नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले यही चैत ७ गतेदेखि काठमाडौंमा आयोजना गरेको नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)को आठौँ संस्करण कलाकर्मीहरुलाई पुरस्कार प्रदान गर्दै सम्पन्न भएको छ । सोमबार (११ चैत) काठमाडौंमा आयोजित समापन समरोहमा अन्तरराष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत मीनबहादुर भामले निर्देशन गरेको चलचित्र ‘शाम्बाला’लाई एक हजार पाँच सय अमेरिकी डलर राशिसहित ‘गौतम बुद्ध अवार्ड’ प्रदान गरिएको छ ।
महोत्सवका अध्यक्ष केपी पाठकले पाँच दिनसम्म सञ्चालित महोत्सवमा प्रतिस्पर्धी चलचित्रलाई निर्णायकको निर्णय अनुसार विजेता घोषणा गरिएको जानकारी दिए । उनका अनुसार रु. एक लाख पुरस्कार राशि रहेको नेपाली प्रतिस्पर्धाअन्तर्गत कथानक चलचित्र ‘आँखा’, रु ५० हजार पुरस्कार राशिको छोटो चलचित्र ‘साक्षी रुख’ र वृत्तचित्र ‘देवी’ विजेता घोषित भएका छन् ।
एक हजार डलर राशिको अन्तरराष्ट्रिय वृत्तचित्रअन्तर्गत ‘माउन्ट एभरेस्ट अवार्ड’ बेल्जियमको ‘मेल्टिङ स्नो’, पाँच सय डलर राशिको ‘बागमती अवार्ड’ स्पेनको चलचित्र ‘लुसिया जि रोमेरो’, पाँच सय अमेरिकी डलर राशिको एआई प्रविधिको चलचित्रअन्तर्गत प्रदान गरिने ‘मञ्जुश्री अवार्ड’ अर्जेन्टिनाको चलचित्र ‘द अविस’ लाई प्रदान गरिएको अध्यक्ष पाठकले उल्लेख गरे । उनका अनुसार भारतीय चलचित्र ‘रूक्मिणी’ लाई ‘डन कि होते’ शीर्षकमा विजेता घोषणा गरिएको हो ।
नेपाली कथानक चलचित्रतर्फको निर्देशन विधामा ‘पुजार सार्की’ बाट दिनेश राउत, सोही चलचित्रबाट अभिनेत्रीतर्फ अञ्जना बराइली र छायाङ्कनतर्फ राजेश श्रेष्ठ उत्कृष्ट छायाँकार घोषित भएका छन् । चलचित्र ‘आँखा’बाट आरके मेहता उत्कृष्ट अभिनेता र जौन योञ्जन उत्कृष्ट पटकथाकार, लेखक घोषणा हुँदै विजेता बने।
छोटो चलचित्रतर्फ ‘अ बिट्नेस’बाट निशान खत्री उत्कृष्ट निर्देशक, ‘अडिएन्स च्वाइस’तर्फ लक्ष्मण सुवेदीद्वरा निर्देशित चलचित्र ‘सतिदेवी’ विजेता घोषणा भएको पाठकले जानकारी दिए । विजेता सबैलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरस्कार प्रदान गरे ।
पुरस्कार वितरण कार्यक्रममा मन्त्री गुरुङले यस किसिमको महोत्सवले नेपाली चलचित्रलाई अन्तरराष्ट्रिय चलचित्रसँग जोड्नुका साथै विश्वमञ्चमा स्थापित गर्न मदत गर्ने उल्लेख गर्दै भने, ‘नेपाली चलचित्रलाई अन्तरराष्ट्रिय प्रतिस्पर्धामा उभ्याउन आवश्यक नीतिगत सुधार, पूर्वाधार विकास, प्रविधि विस्तार र निजी क्षेत्रसँग सहकार्य गर्ने नीतिमा सरकार निरन्तर अघि बढिरहेको छ ।’
सोही अवसरमा मन्त्री गुरुङले बनेपामा चलचित्र छायाङ्कन गर्ने आधुनिक स्टुडियो निर्माणका लागि बोलपत्र आह्वान प्रक्रिया सम्पन्न भइसकेको जनाउँदै आगामी आर्थिक वर्षभित्रै नेपालको सबैभन्दा ठूलो ‘इनडोर स्टुडियो’ स्थापना गर्ने सरकारको लक्ष्य रहेको जानकारी दिए ।
‘विश्वभरिका कथाहरूको उत्सवः नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ नाराका साथ आयोजना भएको महोत्सवमा चलचित्र प्रदर्शनीसँगै कार्यशाला, अन्तरक्रियालगायत कार्यक्रम भएको अध्यक्ष पाठकले बताए । उनले भने, ‘यस अगाडिका शृङ्खलाभन्दा भव्य बनाउन हामीले योजना बनाएर मेहनत गरेका छौँ । यो महोत्सव विश्वभरका चलचित्रकर्मी भेटघाट, छलफल र विचार आदानप्रदान गर्ने माध्यम बन्न सफल भएको छ ।’
महोत्सवमा छनोट भएका ४० देशका ८७ चलचित्र सुन्धारास्थित सिभिल मल र ठमेलस्थित छायाँसेन्टरको चलचित्र भवनमा प्रदर्शन गरिएको थियो । यस्तै, अन्तरक्रिया तथा छलफलका कार्यक्रम प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डमा भएको थियो ।
photo: rss
प्रतिक्रिया