लन्डन / यही अप्रिल २५ शनिबारका दिन नेपालमा गएको विनाशकारी महाभूकम्पले सम्पूर्ण राष्ट्रलाई नै क्षत बिक्षत पारेकोछ । मर्नेहरुको संख्या सात हजारको सेरोफेरोमा पुगेकोछ भने घाइते हुनेहरुको संख्या दोब्बरभन्दा बढी छ जुन क्रम निरन्तर बढ्दैछ । यस किसिमको विषम परिस्थितिमा बिभिन्न मुलुकहरुबाट सहयोगको गर्नेको थुप्रै लर्को लागेको भए तापनि राहत सामांग्रीहरु लत्ताकपडा जस्ता बस्तुमात्र बढी प्राप्त भइरहेको तर आर्थिक सहयोग भने प्राप्त भइनसकेको नेपाल सरकारले उल्लेख गरेकोछ । भूकम्प पीडितको सहयोगार्थ प्रबासमा बस्ने नेपालीहरुबाट पनि प्रशस्त राहत संकलन भइरहेकोछ । स्कुल पढ्ने स-साना बच्चाहरुदेखी लिएर विभिन्न ठाउँमा काम गर्ने नेपालीहरुले पनि च्यारिटी रकम संकलनमा महत्वपूर्ण भूमिका निभाएकाछन् ।
देशको अवस्थालाई मध्यनजर गर्दै लन्डनस्थित नेपाली दूतावासले भूकम्प गएको भोलिपल्टै आकस्मिक भेलाको आयोजना गरेको थियो । कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीको सयोजकत्वमा बसेको उक्त भेलामा विभिन्न प्रतिष्ठित ब्यक्तिहरुलगायत लगभग दुर्इ सय व्यक्तिको उपस्थिति रहेको थियो । उक्त भेलाले कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीको सयोजकत्वमा “नेपाल-ब्रिटेन उद्दार तथा राहत कोष ” को स्थापना गरी एक मूल समिति समेत खाडा गरेको थियो । रि.मेजर डमर घलेको नेतृत्वमा दूताबासमा एउटा हेल्प डेक्सको स्थापना भयो जसलाई स्वयम् सेवकहरुद्वारा संचालन गर्ने तय गरिएको थियो । सोहीअनुरुप २७ अप्रिलबाट “नेपाल-ब्रिटेन उदार तथा राहत कोष ” ले दूताबासभित्रै आफ्नो कार्य शुरु गर्दै आएकोछ । भूकम्प पीडितको सहयोगार्थ संकलन गरिने राहत सामग्रीलाई सर्वसुलभ तरिकाले ब्यबस्थित गरी पीडितसमक्ष पुर्याउने पहलको लागि उक्त कोषले महत्वपूर्ण भूमिका खेल्दै आएकोछ ।
बिहान ९ बजेबाट राति १० बजेसम्म खोलिँदै आएको यस राहत कोषलाई विभिन्न ब्यक्तिहरुले स्वयम् सेवकको रुपमा सहयोग पुर्याउदै आयेकाछन् भने बिशेष गरी कृष्ण प्रसाद शर्मा, बिष्णु प्रसाद न्यौपाने, दीप गिरी, बिमल अधिकारी, भुवानी न्यौपाने, प्रेम सापकोटा र नारायण भट्टराईले मुख्य जिम्मेवारी बहन गर्दै आइरहेकछन् । खासगरी बिहान र दिउँसोको समयमा बढी सोधपुछ हुने र साँझको समयमा केहि कम हुने उनीहरुले अनुभव रहेकोछ । पहिलो ३ दिनभित्र नै लगभग सात सयभन्दा बढी टेलिफोन कलहरु आएको जसमध्य तीन सय पचास फाइलहरुलाई अभिलेखमा राखेर कार्यान्वयनको प्रक्रियामा अघि बढिरहेकोछ । बिशेषगरी नेपाली समुदायबाट लताकपडा पठाउनेको ओइरो लागेकोछ भने आर्थिक सहयोगको लागि पनि केही नेपालीलगायत विदेशीहरुबाट पनि प्रतिबद्दता ब्यक्त भइरहेकाछन् । तर दूतावासमार्फत रकम पठाउने भनेर गरिएका कतिपय बाचाहरु भने पूरा भएको देखिंदैन ।
खासगरी नेपाली समुदायहरुबाट पुराना कपडाहरु पठाउने तयारी भएको हुँदा त्यस्ता पुराना कपडा लान समस्या पर्ने प्रयोगमा पनि नआउने हुँदा अबदेखि अत्याबश्यक पर्ने सामाग्रीहरु जस्तै टेन्ट, स्लीपिंङ ब्याग, म्याट, ब्ल्यांङकेट, बच्चा बच्चीको लागि खाना,पानी सुद्द गर्ने सामांग्री, औषधि तथा औषधि उपकरण, सुख्खा खाध्य सामांग्री तथा सौर्य उर्जाबाट चल्ने बत्तीजस्ता समांग्रीहरुलार्इ प्राथमिकतामा राखिएको हुँदा सोही प्रकारका सामांग्रीहरु मात्र पठाउनको लागि सबैसंग आग्रह गरेकोछ । त्यस्तैगरी थुप्रै बिदेशी संघसंस्थाहरुले नेपाल गएर सहयोग गर्न चाहेको र भवन निर्माण कार्यमा समेत सहयोग पुर्याउने बचन दिए तापनि यस सम्बन्धमा नेपाल सरकारको तर्फबाट निश्चित प्रक्रिया पूरा गर्नु पर्ने हुँदा विचाराधीन अवस्थामा रहेकाछनन् । भूकम्पमा परी ज्यान गुमाउनेहरुको पीडामा परेका ब्यक्ति तथा पारिवारहरुलाई सान्त्वना दिनको लागि आवश्यक सरसल्लाह र सुझाव दिएर उनीहरुलाई पीडाबाट मुक्त गराउनको लागि पनि नेपाल जानको लागि केही संस्थाहरु उत्सुक रहेकाछन् । तर अहिलेको परिस्थितिमा स्वयम् सेवकको रुपमा काम गर्न जान्छु भन्नेहरुलाई पनि नेपाल सरकारले तुरुन्तै स्वागत गरिहाल्ने अवस्था भने छैन ।
बेलायतमा सैयौको संख्यामा नेपाली संस्थाहरु रहे तापनि राहत संकलनमा सोचेअनुरूप भने सक्रियता देखिएकोछैन । कतिपयको बुझाइमा नेपाल-ब्रिटेन उद्दार तथा राहत कोषलाई मालसामान पठाउने माध्यमको रुपमा हेर्ने गरेको र यहाँबाट समान पठाएर नेपालबाट आफैले संकलन गर्ने जस्ता प्रशस्त अनुरोध पनि आउने गरेका छन् । अहिलेसम्म थुप्रै राहत सामांग्रीहरु जम्मा भइसकेको र नेपाल सरकार समक्ष्य पुर्याउनको लागि विभिन्न एअरलाइन्सहरुसंग सहकार्य भइरहेकोछ भने गोर्खा च्यानलको तर्फबाट राजेन्द्र भट्ट पनि राहत सामांग्री पठाउनको लागि जोडतोडका साथ् लागिपरेकाछन् । यही मे ८.९. र १० मा केही राहत सामांग्रीहरु नेपाल पठाउने पूर्ण तयारी भइसकेकोछ भने चाडै ब्यबस्था मिलाएर सबै राहत सामांग्रीहरु पठाउने तयारी भइरहेकोछ । आवश्यकतालाई मध्यनजर गर्दै तत्काल प्रयोगमा आउने सामांग्रीहरुलार्इ प्राथमिकतामा राखेर पठाउने सोच नेपाल-ब्रिटेन उद्दार तथा राहत कोषको रहेकोछ ।
प्रतिक्रिया