आउनुहोस् कुलमानजी…

आउनुहोस् कुलमानजी…


नेपालको प्रतिनिधि सभामा मनोनीत र निर्वाचित गरेर हाल २७५ सदस्यहरू छन् । राजाको पालामा राष्ट्रिय पञ्चायतमा १२० जना सदस्य हुन्थे, जसमा १०५ जना निर्वाचित १५ जना राजाबाट मनोनित हुन्थे ।

अहिले गणतन्त्रमा सांसद हुनलाई संविधानमा नै जनजाति आदिवासी कोटा छुट्याएर आरक्षणको ‘भिख’मार्फत हुन परिरहेको छ भने राजाको सक्रिय शासनको बेला वेदानन्द झा, शमशेरबहादुर तुम्बाहाम्फे, दिलबहादुर श्रेष्ठ, जोगमेहर श्रेष्ठ, सत्यमान लामा, दावा फिन्जोक लामा, ओमु टेम्पु लामा, बुद्धिमान तामाङ, जगदीश झा, मरिचमानसिंह श्रेष्ठ, सरस्वती राई, ध्यानबहादुर राई, दूतप्रसाद गुरुङ, शालिग्राम चौधरी, बालाराम घर्तिमगर, विजयप्रकाश थेबे, पद्मसुन्दर लावती, डिल्लीशेर राई, आङदण्डी लामा, नरबहादुर गुरुङ, सन्तकुमार चौधरी, फतेहसिंह थारू, हिरालाल विश्वकर्मा, पार्वती परियार जस्ता जनप्रतिनिधिहरू चुनाव जितेर आउने गर्थे भने कोही राजाले मनोनीत गर्थे ।

यी माथिल्ला अनुहारहरू राजाको भान्जा-भान्जी साली गर्लफ्रेन्ड कोही पर्दैन न त आजको जस्तो कुनै जातीय आरक्षणको भिक्षा थापेर आएका नै हुन्थे । यी पञ्चायत कालमा आ-आफ्नो जिल्ला हल्लाएर बस्ने एक से एक नेताहरू हुन्, उदाहरणका लागि अहिलेको ३ नम्बर प्रदेशको राजधानी बनाएको हेटौंडा बजार भीमफेदीमा थियो, त्यहाँबाट एकलौटी निर्णय गरेर जबर्जस्त हेटौंडामा सारेर ल्याउने ओमु टेम्पु लामा थिए ।

राणाकालको १०४ वर्षसम्म दबिएर बसेका जनजाति आदिवासी मतुवाली समुदाय राजाको ३०वर्षे सक्रिय शासनमा बिस्तारै माथि उठ्दै थियो । राजाले राज्यको अति संवेदनशील काममा मतुवाली समुदायलाई जिम्मेवारी दिने गर्थे, जसको एउटा सानो उदाहरण; राजा महेन्द्रले चीनको माओत्सेतुङलाई एउटा अति गोप्य पत्र दिनुपर्ने भयो, तर कसलाई पठाउने कसरी पठाउने ? एअरपोर्टबाट पठाए भारत र अमेरिकाको जासुसी संयन्त्रले सुइँको पाउलान् भन्ने डर… बाहुन–क्षेत्रीलाई पठाए सूचना बेच्ला भन्ने डर ! यस्तो अवस्थामा राजा महेन्द्रले खगेन्द्रजंग गुरुङलाई बोलाएर चिट्ठी हातमा थमाइ तातोपानी हुँदै पैदलमार्गबाट माओत्सेतुङलाई भेट्न चीन पठाएका थिए । राजा महेन्द्रको वरिपरि पढेलेखेका दिग्गज बुद्धिजीवी थुप्रै बाहुन–क्षेत्रीहरू नभएका होइनन्, उनकै वरिपरि अड्डा जमाएर बस्ने नातागोता पनि नभएका होइनन्, तर सुरक्षा संवेदनशीलताको मामिलामा मतुवालीलाई विश्वास गरेर जिम्मेवारी दिने गरिन्थ्यो भन्ने उदाहरण खगेन्द्रजंग गुरुङ हुन् ।

राष्ट्रको शान्ति-सुरक्षा हेर्ने संवेदनशील अंग नेपाल प्रहरीमा गृहमन्त्री जोगमेहर श्रेष्ठदेखि प्रहरी महानिरीक्षकहरूको लिस्टमा पहलसिंह लामा, दिलबहादुर लामा, गुप्तचार विभागका प्रमुखमा हर्कबहादुर थापा मगर, मध्यक्षेत्रका प्रहरी नायव महानिरीक्षकमा खड्गजीत बराल मगर, प्रहरी महानिरीक्षकमा रोमबहादुर थापा मगर, दुर्लभकुमार थापा मगर, मानबहादुर राईहरू प्रहरी सेवामा आईजिपी भएर गएका थिए भने बडा हाकिममा सोलुखुम्बुको साङ्गे लामा शेर्पाको सन्तानदेखि सन्तवीर लामाहरू जस्ताले उहिल्यै पञ्चायतकालमा बिना आरक्षण बिना आदिवासी जनजातिका ट्याग भिरेर आ–आफ्नो हैसियत देखाइ राज्यको महत्त्वपूर्ण निकाय सम्हालीसकेका थिए राजाको सक्रिय शासनमा ।

त्यतिमात्र होइन अमेरिकाको गुप्तचर संस्था सिआईएले तालिम दिएर तयार गरेको खम्पा गुरिल्लाहरूलाई नियन्त्रणमा ल्याउने जिम्मेवारी राजा वीरेन्द्रले एकजना मतुवालीको छोरा ताम्ला उक्यावलाई दिएका थिए । उनी राजा वीरेन्द्रका मुख्य सल्लाहकार नै थिए जसको सल्लाहमा राजा वीरेन्द्रले ‘लामा देश दर्शन’ विभाग नै खडा गरेर छ्योच्यु कुस्यो रेम्पुछेलाई नियुक्त गरेका थिए र यो समितिले वर्षको एकपटक लामाहरूलाई बोलाएर नारायणहिटी राजदरबारमा लगी राजासँग दर्शनभेटको व्यवस्था गर्ने गर्दथ्यो ।

राजाको पालामा मतुवाली (जनजाती) समुदायको तर्फबाट प्रहरी महानिरीक्षक, गृहसचिव, मुख्यसचिव, गृहमन्त्री हुँदै प्रधानमन्त्रीसम्मको जिम्मेवारी निर्वाह गरेर बस्ने यो समुदाय बहुदलीय व्यवस्था आएपछि दया गरेर छुट्याएको आरक्षणको कोटामा खुम्चिन पुग्यो !

कुलमानजी ! राजाको सक्रिय शासन कालमा तपाईंको ससुरा बा बुद्धिमान तामाङको इसाराबेगर धादिङ जिल्लामा पत्ता पनि हल्लिँदैनथ्यो । त्यस्तो पावर सेयर गरेर बसेको धादिङमा गणतन्त्र आएको झन्डै २० वर्ष र बहुदलीय व्यवस्था आएको झन्डै १६ वर्ष कुल ३६ वर्षमा त्यस्तो हैसियत भएको एकजना तामाङ नेता गणतन्त्रमा खै जन्मेको ? त्यसैले यो व्यवस्था मतुवाली समुदायको हितमा छैन, अतः मतुवाली समुदायको सर्वाङ्गीण उत्थानका लागि फेरि एकपटक राजसंस्थाको पुनःस्थापनाको अभियानमा जुटौँ, यही देशहितमा छ है कुलमानजी !