मुलुकभर उसु खेलको विस्तार एवम् विकासका लागि क्रियाशील नेपाल उसु महासंघको तत्वावधान तथा सुदूरपश्चिम प्रदेश उसु संघको आयोजनामा कैलालीको धनगढीमा सातौँ राष्ट्रिय उसु निर्णायक सेमिनार तथा ११औं राष्ट्रिय उसु डिप्लोमा परीक्षा कोर्स–२०८२ आरम्भ गरिएको छ । सुदूपश्चिम प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधारमन्त्री प्रकाश बहादुर देउवाको प्रमुख आतिथ्यमा उद्घाटन समारोह आयोजना भएको हो ।
अन्तर्राष्ट्रिय उसु महासंघद्वारा जारी गरिएको ब्यालिड IWUF LICENCE प्राप्त आधिकारिक निर्णायकहरूबाट विविध अन्तर्राष्ट्रिय ‘न्यु अपडेट रुल’हरू निर्णायक सेमिनारमा र अन्तर्राष्ट्रिय मान्यताप्राप्त कोचहरूबाट डिप्लोमा कोर्स संचालन हुने महासंघले जनाएको छ । प्रदेश स्तरबाट नै संचालन गर्ने निर्णय भएबमोजिम उल्लिखित कार्यक्रम आयोजना गरिएको महासंघका महासचिव लाक्पाछिरिङ लामाले जानकारी दिएका छन् ।
सुदूरपश्चिम प्रदेशबाट ४८, कर्णाली प्रदेशबाट २२, लुम्बिनी प्रदेशबाट १६, गण्डकी प्रदेशबाट ९, बागमति प्रदेशबाट १०, कोशी प्रदेशबाट ५ गरी जम्मा ११० जनाले सेमिनारमा सहभागिता जनाएका छन् । निर्णायक सेमिनारमा सफलता प्राप्त गर्ने सहभागीहरूले IWUF निर्णायकको नाम/हस्ताक्षरसहितको लाइसेन्स बुक प्राप्त गर्नेछन्, जसलाई आधिकारिक मान्यतासमेत प्राप्त हुने जनाइएको छ ।
ज्ञातव्य छ, नेपाल उसु महासंघद्वारा गत २०७९ भदौ २३-२८ मा काठमाडौंमा पनि भब्य रूपमा १०औँ राष्ट्रिय डिप्लोमा कोर्स तथा निर्णायक सेमिनार सम्पन गरिएको थियो ।
प्रतिक्रिया