नेपालले सिङ्गापुर विरूद्ध ३६ वर्षपछि विजयी बनेको छ । सिङ्गापुर नेसनल स्टेडियममा शुक्रबार (८ चैत) सम्पन्न मैत्रीपूर्ण खेलमा जेलेस्पीजङ्घ कार्कीको निर्णायक गोलसँगै नेपालले सिङ्गापुरमाथि १–० को जित निकालेको हो ।
नेपालको जितमा जेलेस्पीले खेलको पहिलो हाफमा गरेको गोल नै निर्णायक गोल बन्यो । उनले १२औँ मिनेटमा मनिष डाँगीको क्रसमा गोल गरेका हुन् । सिङ्गापुरविरूद्ध नेपालले गरेको यो नै पहिलो गोल हो ।
पछिल्लो पटक नेपाल र सिङ्गापुर सन् १९८९ मा आमुन्नेसामुन्ने भएका थिए । सन् १९८९ मा फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र सिङ्गापुरबीच दुई खेल भएको थियो । जसमा पहिलो खेलमा नेपाल ७–० र दोस्रो खेलमा ३–० ले पराजित भएको थियो ।
नेपालले पहिलो पटक १९८२ को किङ्ग्स कपमा सिङ्गापुरसँग पहिलो पटक खेलेको थियो । त्यतिबेला नेपाल २–० ले पराजित भयो। त्यसपछि सन् १९८६ मा दशरथ रंगशालामा आयोजित पञ्चायत सिल्भर जुबिली कपमा नेपालले सिङ्गापुलाई गोलरहित बराबरीमा रोकेको थियो ।
योसँगै एएफसी एसियन कप छनोट २०२७ खेल्न नेपाल मलेसिया प्रस्थान गर्नेछ । मार्च २५ मा नेपालले घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया