टहरुमा ठूलो संख्यामा कम्युनिष्ट जस्तो हुनुपर्छ त्यस्तो भएका छैनन् । जस्तो बुद्धिस्ट हुनेहरु बुद्धिस्ट नभएर त्यसबाट विचलन भएको छ । मुसलमानहरु, बौद्धहरु, सबैहरु त्यही प्रकारले कम्युनिष्टहरु ठूलो संख्यामा पतन भएको छ । भ्रष्ट भएका छन् । त्यो कुरा नेपालमा पनि भएको छ । जो कम्युुनिष्टको सिद्धान्तबाट विचलन भएका छन् तिनीहरु कम्युनिष्ट होइनन् । तिनीहरुलाई हामीले कम्युनिष्ट भन्न सक्दैनौं । त्यो कम्युनिष्टका नाममा उनीहरुले भ्रम दिएका छन् ।
✍ तपाईं दार्शनिक पनि हुनुहुन्छ । आजको दिन कम्युनिष्ट कम्युनिष्ट जस्तो पनि छैन । डेमोक्रेट डेमोक्रेट जस्तो छैन । राजावादी राजावादी जस्तो छैन । सबै नक्कली जस्तो छ । नक्कली राजावादी, नक्कली कम्युनिष्ट, नक्कली कांग्रेस भएको हो कि ? अहिलेको समाज नै अन्तरघुलनको मिसमासको सप्तरंगी भएको हुनाले कम्युनिष्टमा लाग्नु स्वाभविक हो । कि कम्युनिष्टहरुले आफ्नो एउटा विशिष्टकृत किसिमको चरित्र निर्माण गर्नुपर्छ ? एउटा कम्युनिष्ट बेग्लै हुन सक्छ कि सक्दैन भन्ने कुरा हो ?
– यो संसारमा लाखौं कम्युनिष्टहरु छन् । जो कम्युनिष्ट जस्ता छन्, उनीहरुले त्याग गरेका छन् । बलिदान गरेका छन् । देश, जनताको हीतका लागि काम गरेका छन् । बुर्जुवा नै भन्नुस् नेपाली कांग्रेस नै भन्नुस अरु कुनै पार्टी भन्नुस् संसार र नेपालमा पनि धेरै बुर्जुवा नेताहरु छन्, कलाकार, साहित्यकारहरु छन् । जसले सिद्धान्तमा लेखिए अनुसार आफ्नो जिम्मेवारी पूरा गरेका छन् । राजाको कुरा भन्नुहोस् हामीसँग पृथ्वीनारायण जस्ता राजा पनि इतिहासमा पाइन्छ । जसले नेपालमा छरिएको राज्यहरुलाई मिलाएर एकीकृत गरे । त्यस्ता राजा विश्वर पाइन्छन् । जो देशभक्त छन् । नेपालका राजाहरुलाई हेर्नुभयो भने धेरै भ्रष्ट भएका, व्यक्तिगत स्वार्थमा लाग्ने, तस्करी गर्ने, गलत प्रकृतिका नीतिहरु अपनाउने, स्वार्थका लागि गलत नीतिहरु अपनाउने राजाहरु पनि नेपालमा देखा परेका छन् । संसारभर देखापरेका छन् । त्यसकारण कम्युनिष्टहरु कुरा गर्दाखेरि संसारमा ठूलो संख्या कम्युनिष्टहरु छन् । र आफ्ना सिद्धान्त र नीति अनुसार आफ्ना क्रान्तिका लागि त्याग, बलिदान गरेका छन् । र त्यसका लागि जीवन सर्मपण गरेका छन् । यो दुवै प्रवृत्तिहरु सबै क्षेत्रमा देख्न पाइन्छ । कर्मचारीहरुमा पाउनुहुन्छ ।
✍ भगवान् त तपाई सायद मान्नुहुन्न क्यारे ! तर, प्रकृति त मान्नुहुन्छ । तपाईंले आफ्नो जीवनलाई पछाडि फर्केर हेर्दाखेरि कुनै पछुतो महसूस हुन्छ ? कि तपाईंका चेलाहरु कहाँ पुगिसके, संसारिक भाषामा उनीहरुले कत्रो–कत्रो प्रगति गरिसके । तपाईंलाई पछुतो छ आफ्नो जीवनमा ?
– जीवनमा कयौं गल्तीहरु मैले पनि गरेको छु । त्यसको मुल्यांकन गर्नुपऱ्यो भने बेग्लै पाटो छ । र मुख्य जुन कुरा मलाई अवसर छ, प्रसंग छ, गौरव छ । त्यो कि आफ्नो सिद्धान्तहरु र त्यसका लागि मैले लगातार अघि बढिरहेको छु । त्यसैले मलाई पश्चाताप छैन । अहिले पनि म आफ्नो सिद्धान्त, उदेश्यका लागि लगातार अगाडि बढिरहेको छु । तर, मैले बारम्बार भनिरहें मैले धेरै साथीहरु हुनुहुन्छ जो पार्टीको सिद्धान्त अपनाएर विचलित हुनुभएको छ । त्यसै गरेर बुर्जुवा पार्टीहरु, प्रजातान्त्रि पार्टीहरु लगायत नेपालका पार्टीहरुले जुन सिद्धान्त अपनाए त्यसबाट विचलित भ्रष्ट भएका थुप्रै छन् । कर्मचारी एउटा इमानदार कम्युनिष्ट कस्तो हुनुपर्छ हामीले देखेका छौं । तर, भ्रष्टचार गरेका कम्युनिष्ट कर्मचारीहरु धेरै छन् । यस्तै हामीले प्रहरी, सेना, साहित्यकार, कलाकारमा देख्छौं । जसले आफ्नो जुन सिद्धान्त, आस्था हो त्यसबाट विचलित भएका थुप्रै उदाहरण छन् । त्यसकारण त्यो चीज गलत हो । मैले आफ्नो जलजला उपन्यासमा पनि त्यही प्रकारको दृष्टिकोण, दर्शन दिने प्रयत्न गरेको छु । विश्वका लागि र स्वयम हाम्रो नेपालका लागि र कम्युनिष्टका लागि केही आर्दश मैले पेश गर्ने प्रयत्न गरेको छु ।
✍ लेखकको रुपमा तपाईंले जीवन, जगत र राजनीतिलाई हेर्नुभो । कृतिको नाम छ ‘कमरेड जलजला’ मान्छेहरुले भन्छन् कि त्यो तपाईंले आफ्नो प्रेमिकाको नाममा लेख्नुभएको हो । त्यो साँचो कुरा हो ?
– यो प्रयास हो । मूल उपाय त्यसको पक्ष हो । जीवनप्रतिको दृष्टिकोण, दर्शन, पूरा समाजको विषयमा त्यसलाई प्रस्तुत गर्न मेरो प्रयत्न हो । त्यसमा त्यो जीवन पूरै काल्पनिक छैन । यद्यपि कल्पनाको पनि त्यसमा मद्धत लिएको छु । जीवनका कयौं वास्तविक घटनाहरु पनि छन् मेरा । समाजका, हाम्रा साथीहरुका कयौं वास्तविक घटनाहरुलाई पनि मैले दिने प्रयत्न गरेको छु । त्यसैले वास्तविकता, सत्य र कल्पनाको एउटा मिश्रण हो । त्यो सबैको निष्कर्ष हो ।
✍ तपाईंले लेखकको रुपमा जीवन, जगतलाई राजनीतिज्ञको रुपमा जसरी हेर्नुहुन्छ केही सपाट छ कि भिन्नता छ ? तपाईंका लागि लेखन राजनीतिको विस्तार हो कि होइन ?
– जलजला उपन्यासको पहिलो प्राक्थनमै एउटा वाक्य छ, ‘यो विश्व र व्यक्ति बीचको जुन सम्बन्ध हो त्यो अन्तरसम्बन्ध हुन्छ । घनिष्ठ हुन्छ ।’ मेरो जीवनबारे पनि सत्य हो । साहित्य र राजनीतिको बारेमा सम्बन्ध दुवै जीवनका अंग हुन् । त्यसकारण ति सबै एक अर्काबाट अलग हुदैन । जो मेरो राजनीतिक जीवन रहेको छ करिब ७० वर्षको राजनीतिक जीवन त्योसँग साहित्य पनि जोडिएको छ । राजनीति पनि जोडिएको छ । यि दुवै एउटै कुराको बेग्लाबेग्लै पक्ष हुन् । तर, उनीहरुको आपसमा अन्तरघुलन छ । आपसमा घनिष्ठ सम्बन्ध छ । जुन उदेश्यले मैले आफ्नो राजनीतिक जीवनमा प्रयत्न गरेको छु ठीक त्यै साहित्यद्वारा पनि गरेको छु । अहिले मेरो उपन्यास ‘कमरेड जलजला’ यो भन्दा पहिले पाँच वटा उपन्यास लेखेको थिएं । ती सबै हराए । प्रकाशित हुन सकेनन् । राजनीतिक क्षेत्रमा थुप्रै किताब, लेखहरु लेखेको छु । त्यसका रुपहरु बेग्लै ठाउँमा बेग्लै होलान् । तर, मूलरुपमा हेर्ने हो भने साहित्य र राजनीति जीवनका, समाजका, विश्वका आपसमा सम्बन्धित अंगहरु हुन् । एकअर्कासँग जोडिएका छन् । बेग्लै गराएर हेर्न मिल्दैन । बेग्लै पनि छन्, एउटै पनि हुन् । हामी प्रत्येक व्यक्ति अलग्गै छौं ।
(पोखराको बाराहीघाटमा जारी १२औं संस्करणको एनसेल फाउण्डेसन नेपाल लिटरेचर फेस्टिभलमा ‘राजनीति र साहित्यको आयाम’ सेसनमा पत्रकार वियजकुमारले मोनविक्रमसँग गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया