अथक एवम् अग्रणी एनआरएन नेतृ सीता सापकोटा

अथक एवम् अग्रणी एनआरएन नेतृ सीता सापकोटा


उनी अलिक बढी महत्वाकांक्षी छिन् भन्छन् कतिपयले । मलाई लाग्छ- त्यत्तिको महत्वाकांक्षी नहुने हो भने उनमा नेतृत्वको भोक मर्दथ्यो र एक सामाजिककर्मी हुने रहर समुदायमा पोखिँदैनथ्यो । समग्रमा भन्दा उनका सपनाहरू मर्दथे । सपना मरेपछि मान्छे लासजस्तै हुन्छ ।

केहीले भनेको सुन्छु, उनी आगोले जस्तै चट्-चट् प्रतिक्रिया दिन्छिन् । हो, आगोले प्रतिक्रिया दिँदा तातो, प्रकाश र आवाज पनि आउँछ । आगोको प्रतिक्रियाले हरियो सुकेको सबै खरानी बनाउँछ । कुरा ठिकै हो, उनी काममा प्रतिक्रियात्मक पनि छन् तर आगो जस्तो हैन । आगोले त हरियो पनि छोड्दैन तर उनले हरियो र सुकेको छुट्ट्याउँछिन् । खरो प्रतिक्रियात्मक छन् र त समुदायको पदचाप भन्दा एक कदम अगाडि पुगेर बाँचेकी छन् । उनमाथि आक्रमण गर्नुअगाडि दुश्मनले पनि हजार पटक सोच्नुपर्छ ।

मानिसको स्वाभिमान खसाल्न खोज्नु, कसैका प्रतिक्रिया र सक्रियताबाट आत्तिएर उसको हत्या गर्न खोज्नुसरह हो । यो कुरा कसैले मानोस् वा नमानोस्, मलाई त्यस्तो लाग्छ । अरुका कर्महरूको सकारात्मक प्रभाव, उज्यालो पक्ष र समयको त्यागलाई नहेरी प्रमाणित गर्न नसकिने आरोप लगाएर पन्छाउन खोज्नु वास्तवमा उसको हत्या गर्न खोज्नुसरह हो । हो, उनमाथि त्यसखालको परिस्थिति बेला-बेलामा आएको थियो र आउने गरेको छ । तल बसेर हेर्नेहरूले उनमाथिको त्यो अवस्था उनको आन्तरिक मनोदशाको कारणले आएको देख्छन् । जैविक सक्रियताको बीचमा बसेर हेर्नेहरूले उनको त्यागको पाटो र आक्रमणको पाटो पिङ्ग झैँ दुवैतिर हल्लिरहेको देख्छन् होला । अलिक माथिबाट हेर्दा स्वाभिमानको बचाउको लागि त्यो स्वाभाविक नै लाग्छ । आधुनिक मान्छेले गान्धीले झैँ गाला थापिरहने अलौकिक क्षमताको नेतृत्व पक्कै खोजेका हुँदैनन् ।

आफ्नो बचाउमा मान्छे लाग्छ नै । आफ्नो बचाउ नगरी समुदायको सेवा गर्न सकिन्न । समुदायमा चेतनाका विभिन्न स्तर भएका मान्छेहरू हुन्छन् । कोही अलिक बढी आत्मकेन्द्रित हुन्छन् भने कोही दायाँबायाँ तलमाथि सबैतिर हेरेर सन्तुलित प्रतिक्रिया दिने मान्छे पनि हुन्छन् । दधिचि ऋषिले झैँ अरुको लागि जैविक अस्तित्व नै त्याग गर्ने मान्छे समुदायले खोज्नु मुर्खता हो । आफैंलाई मारेर समुदायको सेवा राजनीतिमा हुन सक्ला तर समाजसेवामा कदापि हुँदैन ।

पङ्क्तिकारले माथि उल्लेख गरेको पात्र हुन्- खरो स्वभावकी नेतृ, समाजसेवी एवम् एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटा ।

प्रतिक्रियामा ‘चर्की नेता’को उपनाम पाएकी सीताले जनसम्पर्क समिति बेल्जियम, चितवन क्याट बेल्जियमको नेतृत्व गरिसकेकी छन् । आर्थिक ब्यवहारमा अहिलेसम्म कसैले औँला उठाउन नसकेकी उनलाई केही सामाजिक प्राणी हौँ भन्नेहरूले चोरऔँला उठाएर पनि उनको नापजाँच गरे, तर कसिलो प्रमाण दिन सकेनन् र आफैं थ्याच्च हिलो आहालमा बसे ।

समाजमा सहजता-असहजताको हुण्डरी चल्छ अर्थात् चलाइन्छ । किनकि, सबैलाई सबैका स्वभाव मन पर्दैनन् । कोही कसैबाट आफ्ना रुचिअनुशारका शोख पूरा हुँदैनन् । आफ्नै क्षमतामा विश्वास गर्नेहरूले त्यसको आशा पनि गर्दैनन्, गर्नु हुँदैन । तर केही मान्छेले आफ्नो रुचि वा शोख पूरा गर्न अरुहरूलाई गोटीको रुपमा प्रयोग गर्ने चेष्टा गर्दछन् । प्रयोग नहुनेहरू प्रयोगकर्ताका शत्रुसरह मानिन्छन् । अचेल हरेक समाजमा यो विषाक्त प्रयोगशाला झर्झराउँदो छ ।

यस्ता कुपोषित प्रयोगशालामा सीतालाई प्रयोग गर्न नसक्नेहरूले के गरेनन् ! गाली र आरोपका एक हुल शब्दहरू हुरेलेर संसारभरिबाट सीतायणको किताब नै लेखाए । अस्तब्यस्त शब्दका गोलीले हिर्काएको हिर्कायै छन् । तर हिर्काउनेहरू आफैं थाके, उनी थाकिनन् र विकल्पका गोरेटाहरू बनाएर अगाडि बढिरहिन् । कुन महिना होला र यी ‘लक्ष्मीबाइ’माथि शब्दाक्रमण नभएको ? तर अविचलित र अथक योद्धा जस्तै बनेर उनले भित्री-बाहिरी सबै आक्रमणहरूको प्रतिकार गरिरहेकी छन् । यो हिम्मत/साहस जो-कोहीमा हुँदैन । यदि यस्तो साहस उनमा नभएको भए मलाई लाग्छ- उनलाई अहिलेसम्म पन्छाइसक्थे ।

मानिसलाई जैविक रुपमा बिस्तारै-बिस्तारै मार्नु छ भने कसैमाथि एक सम्भावित आरोप बनाएर पटक-पटक दोहोऱ्याइ रहनुपर्छ, पड्काइ रहनुपर्छ । कमजोर मन र तन भएको मान्छे त जैविकरुपमै सकिने मनोदशामा पुग्दछ । स्वाभिमान सकिएपछि जैविक अस्त्तिवको त्यति धेरै महत्व पनि हुँदैन । सामाजिक रुझानमा नकारात्मक प्रयोगकर्ताले आनन्द लिने यस्तै साधनामा हो ।

तर यिनी यस मानेमा बहादुर छोरी हुन् कि उनले प्रतिक्रियासहित झन्डै एकाध महिनामा नेपाल चिनाउने पहिचानका कार्यक्रमहरू गरिरहेकी छन् । आफ्नो संघको मिटिङ पनि समयमै गरेकी छन् । हेरेका संघ-संस्थाका प्रायः सबै कार्यक्रममा भाग लिएकी छन् । बाघ झैँ गर्जेर समाजमा आमा, दिदी बहिनीहरूलाई सामुदायिक नेतृत्व गर्न उत्प्रेरणा दिइरहेकी छन् । केहीले भन्छन्, ‘बाग्लुङ्गे भएकोले कमजोरको लागि सहारा बनेर उभिएकी हुन् उनी ।’ के बाग्लुङ्गे मात्र बहादुर हुन्छन्, मलाई त्यस्तो लाग्दैन । उनी भीमसेन जस्ता अंग्रेजी साम्राज्यवादीको सातो खाने राष्ट्रनिर्माताहरूले खिचेको नेपालको नक्साभित्र जन्मिएकोले सिंह जस्तै आत्मबल भएकी योद्धा बनिन् । उनले यस्ता हरेक कागजी आक्रमणलाई सहजै पचाइदिन सक्छिन् । मिडिया मजाक, सामाजिक आवाह, वैचारिक सत्व र स्वाभिमानमाथिका धेरै आक्रमण धुलिसात बनाउँदै पटक-पटक समाजको नेतृत्व गरिरहेकी छन् सीताले ।

उनले अहिले एनआरएनए बेल्जियमलाई सशक्त रुपले नेतृत्व गरेकी छन् । संगठनभित्र एक खालको अनौठो अन्तरविरोध छ । त्यो अन्तरविरोध बेल्जियमसापेक्ष हो वा निरपेक्ष जिनिस कुहिएको कुहीगन्ध हो, बुझ्नेलाई भन्दा नबुझ्नेलाई बढी हैरानी छ । तैपनि उनी कर्मपथमा नथर्थराइकन डटेकी छन् । संसारको नेपाली समुदायमा उनको छबी जे-जस्तो छ, त्यो उनले आफ्नै सक्रियता बनाएको हो ।

हालैमात्र नेपाली नयाँ वर्षको अवसरमा नेपाली राजदुतावास र गैरआवासीय नेपाली संघ एनआरएनए बेल्जियमले नेपालमा परोपकारी काम गरिरहेका बेल्जियन नागरिक एवम् संस्थालाई सम्मान गर्दै ‘नेपाल बेल्जियम दिवस’ मनायो । त्यसको नेतृत्व पनि सीताले नै गरिन् ।

बेल्जियमको लुभेनमा बसोबास गर्ने जनप्रतिनिधिहरू र नेपाललाई माया गर्ने बेल्जिकहरूबीच सम्पन्न ‘नेपाल बेल्जियम डे’ कार्यक्रमको बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्साल, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा र लुभेन नगरपालिका उपप्रमुख लोठे रामकरले संयुक्त रुपले दीप प्रज्ज्वन गरी उद्घाटन गरे । सबैले बेल्जियममा सांस्कृतिक अन्तरघुलन र सम्बन्धको सम्वेदनशीलताबारे खुलेर बहस गरे । त्यसको चाँजोपाँजो पनि उनैको टिमले गऱ्यो ।

लुभेन नगरपालिकाका मेयर मोहम्मद रुद्वानीले समेत नेपाली नयाँ वर्षको शुभकामना दिए । दुई देशका नागरिकहरूबीच भातृत्व र प्रमको आदानप्रदान भयो । नेपालबाट आएका लोकगायक पशुपति शर्माले गीत गाए । दर्शकहरू नाचेर खुशीका साथ नयाँ वर्ष मनाए । त्यसको ब्यवस्थापन पनि उनैले गरिन् । त्यतिबेला एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाले अत्यन्त सक्रियतापुर्वक सबै अतिथिहरूको सम्मान गरिन् । उनले यस्ता कार्यक्रमहरू धेरै पटक गरिसकिन् ।

जाजरकोट स्कुलको एक भवन निर्माणको लागि उनकै पहलमा सहयोग भयो । उनले आगामी जुन २३-२५ मा बेल्जियममा हुने अनेसासको विश्व सम्मेलनको लागि पनि दिल खोलेर सहयोग गर्ने बचन दिएकी छन् । सबैतिर उनले यसरी नै सहयोग गरिरहन्छिन् । उनले उपाध्यक्ष काशी दनै, आइसीसी मदन दवाडी, सचिव राजेन्द्र कार्की लगायत सम्पूर्ण टिमलाई उत्तिकै महत्व दिन्छिन् । भन्छिन्, ‘हाम्रो टिममा केही असजिला कुराहरू पनि आए तर ती सबै विगत भएर सकिए, हाम्रो टिम सशक्त छ, त्यसैले समस्यामा कहिल्यै आत्तिनु परेन, दाइ !’

उनको टिमका पात्रहरू भन्छन्- ‘बग्ने खोला वा बेगवान नदीको आवाज स्वाभाविक रुपले आउँछ नि दाइ । त्यसैले दिदीले सबैखाले प्रतिक्रियालाई पचाएर ढुक्कले निरन्तर काम गरिरहनुहुन्छ, हामीलाई पनि सँगै लिएर हिँडिरहनुभएको छ, अहिलेसम्म कतै रोकिनु परेको छैन ।’