केही वर्षयता रङ्गमञ्च हुँदै रङ्गीन पर्दा अर्थात् चलचित्रमा अभिनय गर्ने कलाकारको सङ्ख्या बढ्दो छ । अहिले नेपाली चलचित्रको अग्रपङ्क्तिमा रहेका अभिनेताहरू नाटकघरबाटै उदाउने धेरै छन् । यही सन्दर्भमा रङ्गमञ्चबाट चलचित्रसम्मको यात्राको विषयमा रङ्गकर्मीबीच छलफल भएको छ ।
‘विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नाराका साथ गत बिहीबारदेखि काठमाडौंमा जारी ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को आठौँ संस्करणमा ‘रङ्गमञ्चबाट रङ्गीन पर्दा’ शीर्षकमा गरिएको अन्तरक्रिया कार्यक्रममा अभिनेता तथा नाट्यकर्मी प्रमोद अग्रहरीले रङ्गमञ्चले आफू र समाजलाई बुझ्न मद्दत गर्नुका साथै कामप्रतिको सम्मान बढाउन तथा अनुशासन सिकाउने बताए ।
‘अभिनय पढ्नैपर्ने विधा, यसमा अध्यन नभए राम्रो कलाकारिता गर्न सकिँदैन भन्ने मेरो बुझाइ छ । यसले रङ्गमञ्चबाट ठूलो पर्दामा जान मद्दत गर्नुका साथै अभिनयमा विविधता ल्याउन मद्दत गर्छ । रङ्गमञ्चलाई छाडेरभन्दा पनि साथै राखेर रङ्गीन पर्दामा पुग्नेहरू दीर्घायु हुन्छन्’, अभिनेता अग्रहरीले भने । छलफलका क्रममा उनले आफ्नो नाटकघर हुँदै चलचित्र भवनसम्मको यात्राका विषयमा समेत चर्चा गरे ।
छलफलमा सहभागी अभिनेत्री तथा नाट्यकर्मी सरिता गिरीले चलचित्र र रङ्गमञ्च दुवै माध्यममा सङ्घर्ष र निरन्तरता आवश्यक रहेको बताइन् । ‘रङ्गमञ्च चलचित्रसम्म पुग्ने एउटा बाटो हो, किनकि यहाँ आएर अभिनय सिकेका अहिले चलचित्रमा सर्वाधिक खोजिने कलाकार बन्नुभएको छ । तर, चलचित्रमा काम गर्छु भनेर नाटकघर आउनेभन्दा नाटकमा काम गर्ने चलचित्रमा स्थापित हुनुभएको छ । त्यसैले हामीले नाटक हुँदै चलचित्रमा पुग्नुभएका कलाकारको सफलतासँगै उहाँहरुले गर्नुभएको सङ्घर्षलाई बुझ्नु जरुरी छ, त्यसले हामीलाई अगाडि बढ्न प्रेरणा दिन्छ’, उनले भनिन् ।
अभिनेत्री गिरीले रङ्गमञ्च नै सपना बोकेर आएका आफ्ना पुस्ताका कलाकार मेहनत र निरन्तरताकै कारण आज चलचित्रमा पुग्न सफल भएका तर्क गरिन् ।
अभिनेता तथा नाट्यकर्मी बुद्धि तामाङले रङ्गमञ्च अभिनयमा आफ्नो भविष्य देख्नेलाई बाटो देखाउने माध्यम बनेको धारणा राख्दै नाटक र चलचित्रको माध्यम फरक भएकाले त्यसलाई एउटै आँखाले हेर्न नहुने बताए ।
‘नाटकमा हामी आफैंले सबै काम गर्छौं, त्यहाँ हामीलाई निर्देशक गर्ने कोही हुँदैनन् । तर, चलचित्रमा हाम्रो भावलाई निरन्तरता दिन वा हाम्रो अभिनय क्षमतालाई हेर्न क्यामेरा पछाडि धेरै बस्नुहुन्छ । त्यसकारण यी दुवै माध्यममा मेहनत गर्न सक्नेका लागि सहज र काम गर्न नसक्नेका लागि असहज बनिरहेको छ’, अभिनेता तामाङले भने । उनले चलचित्रमा काम गर्ने उद्देश्यले भन्दा पनि अभिनय क्षमतालाई मापन गर्ने सङ्कल्प लिएर नाटकघरमा आउन आग्रह गरे ।
छलफलमै रहेकी नाट्यकर्मी सृजना अधिकारीले यसै वर्ष प्रदर्शन भएको चलचित्र ‘सतिदेवी’मा अभिनेत्रीको भूमिका निर्वाह गरेकी थिइन् । तीन सन्तानको आमाको भूमिकामा देखिएकी अभिनेत्री अधिकारीले माध्यम फरक भए पनि अभिनयका हिसाबले चलचित्र र नाटकमा उस्तै तयारी गर्नुपर्ने अनुभव सुनाइन् ।
‘नाटकमा हामीले आफ्नो अभिनयसँगै आफ्नो सम्पूर्ण आवश्यक तत्वलाई मिलाउनुपर्छ भने चलचित्रमा त्यसलाई विचार गर्ने धेरै व्यक्ति हुन्छन् । मलाईचाहिँ जति आफू प्रक्रियामा संलग्न भयो त्यति नै राम्रो लाग्छ, त्यही भएर म नाटकमा काम गर्न सहजता महसुस गर्छु’, उनले भनिन्।
अभिनेत्री गिरीले चलचित्रसँगै रङ्गमञ्चमा समय छुट्याउने गरेको बताइन् । उनले एक वर्षमा तीनदेखि ६ महिनासम्मको समय नाटकलाई दिन्छिन् । त्यसकारण आफ्नो भूमिका सानो वा छोटोभन्दा पनि प्रभावकारिता हेरेर चलचित्रमा काम गर्ने गरेको उनले बताइन् ।
रङ्गपत्रकार सुकृत नेपालले सहजीकरण गरेको अन्तरक्रियामा सहभागी नाट्यकर्मीले रङ्गमञ्चबाट ठूलो पर्दामा गएकाहरूले अभिनयमा निरन्तरता दिन सक्नेमा जोड दिए । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा यही चैत ११ गतेसम्म चल्ने उक्त महोत्सवमा ४० देशका ८७ चलचित्र, वृतचित्र तथा छोटा चलचित्र सहभागी छन् । महोत्सवका अध्यक्ष केपी पाठकले विभिन्न भाषाका चलचित्रहरू एकै ठाउँमा प्रदर्शन हुँदा चलचित्रकर्मीबीच ज्ञान आदानप्रदान हुनुका साथै विश्वका चलचित्रसँग परिचित गराउने बताए ।
महोत्सवलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर दुई किसिमले वर्गीकरण गरिएको छ । दुवैमा ‘फिचर’ र लघुचलचित्रका साथै वृत्तचित्र विधामा अवार्ड वितरण गरिने छ । महोत्सवमा अन्तरराष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट हुने चलचित्रलाई एक हजार पाँच सय डलर राशिसहित ‘गौतम बुद्ध अवार्ड’ प्रदान गरिनेछ । यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रबाट कुनै एक चलचित्रलाई ‘अन्तरराष्ट्रिय चलचित्र समाज महासङ्घ’को तर्फबाट ‘डन कि होते’ शीर्षकमा पुरस्कार प्रदान गरिनेछ । नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट चलचित्रलाई रु एक लाख र ट्रफी, उत्कृष्ट छोटो चलचित्र र उत्कृष्ट वृत्तचित्रलाई रू ५०–५० हजार र ट्रफी प्रदान गरिने जनाइएको छ ।
महोत्सवमा सर्वोत्कृष्ट अन्तरराष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको ‘माउन्ट एभरेस्ट अवार्ड’ र सर्वोत्कृष्ट अन्तरराष्ट्रिय लघुचलचित्रलाई पाँच सय डलरको ‘बागमती अवार्ड’ प्रदान गरिने छ । एआई प्रविधिको चलचित्रलाई पाँच सय अमेरिकी डलरको ‘मञ्जुश्री अवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ ।
photo: rss
प्रतिक्रिया