विश्वभरका नेपाली प्रतिभाहरु सहभागीहरुको सबैभन्दा ठूलो नेपाली गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स-सिजन २’ को प्रसारण बिहीबार (१८ वैशाख)देखि सुरु भएको छ ।
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पनामा तयार गरिएको ‘मेरो भ्वाइस युनिभर्स’मा विश्वका २३ देशका नेपाली गायकगायिकाहरुले फाइनल प्रतिष्पर्धा गर्दैछन् । नेपालसमेत विश्वका १३ मुलुकमा अडिसनहरु समापन गरी काठमाडौंको एए स्टुडियोमा फाइनल राउण्डका प्रतिष्पर्धाहरु गराइएको छ । फाइनल राउण्डका ३२ एपिसोडहरुमध्ये वैशाख १८ गते साँझ ८ बजेको समाचारपछि पहिलो भाग प्रसारण भएको हो ।
नेपाल टेलिभिजनका अनुसार, अब मेरो भ्वाइस युनिभर्स हरेक हप्ता बिहीबार र शुक्रबार राति ८ बजेको समाचारपछि नियमितरुपमा प्रसारण हुनेछ ।
यो प्रतिष्पर्धामा भाग लिन विश्वभरबाट छनौट भई नेपाल आइपुगेका प्रतिभाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा निमन्त्रणा गरी शुभकामना दिँदै नेपाली संस्कृतिको दूतका रुपमा काम गर्न आग्रह गरेका छन् । संसारभरका नेपाली मूलका नेपालीहरुलाई नेपाली संस्कृतिको माध्यमबाट नेपालसंग जोड्ने अभियानका रुपमा इन्ट्रा फाउण्डेसनले मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स नामका दुई रियालिटी शोहरुको आयोजना गर्दै आएको छ ।
मेरो भ्वाइस युनिभर्सको निर्देशकमा विशाल अर्याल र विशाल भण्डारी छन् भने निर्णायकहरुमा वरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायक शिव परियार, गायिका अन्जु पन्त, गायिका लावनी चक्रवर्ती प्रसाईं र गायक एवं संगीतकार कर्मा ग्लाल्जेन रहेका छन् । यो शोमा प्रस्तोताका रुपमा रिमा विश्वकर्मा र राजा राजेन्द्र पोखरेल छन् ।
प्रतिक्रिया