लण्डन ः दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनले ४ मई २०१४को दिन बुद्ध पूर्णिमा अर्थात बुद्ध जयन्तीको उपलक्ष्यमा वुलविच, लण्डन स्थित लोटाज क्लबदेखि रगलान रोड, ब्रिअरी रोड, ग्रिफिन हुँदै, प्लमस्टिड तथा लोटाज क्लबसम्म झण्डै चार किलोमिटरको विश्व शान्ती पदयात्रा गरेर बुद्ध जयन्ती सम्पन्न गरेको छ । समाजका सल्लाहकार सुमलकुमार गुरुङको संयोजनमा सम्पन्न यस कार्यक्रमले यूकेमा एउटा ऐतिहासिक थालनी गरेको छ । नेपालीहरुको बाकलो बसोबास रहेको यस क्षेत्रमा पहिलो पटक बुद्ध जयन्तीको अवसरमा “बुद्ध भगवान नेपालमा जन्मेका थिए” भन्ने नाराका साथ विश्व शान्ती रैली सम्पन्न गरेको छ । समाजका अध्यक्ष श्रीचन्द्र गुरुङको अगुवाई र सल्लाहकार सुमलकुमार गुरुङको संयोजनमा सम्पन्न यस बृहत रैलीमा लण्डनका दक्षिणपूूर्व क्षेत्रमा सक्रिय विभिन्न संघसंस्थाहरुको सहभागिता रहेको थियो । यस विश्व शान्ती रैलीमा तमुधिं यूकेका अध्यक्ष रामचन्द्र गुरुङको विशेष सहभागिता रहेको थियो । ग्रिनविच बारोका मेट पुलिस सर्जेण्ट बेनको नेतृत्वमा आएका ७ जना प्रहरी टोली तथा ईमर्जेन्सी भेहिकल, लण्डन ट्रान्सपोर्टका रेज्क्यु भेहिकल तथा स्टाफहरु, समाजबाट तोकिएका तथा समुह समुहमा नियुक्त गरेका नियन्त्रक तथा स्टिअर्डहरुको विशेष भूमिका रहेको यस विश्व शान्ति रैलीमा भगवान बुद्धका प्रार्थना तथा बुद्धवाणी अंकित प्लेकार्डहरु, ब्यानरहरु, झण्डाहरुको रंगीचंगी माहौलमा सम्पन्न रैलीको विशेषता अनुपम रहेको सहभागीहरुले बताएका छन् । विश्व शान्ती पदयात्रा शुरु हुनु अघि महासचिव सुमन गुरुङको सम्बोधनमा नेपालमा महाभूकम्पबाट दिवंगत भएका हजारौ व्यक्तिहरुको आत्मा शान्तीका लागि लामा गुरुहरुको प्रार्थना सहित २ मिनटको मौन धारणा गरेर श्रद्धान्जली अर्पण गरेको थियो । त्यसपछि संयोजक सुमलकुमार गुरुङले विश्व शान्ती पदयात्राका लागि पालन गर्र्नुपर्ने शान्ती सुरक्षाको बारेमा प्रकाश पारेका थिए । भव्य, शान्त रैलीले नेपालका गौरव बढाई रहेको थियो भने नेपालमा घटेको महाभूकम्पका कारण जुन विनासकारी जनधन क्षती भएको थियो त्यो एकातिर दुःखीरहेको थियो । शान्ती पदयात्रा पछि अध्यक्ष श्रीचन्द्र गुरुङले धन्यवाद ज्ञापन गरेका थिए । आचार्य गुरु, दावा नोर्बु लामा, दावा लामा, गोपाल लामा, धरम लामा तथा विनोद लामा द्वारा तीनघण्टासम्म पूजापाठ तथा प्रवचन पश्चात संक्षिप्त औपचारिका कार्यक्रमा सम्पन्न भएको थियो । यस कार्यक्रमलाई महासचिव सुमन गुरुङले सञ्चालन गरेका थिए । उपाध्यक्ष हिराप्रसाद गुरुङको स्वागत मन्तव्य, संयोजक सुमलकुमार गुरुङको बुद्धधर्मबारे छोटो प्रकाश तथा अध्यक्ष श्रीचन्द्र गुरुङको धन्यवाद ज्ञापन पश्चात औपचारिक कार्यक्रम पनि समापन भएको थियो । पूजाको दौरान समाजका सल्लाहकार योगेश गुरुङ तथा सुर्य गुरुङ, कोष सङ्कलनमा ह्यारी गुरुङ तथा जुन गुरुङ आदिले सहयोग गरेका थिए । यस कार्यक्रमा आमा समुहको अहम् भूमिका रहेको थियो । पूजाको अन्तमा लामा गुरुहरु द्वारा अभिषेक दिएका थिए ।




प्रतिक्रिया