कामविशेषले बेलायतमा रहेको बेला टीभी हेर्दै थिएँ, कुकुरसम्बन्धी एउटा समाचारमा ध्यान खिचियो । त्यहाँ झन्डै ३० लाखभन्दा बढी कुकुर रहेछन् र तिनको पालनपोषण राम्रो नभए वा तिनीहरूलाई कसैले यातना दिए मान्छेलाई पनि दण्ड–जरिवाना हुँदोरहेछ । कुकुरलाई शारीरिक तथा मानसिक यातना दिनुलाई पनि त्यहाँ दण्डनीय अपराध मानिँदोरहेछ । बेलायतबाट म अमेरिका पुगेँ । त्यहाँ पनि एउटा कुकुरसम्बन्धी समाचार प्रसारित भएको पाएँ । आफ्नो कुकुरमाथि अभद्र व्यवहार गर्ने मालिकमाथि दण्ड तोकिएको रहेछ । कसै–कसैले ६४ हजार डलरसम्म पनि कुकुरकै कारणले दण्ड तिर्नुपरेको समाचार पनि सुनेँ । दुःखमा रहेका, घरबाट निकालिएका कुकुर–बिरालाहरूको अनुहार टेलिभिजनमा देखाई त्यसलाई ‘गोँद’ लिन आह्वान गरिँदोरहेछ । यस्तै भुस्याहाजस्तो देखिने एक कुकुरलाई कसैले घरबाट निकालिदिएको रहेछ । यसरी परित्याग गरिएका कुकुर–बिराला र पक्षीहरूलााई आश्रय दिने संस्थाले तिनको संरक्षणका साथ तिनलाई अपनाउन चाहनेहरूलाई टीभीबाट सूचना पनि दिँदोरहेछ । त्यस्तै एक कार्यक्रम टीभीबाट देखाइयो जहाँ हाम्रो बोलीचालीमा भुस्याहाजस्तो देखिने कुकुरलाई गोँद लिन कोठाभरि मानिस आएका रहेछन् । गोला हाल्दा एक व्यक्तिले त्यो कुकुर प्राप्त गरे । कुकुर प्राप्त गर्ने व्यक्तिको अन्तर्वार्ता लिइयो । उनले प्राप्त गरेको त्यो कुकुरलाई सुमसुम्याउँदै भने, ‘आज म ज्यादै खुसी छु, किनकि मैले यस (नाम लिँदै)लाई आफ्नो घरमा लैजान पाएँ । म अब यसको जीवनलाई सुखी बनाउन चाहन्छु ।’ त्यसैगरी कुकुर प्राप्त गर्न नसक्ने केही अन्यसँग पनि अन्तर्वार्ता लिइयो । उनीहरूले आफूहरू वास्तवमै ती कुकुर हासिल गर्न उद्यत् रहेको तर त्यस्तो अवसर नजुरेको भन्दै दुःख व्यक्त गरे । त्यहाँका जनावरलाई सहयोग गर्न संस्थाहरूले दिनमा ५० पैसा यस्ता जनावरहरूको सहयोगका लागि छुट्टयाइदिन अनुरोध गर्दारहेछन् । ती मुलुकमा कुकुर–बिरालो तथा अन्य जनावरप्रति मान्छेले देखाएको सहयोगका भावनाले वास्तवमै मेरो मन छोयो ।
केहीअघि मैले करिब तीस वर्षकी एक माग्ने महिलाबारे यही पत्रिकामा लेखेको थिएँ । हृदयरोग अस्पतालभन्दा केही माथि हिन्दू धर्मरक्षामा समर्पित कार्यालयको ठीक अघिल्तिर अवस्थित बसबिसौनीको खुला टहरामा रोगसँग जुध्दै उनी जाडोयाममा बाँच्ने प्रयास गरिरहेकी थिइन् । उनी आफैं हिँड्न पनि सक्दिनथिन् । अर्का एक पुरुषले उनलाई मागेरै खुवाउँथे । एक दिन पैदल हिँड्दा मैले उनको जीवन बुझ्ने मौका पाएँ । सक्दो सहयोग गरेँ र त्यो जाडोयामभरि उनलाई बचाउने प्रयास पनि गरेँ । आफूले प्रयास गर्नुको साथै तिनको अवस्थाप्रति संवेदनशील हुँदै सहयोग गर्न सरकार र समाजसेवीहरूलाई सार्वजनिक रूपमै अनुरोध पनि गरेँ । वास्तवमै ती महिला बाँच्न चाहन्थिन् तर उनको अगाडिबाट दैनिक हिँड्ने र पत्रिकामार्फत उनको हालत बुझ्ने कसैबाट उनले सहयोग पाइनन् । मलाई लागिरहेको थियो– जाडोयाममा तिनलाई बचाउन पाए गर्मीमा त उनी बाँच्नेछिन् । खुल्ला छतमुनि उनी निकै सुन्निइसकेकी थिइन् । एक दिन भोलेन्टर गर्न भनी कलेजका थुप्रै छात्रछात्रा नार्कोनन् नेपालमा आए । उनीहरूलाई निश्चित दिनसम्म समाजसेवा गरेको सर्टिफिकेट चाहिने रहेछ । मैले उनीहरूलाई ती महिलाई कुनै आश्रममा राख्न मद्दत गरेमा आफूले उनीहरूलाई सर्टिफिकेट दिने प्रस्ताव राखेँ । मेरो यो प्रस्तावपछि ती छात्रछात्रा हराए । सायद अर्कै ठाउँमा कामै नगरी प्रमाणपत्र प्राप्त गर्न गए होलान् । पछि कामविशेषले म विदेश गएँ, फर्कंदा ती महिला त्यहाँ थिइनन् । उनलाई सहयोग गर्ने पुरुष माग्नेले रुँदै भने, ‘उनी मलाई छोडेर गइन् ।’
आज जब म अमेरिका–बेलायतका ती कुकुर र यहाँका ती बेसहारा भएर मर्न बाध्य एक नेपाली नागरिकको जीवन दाँजेर हेर्छु अनि यो कुरामा मलाई निक्र्योल निकाल्न गाह्रो हुन्छ कि के ती मर्ने नेपाली महिला नेपालको नागरिक भएर जन्मनुभन्दा बेलायतमा कुकुर भएर जन्मेको भए उनले बढी बाँच्ने सौभाग्य पाउँथिन् होला ?
वास्तवमै यो प्रश्नको उत्तर दिन गाह्रो छ । एउटा देश छ जहाँ कुकुरको सुरक्षा र सुख–सुविधाका लागि सिङ्गो सरकार मान्छेलाई दण्डित गर्न तयार छ, एउटा देश छ जहाँ सङ्कटमा परेको कुकुर–बिरालोलाई सहयोग गर्न घर लिएर जान नपाएकोमा दुःख मनाउ गर्ने नागरिकहरू छन् । यसरी सीएनएन र बीबीसीजस्ता ठूला समाचार एजेन्सीहरूले कुकुर–बिरालाको रक्षाका लागि मान्छेजत्तिकै महत्व दिएर समाचार प्रसारित–प्रकाशित गर्ने देश पनि छन् र अर्को नेपालजस्तो देश पनि छ जहाँ कुकुररक्षाको त कुरै नगरौँ बाटोको किनारमा खुला आकाशमुनि बसेर सार्वजनिक रूपले बाँच्ने इच्छा गर्दागर्दै पनि कसैको सहयोग नपाई तीस वर्षभित्रै नागरिक मृत्युवरण गर्न बाध्य हुन्छ । यो स्थिति देख्दा म आफैंलाई प्रश्न गर्न थाल्छु, ‘आखिर हाम्रो देश र हामी अझै कुन युगमा बाँचिरहेका छौँ ?’
हालै बेलायत तथा अमेरिकामा ड्रग्सको रोकथामसम्बन्धी कार्यक्रममा सहभागी भएर म नेपाल फर्किएँ । बेलायतमा हँुदा नेपाली समुदायलाई ड्रग्सबाट जोगाउन केन्ट र वेल्सको साथै ब्रिटिस गोर्खा क्याम्पमा पनि कक्षा लिएँ । नेपाल फर्कंदा यहाँ मन्त्रिमण्डल फेरिएको खबर पाएँ । कोही पुनः बहाली भएछन् भने कोही उपप्रधानमन्त्री पनि भएछन् । यस परिवर्तनले मभित्र खास कुनै असर गरेन, किनकि तिनले विगतमा गरेका काम या समाजलाई दिएको योगदान, देशको एकताका लागि गरेका प्रयास, नागरिकको जीवनरक्षाका लागि चालेको कदम र नेपालीको जीवन माथि उठाउन तिनले गरेका त्याग केही नभएको पहिल्यै देखी–भोगिसकिएकै यथार्थ थियो । नेपाली राजनीतिमा तिनै अनुहार या पात्र घुमिरहेका छन् र देशलाई झन्–झन् तल जाकिरहेका छन् । तिनीहरू नै हुन् जो यो देश ढुङ्गेयुगतर्फ धकेलिनुमा प्रमुख जिम्मेवार थिए र छन् । त्यसैले यहाँ नेपालीलाई सरकार या त्यसका सदस्यको अनुहार परिवर्तन होइन नेपाली समाजलाई समुन्नत, स्वस्थ, सुरक्षित बनाउने व्यक्तिको खाँचो छ । सरकारमा त्यस्ता व्यक्ति पुगुन् जसले सङ्कट र बिचल्लीमा परेका नेपाली नागरिकबारे हृदयदेखि नै सोचोस्, काम गरोस् । यहाँ भएका अधिकांश नेता भनाउँदाहरू केवल आफ्नो उचाइ बढाउन, आफू राजनीतिको माध्यमबाट सम्पन्न हुन मात्र मन्त्री वा प्रधानमन्त्री बन्न खोजिरहेका देखिन्छन् । कुकुर–जनावरको त कुरै नगरौँ वास्तवमा अब उनीहरूलाई नेपाली जनता नै नचाहिने भइसकेको छ । किनकि, उनीहरू संसद्को अवधि सकिए पनि वा चुनाव नै हारे पनि प्रधानमन्त्री वा उपप्रधानमन्त्री बन्न सक्छन् । जब जनताको मतबाट हारेका, जनताले नपत्याएका नै उपप्रधानमन्त्री, प्रधानमन्त्री बन्न सक्ने भएपछि तिनले नागरिकको समस्यामा ध्यान दिन आवश्यक नै परेन र त्यस्तालाई कुकुर–बिरालोजस्ता प्राणीको रक्षा गर्नुपर्छ भन्ने बोध हुने सवालै रहेन ।
आज हरेक दिन हजारौँ युवा या नेपाली नागरिक विदेशिने क्रम बढिरहेकै छ । कहिलेकाहीँ नेपाली जनशक्ति बाहिर गएकोमा पीडा हुन्छ । कतारको दोहास्थित विमानस्थलमा हेरे शौचालय सफा गर्नेदेखि सुरक्षा जाँच गर्नेसम्म, होटेलमा मेनेजरदेखि एयरलाइन्स काउन्टरमा बस्नेसम्म नेपाली नै देखिन्छन् । ती नेपालीले नै विशाल दोहा विमानस्थल सञ्चालन गरेझैँ महसुस हुन्छ । तिनका कारणले कतार सरकारले ठूलो धनराशि कमाइरहेको छ । तर दुर्भाग्य उ ती तिनै नेपाली नागरिक थिए जो हातमुख जोर्न आवश्यक पर्ने न्यूनतम रकमको रोजगार र पेसा नपाएकै कारण मातृभूमि छोड्न बाध्य भएका थिए । तिनका बाध्यतामा पीडा कसलाई हुनुपर्ने ?
अमेरिकाको डल्लासस्थित एक एपार्टमेन्टमा चस्मा बेच्ने पसलमा केही नेपाली महिला नेपालीमै कुरा गर्दै थिए । उनीहरूले हामी पनि नेपाली भएको थाहा पाएर पनि हामीसँग अङ्ग्रेजीमै कुरा गरे, त्यो पनि ‘पसले’ बनेर । विदेशमा भए पनि क्रमशः उनीहरू नेपाल र नेपालीप्रति चासो नराख्ने हुँदै गएको देखिन्छ ? यो कुरामा चासो र चिन्ता कसलाई हुनुपर्ने ? बैंककको एक डिपार्टमेन्ट स्टोरमा आफूलाई नेपाली भन्ने एक युवाले हामीलाई नमस्कार गर्दै शिष्टतापूर्वक आफ्नो पसलमा लगे र विदेशमा रहेका नेपालीप्रतिको हाम्रो संवेदनशीलताको फाइदा उठाउँदै ज्यादा मोलमा हामीलाई सामान बेचाए । उनी नेपालीप्रति भन्दा त्यहाँको पसले मालिकप्रति नै बढी बफादार हुँदै गएका रहेछन् जसले उनको घर चलाइदिएको छ । उनको काम नै नेपाली या हिन्दी बोलेर ‘म नेपालको हुँ वा भारतको हुँ’ भनी ग्राहक फसाउने मात्र रहेछ । अमेरिका वा बेलायतमा थुप्रै नेपाली देखेँ जो नेपाल र नेपालीको गिर्दो अवस्थाका लागि चित्त दुखाउँछन् तर त्यहाँ स्थायी रूपमा बस्न नपाइएला कि भन्ने कुरामा भने अत्यन्त संवेदनशील हुन्छन् । अर्थात्, देश फर्कन उनीहरू डराउँँछन्, कता–कता असुरक्षित महसुस गर्छन् । लगभग ३५ वर्षमाथिका मानिस मात्र देश फर्कन इच्छा राख्दछन् तर नयाँपुस्ताले बिस्तारै–बिस्तारै नेपाल बिर्संदै छन् । यसरी आफू जन्मेको देशप्रति नै नेपालीको माया–ममता र आस्था जुनप्रकारले आस्था घट्दै गएको छ त्यो आस्था फेरि जगाइदिने कसले ? मन्त्रिमण्डलमा नयाँ भर्ती पाएका यिनै अनुहारले ? अहँ उ यो त एउटा जोक मात्र नै सावित होला ।
वास्तवमै जुन प्रकारले नेपाल झन्झन् अस्थिर र असुरक्षाका साथै आर्थिक र सामाजिक एकताका हिसाबले समेत जर्जर अवस्थामा दिन–प्रतिदिन झर्दै छ, त्यसलाई रोक्न र फेरि यो मुलुकलाई समुन्नत राष्ट्रहरूसँगै लैजान अहिलेका राजनीतिज्ञहरूको क्षमतामा प्रश्न उठाउन ढिला भइसकेको छ । अन्यथा यहाँका मानिस बेलायत र अमेरिकाका कुकुर–बिरालाजति पनि सुरक्षित र सम्पन्न रहने छैनन् । यहाँ कोही नेता गृह मन्त्रालयकै लागि बार्गेनिङ गर्छन् त कोही उपप्रधानमन्त्री पदका लागि देशघात गर्नसमेत हिच्किचाउँदैनन् । यस्ता नेता को छन् जो नेपालीका पीडा, दुःख, रोग, बेरोजगारी र गुनासो बुझ्न तथा मल्हमपट्टी गर्न तत्परता देखाउँछन् ? यही परिवेशमा त यस्ता कोही देखिइरहेका छैनन्, यही नै हामी नेपालीका लागि विडम्बना बनेको छ ।
प्रतिक्रिया