मण्डला थिएटरमा ‘अर्को एउटा द्रोणाचार्य’ हेर्नेको भीड

मण्डला थिएटरमा ‘अर्को एउटा द्रोणाचार्य’ हेर्नेको भीड


मण्डला थिएटर थापागाउँ (काठमाडौं)मा मञ्चन भइरहेको नाटक ‘अर्को एउटा द्रोणाचार्य’को अधिकांश शो हाउसफूल भइरहेको छ । शक्ति, अधिकार र नैतिकताको त्रिकोणीय द्वन्द्वलाई केन्द्रमा राखेर चैत २१ गतेदेखि सुरू भएको यो नाटक यही बैशाख ७ गतेसम्म मात्रै मञ्चन हुने भएको छ । मञ्चन अवधि छोटिन थालेपछि नाटक हेर्नेको भीड नै लाग्ने गरेको हो । आयोजकहरुका अनुसार उक्त नाटकको अधिकांश शो ‘हाउसफूल’ भइरहेको छ । यो नाटक सोमबारबाहेक हरेक दिन ५ः१५ बजे हेर्न सकिनेछ ।

भारतीय लेखक डा. शङ्कर शेषको चर्चित नाटक ‘एक और द्रोणाचार्य’ मा आधारित र प्रेरित यो नाटकलाई सम्राट भुजेल र श्रीशेष श्रेष्ठले नेपाली भाषामा अनुवाद गरी लेकेका हुन् । समाजमा देखिएको नेतृत्वको नैतिक संकट र अधिकारको कुण्ठनलाई नाटकले गहिरो व्यंग्यात्मक शैलीमा प्रस्तुत गरेको छ ।

महाभारतको पृष्ठभूमिमा आधारित यो नाटकमा गुरु द्रोणाचार्यको जीवन, उनको निर्णय र शक्ति–कर्तव्य–नैतिकताको झमेलालाई आधुनिक सन्दर्भसँग गाँसेर देखाइएको छ । विशेष गरी जब द्रोणाचार्य धर्म पाण्डव पक्षमा देख्दादेख्दै पनि दायित्वका नाममा कौरव पक्ष रोज्छन्, त्यहीँबाट नाटकको कथावस्तु गहिरिँदै जान्छ ।

उमेश तामाङले निर्देशन गरको उक्त नाटकमा उमेश सुनाम, कृतिका बस्नेत, सनम श्रेष्ठ, अर्जुन दुलाल, आभास भट्टराई, भुवन लोहार, रोशन अधिकारी, श्रीशेष श्रेष्ठ, सम्राट भुजेल, दिपेस गजुरेल, प्रेम सिल्वाल, स्वर्णिम चाम्लिङलगायतका कलाकारहरुको जीवन्त अभिनय रहेको छ ।

‘अर्को एउटा द्रोणाचार्य’ शक्ति, अधिकार र नैतिकताको गहिरो अन्वेषण हो, जुन महाभारतका प्रसिद्ध गुरु द्रोणाचार्यको पात्रलाई केन्द्रमा राखेर प्रस्तुत गरिएको निर्देशक उमेश तामाङले जानकारी दिए ।

यस नाटकले शक्ति र नेतृत्वको स्थानमा रहेका व्यक्तिहरूले भोग्ने नैतिक द्विविधाहरूको चित्रण गर्छ, जहाँ कर्तव्य, निष्ठा र व्यक्तिगत अन्तरआत्माबीचको सीमालाई प्रश्न गरिने निर्देशक तामाङको भनाई छ ।

‘नेपालको सन्दर्भमा हेर्दा, यो नाटक अत्यन्त सान्दर्भिक छ, किनभने देशले लामो समयदेखि राजनीतिक अस्थिरता, नेतृत्वको संकट, भ्रष्टाचार र सुशासन सम्बन्धी चुनौतीहरू झेल्दै आएको छ ।’ निर्देशक तामाङले भने– ‘द्रोणाचार्यझैं, नेपाली नेताहरू पनि प्रायः समाजलाई असर गर्ने जटिल निर्णयहरूको सामना गरिरहेका हुन्छन् ।’

नाटकले नेताहरूको नैतिक जिम्मेवारी र तिनका कार्यहरूको परिणामबारे सोच्न बाध्य पार्ने माध्यमको रूपमा काम गर्छ, जसले नेपालको राजनीतिक तथा सामाजिक सङ्घर्षमाथि सान्दर्भिक टिप्पणी प्रस्तुत गर्ने उनको भनाई छ ।

‘निर्देशकको रूपमा मेरो उद्देश्य दर्शकलाई आफ्नै जीवनमा शिक्षक र नेताहरूलाई कसरी हेर्छौं भन्ने बारे सोच्न लगाउनु हो’ उनले भने– ‘चाहे त्यो विद्यालयको शिक्षक होस्, कुनै अफिसको बाँस वा आमाबुबा नै किन नहोस् ।’

जब कुनै जिम्मेवार व्यक्ति आफ्ना नियम, परम्परा वा कर्तव्यप्रति अत्याधिक केन्द्रित हुन्छन्, त्यसले तिनीहरूलाई आदर्श मान्नेहरूमा कस्तो प्रभाव पार्छ ? निर्देशक तामाङले थपे– ‘म चाहन्छु कि मञ्च सादा तर प्रभावशाली देखियोस् । सेट अत्यधिक सजिएको हुने छैन, किनभने म चाहन्छु दर्शकको ध्यान पात्रहरू र तिनीहरूको संघर्षमा केन्द्रित होस् ।’

नाटकभरि प्रकाश परिवर्तन हुँदै जान्छ, जसले प्रोफेसर र विद्यार्थीहरूबीचको बदलिँदो मुड र द्वन्द्व देखाउनेछ ।

कहिलेकाहीँ प्रकाश गहिरो र तनावपूर्ण हुनेछ, भने कहिलेकाहीँ उज्यालो, जुन समझदारी वा परिवर्तनका क्षणहरूको संकेत दिनेछ ।

नाटकको केन्द्रीय विषयवस्तु ‘गुरुपन’ हो । शिक्षक हुनु के हो भन्ने, युवा मनमस्तिष्कमा प्रभाव पार्ने अधिकार राख्नु के हो भन्ने र ती व्यक्तिहरूको भविष्य निर्माणमा कसरी भूमिका खेलिन्छ भन्नेबारे । यस सन्दर्भमा द्रोणाचार्य केवल महाभारतको पात्र होइनन्, उनी ज्ञान र बुद्धिमत्तामार्फत शक्ति राख्ने सबै व्यक्तिहरूको प्रतिनिधित्व हुन् ।

नाटकमा उनका चेलाहरूसँग, विशेष गरेर यस नाटकमा प्रस्तुत चेलो चन्दूसँगको सम्बन्ध, प्रशंसा, रिस, आश्रय, र बगावतजस्ता परतहरूले भरिएको रूपमा प्रस्तुत गरिन्छ । उत्कृष्ट निर्देशन, उस्तै कथाबस्तुमा कलाकारहरुको शसक्त अभिनयले पनि यो नाटकले नाटकप्रेमीको मन जित्न सफल भएको छ ।