बलिउडका विख्यात अभिनेता मनोज कुमारको निधन भएको छ । दिग्गज अभिनेता मनोज कुमारको ८८ वर्षको उमेरमा शुक्रबार (४ अप्रिल) बिहान मुम्बईको कोकिलाबेन अस्पतालमा निधन भएको हो ।
हिन्दी फिल्म उद्योगमा देशभक्तिपूर्ण फिल्महरूका लागि मनोज कुमार सुपरिचित छन् । क्रान्ति, उपकार, शहीद, पूरव और पश्चिम, रोटी कपडा और मकान आदि फिल्ममार्फत उनले अविस्मरणीय छाप छोडेका छन् ।
वास्तविक नाम हरिकृष्ण गोस्वामी रहेका मनोज कुमारको जन्म १९३७ मा एवटावाद (हाल पाकिस्तानमा पर्छ) मा भएको थियो । मनोज कुमारले धेरै देशभक्तिपूर्ण फिल्महरू गरे र ती यति हिट भए कि प्रशंसकहरूले उनलाई ‘भारत कुमार’ भनेर समेत सम्बोधन गर्ने गर्दथे ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मनोज कुमारको निधनमा शोक व्यक्त गर्दै इन्स्टाग्राममा पोष्ट गरेका छन्– ‘प्रख्यात अभिनेता तथा फिल्म निर्माता मनोज कुमारजीको निधनले गहिरो दुःख लागेको छ । उहाँ भारतीय सिनेमाका एक प्रतीक हुनुहुन्थ्यो, विशेषगरी उहाँलाई देशभक्तिको जोशका लागि सम्झिइने गरिन्छ । यो कुरा उहाँका फिल्महरूमा पनि प्रतिबिम्बित भएको थियो । मनोजजीका कर्मले राष्ट्रिय गौरवको भावना जगायो । उहाँ आउने पुस्ताका लागि पनि प्रेरक व्यक्तित्व बनिरहनुहुनेछ । यो शोकको घडीमा उहाँको परिवार र प्रशंसकहरूप्रति मेरो समवेदना छ ।’
प्रतिक्रिया