मुस्ताङमा आयोजित ‘ट्रेल रेस २०२५’मा सोलुखुम्बु दूधकुण्ड नगरपालिका-२ फेटाकी १९ वर्षीया आङफुर्वा शेर्पाले प्रथम स्थान हासिल गरेकी छन् । मुस्ताङ ट्रेल रेसमा उच्च पर्वतीय हिमाली क्षेत्रको ट्रेल गर्दै उनी प्रथम भएकी हुन् ।
यही चैत १९ गतेदेखि सुरु भई आठ दिनसम्म सञ्चालन भएको नेपाली र विदेशी सम्मिलित ट्रेलरहरू उक्त ट्रेल रेसमा सहभागी भई बुधबार जोमसोम आइपुगेका हुन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीबाट उपल्लो मुस्ताङका विभिन्न स्थानमा तय गरिएको एक सय ७० किलोमिटर दूरी २३ घण्टा ५५ मिनेट २० सेकेन्डमा पूरा गर्दै सोखुखुम्बुकी शेर्पा प्रथम भएकी हुन् ।
यसैगरी, मुस्ताङ ट्रेल रेसमा क्यानाडाकी दाह्री अन्ना दोस्रो भएकी छन् । उनले निर्धारित एक सय ७० किलोमिटर दूरी २७ घण्टा ५२ मिनेट दुई सेकेन्डमा पूरा गरिन् । ट्रेलमा जर्मनकी पेट्रा काउसेले निर्धारित दूरी २८ घण्टा तीन मिनेट ५० सेकेन्डमा पूरा गरिन् ।
ट्रेलमा प्रथम भएकी शेर्पाले आफूले वेबसाइटमार्फत थाहा पाएर यहाँ सहभागी हुन आएको बताइन् । चाँैरीगोठमै हुर्किएर स्कुल पढेकी शेर्पा अहिले काठमाडांँमा बसेर स्नातक तह अध्ययन गरिरहेकी छन् ।
सानैदेखि साहसिक पदयात्रा (ट्रेल) गर्न मनपर्ने भएकाले यहाँ आएर सहभागिता जनाएको शेर्पाको भनाइ छ । ‘सोलुखुम्बु पनि उच्चस्थानको क्षेत्र हो, यद्यपि त्यहाँ रूखबिरुवाले हरियाली हुन्छ’- उनले भनिन् ।
मुस्ताङको कागबेनीबाट चैले-घमी-लोमान्थाङ-कुन्छोलिङ छोसेर गुफा हुँदै पुनः लोमान्थाङ फर्किएर यारा-ताङ्ग्या-छुसाङ-मुक्तिनाथ हुँदै जोमसोमसम्म प्वाइन्ट निर्धारण गरेर मुस्ताङ ट्रेलको अङ्क मापन गरिएको मुस्ताङ ट्रेलमा सहभागी राम खत्रीले बताए । उनका अनुसार ट्रेलमा पाँच नेपालीसहित ४८ जना विदेशी नागरिक सहभागी थिए ।
प्रतिक्रिया