लन्डन । गत १२ गते तदनुसार २५ अप्रिल, शनिवार तथा २९ वैशाख २०७२ मा नेपालमा आएको महाविनासकारी भूकम्पको कारणले नेपालका विभिन्न क्षेत्रमा ठूलो जनधन र भौतिक क्षति भएको अवगतै छ । नेपाल सरकारले विशुद्ध राहत, उद्धार, पुर्नस्थापना, पुर्ननिर्माणका साथै दैवी प्रकोप एवं विपत्तिबाट क्षतिग्रस्त संरचनालाई संवोधन गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister’s Disaster Relief Fund) स्थापना गरेकोे छ । यो कोषको प्रयोग दैवी प्रकोपबाट प्रभावितहरुको उद्धार, राहत, पुर्नस्थापना, पुर्ननिर्माणका साथै दैवी प्रकोप एवं विपत्तिबाट क्षतिग्रस्त संरचनालाई पुरानै स्वरुपमा फर्काउने कार्यका लागि तत्काल प्रयोग गरिने जानकारी गराइन्छ । नेपाल सरकार एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रोतहरुबाट राहतका लागि प्राप्त हुने रकम नितान्त दैवी प्रकोपवाट प्रभावितहरुलाई राहत प्रदान गर्ने कार्यका लागि मात्र यो कोषमा रकम जम्मा गरिन्छ । यो कोषमा जम्मा भएको रकमले कर्मचारीहरुलाई तलव भत्ता र सुविधा प्रदान गर्ने एवं अन्य दान, सहयोग दिने कार्यमा खर्च गर्न नपाउने कानूनी प्रावधान छ । यो कोषको संचालन तथा व्यवस्थापन केन्द्रीय तहमा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष संयोजक रहेको एवं नेपाल सरकारका विभिन्न आठ मन्त्रालयहरुका सचिवहरु रहेको समितिले गर्ने व्यहोरा जानकारी गराइन्छ भन्ने जानकारी दिँदै दूतावासकाे प्रेस विज्ञप्ति अगाडि बढेकाे छ ।
यस नियोगमा रहेको संयुक्त अधिराज्य र नियोग सहप्रमाणिकरण भएको देश आयरल्याण्ड, यस नियोगले हेर्ने माल्टा र आइसल्याण्डका विभिन्न भागमा रहनु भएका नेपालीहरु तथा विभिन्न सामाजिक संघसंस्थाहरु र नेपालप्रति माया र सद्भाव राख्नु हुने व्रिटिश तथा अन्य विदेशी मित्रहरुले स्वस्फूर्त रुपमा विनासकारी भूकम्पमा पर्ने तथा प्रभावित नेपालीहरुलाई सहयोग उपलव्ध गराउन दूतावासले गरेको पूर्व अनुरोधवमोजिम देखाउनु भएको तत्परता तथा उत्साहको यस दूतावास हार्दिक आभार व्यक्त गर्दछ । यस महाविनासकारी भुकम्पका कारण नेपालमा आएको विपत्तिको यस दुःखद घडिमा तपाईहरुले स्वयं यस दूतावासमा आई वा यस दूतावासले खोलेको Earthquake Relief Fund मा सिधै आर्थिक सहयोग गर्नु भएको छ, वहांहरुलाई सहयोग रकमको भर्पाइ लिनसमेत अनुरोध गरिन्छ । तसर्थ, हाम्रो मातृभूमि नेपाल अहिले गम्भीर विपतको अवस्थामा रहेकोले संयुक्त अधिराज्य र नियोग सहप्रमाणिकरण भएको देश आयरल्याण्ड, यस नियोगले हेर्ने माल्टा र आइसल्याण्डका विभिन्न भागमा संकलित रकम पनि सही सदुपयोगको लागि सीधै Prime Minister’s Disaster Relief Fund मा वा यस दूतावासको NatWest Bank, Notting Hill Gate Branch, Account No:05537339, Sort Code: 60-15-33 मा रकम जम्मा गरी सो को जानकारी यस दूतावासलाई दिनु हुन सम्वन्धित सवैलाई हार्दिक अनुरोध गरिन्छ । तपाईहरुले गर्नु भएको सहयोग रकम सही सदुपयोग, समुचित तथा पारदर्शीरुपमा भूकम्प पिडितहरुलाई उद्धार, राहत, पुर्नस्थापना तथा पुनःनिर्माण लगायतमा उपयोग गर्न नेपाल सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minisiter’s Disaster Relief Fund) मा पठाइने छ ।
साथै, आजसम्म नेपाली राजदूतावास, लण्डनको Earthquake Relief Fund को खातामा ब्रिटिश पौण्ड ६५,४८६।०५ जम्मा भइसकेको छ । आर्थिक सहयोग गर्ने व्यक्ति तथा संघ संस्थाहरुमा NatWest Bank, Britain Nepal Society, श्री पशुपती भण्डारी Everest Inn Group & Staff, Surya Gurung, Bijay Thapa, Slough Nepalese Society, Sagoo and Takhar, Surinder Nath Sagar, Society of Highly Skilled,UK, Nepalese Women’s Association, Aldershot and Farnborough Muslim Education Society, Hydroplan, Redbridge Indian Welfare Association Charity, MCGEE GROUP LTD, Anjuman UL Muslameen Limited A Charity, The Hindu Temple Trust, Southall, Kashi Radio, Mile End Bengali Muslim Community, South Chelsea Collage लगायतले रकम जम्मा गर्नु भएको छ । विस्तृत जानकारीका लागि दूतावासको website: www.nepaliembassyuk.com मा हेर्न सकिने छ । यसै बीच, Nepalese Catering Assostiation, UK ले वेलायतमा रहेका नेपाली रेष्टुरेन्ट व्यवसायीहरुलाई च्यारिटी कार्यक्रम आयोजना गरी एक दिनको आम्दानी भुकम्प पीडितहरुको सहयोगमा समर्पित हुन आह्वान गरेको छ । साथै, दूतावासमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले आफुले पाउने तलव, भत्ताको १५ प्रतिशतका दरले जम्मा गर्ने समेत निर्णय भएको छ ।
प्रतिक्रिया