क्रिकेटर शकिबको सम्पत्ति जफत गर्ने बङ्गलादेशी अदालतको आदेश

क्रिकेटर शकिबको सम्पत्ति जफत गर्ने बङ्गलादेशी अदालतको आदेश


बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिनाप्रति बफादारी देखाएको कारण बङ्गलादेशको एक अदालतले क्रिकेटर शकिब अल हसनको सम्पत्ति जफत गर्ने आदेश दिएको छ ।

क्रिकेटर शकिब पूर्वप्रधानमन्त्री हसिनाको पार्टीका पूर्व सांसद हुन् । हसिनालाई गत वर्ष विद्यार्थी नेतृत्वको विद्रोहमा हटाइएको थियो र उनी हेलिकप्टरबाट छिमेकी भारत भागेकी थिइन् ।

हसिनासँगको शकिबको सम्बन्धले उनलाई जनताको आक्रोशको निशाना बनाएको छ भने विद्रोहको समयमा प्रदर्शनकारीहरूमाथि घातक प्रहरी दमनका जिम्मेवार ठानिएर हत्या अनुसन्धानको सामना गरिरहेका दर्जनौँ व्यक्तिमध्ये उनी पनि एक थिए ।

ती आरोपहरूमा शकिबमाथि आरोप लगाइएको छैन तर हाल उनमाथि तीन लाख डलरभन्दा बढीको चेकहरू बाउन्स गरेको भनी ठगीको आरोपमा मुद्दा चलिरहेको छ ।

अदालतले जनवरीमा शकिबको गिरफ्तारीका लागि वारेन्ट जारी गरेपछि राजधानी ढाकाका मजिस्ट्रेटले सोमबार (२४ मार्च) जफत गर्ने आदेश दिएका हुन् ।

हसिनाको सरकार पतन हुँदा शकिब क्यानाडामा घरेलु टी-२० क्रिकेट प्रतियोगितामा खेलिरहेका थिए र त्यसयता उनी बङ्गलादेश फर्किएका छैनन् ।

बायाँ हातका अलराउन्डर शकिबले बङ्गलादेशका लागि ७१ टेस्ट, दुई सय ४७ एकदिवसीय अन्तर्राष्ट्रिय र एक सय २९ टी-२० खेलेका छन् र कुल सात सय १२ विकेट लिएका छन् ।