(इतिहास)
बलभद्रलाई एक वीर योद्धाका रूपमा लाहोरमा स्वागत गरेका शेर-ए-पंजाव रणजित सिंहकी रानी जिन्द कौरलाई नेपालमा स्वागत गर्ने अवसर तिनै बलभद्र कुँवरका भतिजा जङ्गबहादुरले पाएका थिए । यसरी आफ्ना काका बलभद्र कुँवरका अन्नदाता रणजित सिंहकी रानी जिन्द कौरलाई शरण दिएर जङ्गले काकाको ऋण चुक्ता गरेका थिए ।
✍ सुनिल उलक
आजको ठिक १७६ वर्षअगाडि शेर-ए-पञ्जाव रणजीत सिंहकी विधवा रानी जिन्द कौरलाई श्री ३ जङ्गबहादुरले काठमाडौंमा शरण दिएका थिए । साथै, १६४ वर्षअगाडि रानीलाई नेपालबाट बिदाइसमेत गरेका थिए । पञ्जावकी महारानीले १२ वर्ष नेपालमा ‘रामचन्द्रको वनवास’ जस्तै गरी शरणार्थी जीवन बिताएकी थिइन् ।
शक्तिशाली शेर-ए-पञ्जावका रूपमा चर्चा कमाएका रणजीत सिंहको निधनपछि वि.सं. १९०० असोज ४ (१८ सेप्टेम्वर १८४३) मा महाराज दलिप सिंहको राज्याभिषेक भएको थियो । यसको साथै प्रधानमन्त्रीमा राजा हिरा सिंह बने । केही समयपछि हिरा सिंहले महाराज दलिप सिंह र जिन्द कौरको हत्या गर्ने षडयन्त्र गरेको थाहा पाएपछि राजा हिरा सिंहको नै हत्या गरिएको थियो । हिरा सिंहको हत्यापछि छोरा दलिप सिंहको अख्तियारीमा जिन्द कौरले नै शासन चलाउन थालेकी थिइन् । अंग्रेजसँग कहिल्यै नझुकेका महाराजा रणजीत सिंहको निधनपछि पञ्जावमा अंग्रेजले आँखा गाड्न शुरु गरिसकेका थिए । साना–साना राज्य सबै अंग्रेजको अधीनमा आएपनि पञ्जावलाई लिन सकेको थिएन ।
वि.सं. १९०५ मा पञ्जाव र अंग्रेज सरकारको युद्ध भयो । विभिन्न षडयन्त्र गर्दै वि.सं. १९०५ को चैतमा पञ्जावमा पनि अंग्रेजको राज रह्यो । यसपछि अंग्रेजले राजा दलिप सिंहलाई बेलायत पठाए भने रानी जिन्द कौरलाई कैद गरेर नजरबन्दमा राखे । विभिन्न जेलमा सार्दै अन्तमा चुनारको किलामा कैदी बनाएर राखे । चुनारको किलामा कैद रहेकी जिन्द कौरले एकदिन किलामा सफाइ गर्न आउने एउटी मजदूर महिलाको पुरानो खादीको सारी लगाएर भेष बदली किलाबाट भाग्न सफल भइन् । किलाबाट बाहिरिएपछि उनी जोगिनीको भेष लिएर लामो गुमनाम यात्रामा निस्किइन् । उनका साथ जोगीकै भेषमा उनका खाल्सा जवानहरू पनि रहेका थिए ।
दरबारमा रहँदा नै उनले गुरू नानकको हिमालय यात्राका कथाहरू सुन्दैआएकी थिइन् । साथै नेपालका दयालु राजाले निमन्त्रण गरेर रहने ब्यवस्थासमेत मिलाइदिएको उनले सुनेकी थिइन् । अन्जान यात्रामा निस्केकी रानी जिन्द कौरको मस्तिष्कमा गुरू नानकको आदेश प्राप्त भयो । नेपालमा यात्रा गरेमा सुरक्षित रहने सोच्दै नेपाल जान अगाडि बडिन् । तर नेपालका श्री ३ जङ्गबहादुर अंग्रेजनिकट हुँदा डर पनि बनेको थियो । सुरक्षित र गोप्य यात्राको बारेमा सोच्दै गर्दा भारतबाट पशुपतिनाथका दर्शनका लागि जोगीहरूको यात्रा भइरहने चाल पाइन् । त्यस्तै पशुपतिनाथ दर्शन गर्ने जोगीहरूको भिडमा रानी जिन्द कौरले पनि पशुपतिनाथको यात्रा गर्ने मनसाय बनाएर निस्किइन् ।
जिन्द कौरको गुमनाम यात्रा पशुपतिनाथतर्फ रहे पनि उनका छोरा दलिप सिंहलाई भने अंग्रेजले बेलायत लगेका थिए । त्यहाँ उनी बेलायतीसरह रहन थाले । जोगिनीको भेषमा नेपाल प्रवेश गरेकी जिन्द कौर त्यतिबेलाको भिक्षाखोरी (अमलेखगञ्ज) हुँदै काठमाडौ प्रवेश गरिन् । काठमाडौ उनको लागि अन्जान शहर थियो । काठमाडौ पुगेपछि तत्कालिन समयका प्रधानमन्त्री जङ्गबहादुरसँग शरणका लागि अनुरोध गरिन् । नेपालमा अंग्रेजका जासुसहरू मनग्गे थिए । कुनैपनि बेला समातेर भारत लग्ने सम्भावना थियो । जङ्गबहादुरसँग शरण मागेपछि जङ्गले तत्कालै सैनिकहरू पठाएर पूर्ण सुरक्षा दिँदै उनको उद्दार गरि काठमाडौ ल्याएर वि.सं. १९०६ वैशाख २१ गते चौतरिया पुष्कर शाहका छोरा अमरविक्रम शाहको घरमा राखे ।
नारायणहिटी दरबारनजिकै रहेको अमरविक्रम शाहको घर रानी जिन्द कौरका लागि सुरक्षित स्थल थियो । मासिक २५०० रूपैयाँसमेतको ब्यवस्था गरिदिएका जंगबहादुरले पछि रानी जिन्द कौरका लागि घर नै बनाइदिए । घरको माथि चारवटा बुर्जा राखिएकोले यस घरलाई चारबुर्जा महल पनि भन्न थालिएको थियो । जङ्गबहादुरले रानी जिन्द कौरलाई मात्र शरण दिएका नभइ उनलाई सुरक्षित काठमाडौसम्म पुऱ्याउन मद्दत गर्ने खालसा सैनिकहरूलाई पनि नेपालमा बस्ने ब्यवस्था मिलाइदिएका थिए । जङ्गबहादुरले नै बसाएको नयाँ शहर नेपालगञ्ज भारतीय सीमानजिकै एक गाउँ नै ती खालसा सैनिकहरूका लागि दिए । त्यो गाउँको नाम नै सिखनपुरा राखियो । अहिले पनि सिखनपुरामा १७६ वर्षअगाडि नेपाल पसेका खालसा सैनिकहरूका सन्ततिहरूको बसोबास रहेको छ । सिधै शेर-ए-पञ्जावसँग आबद्ध रहेका ती खालसा सैनिकहरूका बंशज आज पनि कट्टर सिख धर्मका आचरणहरू पूरा गरिरहेका छन् ।
बलभद्रलाई एक वीर योद्धाका रूपमा लाहोरमा स्वागत गरेका शेर-ए-पंजाव रणजित सिंहकी रानी जिन्द कौरलाई नेपालमा स्वागत गर्ने अवसर तिनै बलभद्र कुँवरका भतिजा जङ्गबहादुरले पाएका थिए । यसरी आफ्ना काका बलभद्र कुँवरका अन्नदाता रणजित सिंहकी रानी जिन्द कौरलाई शरण दिएर जङ्गले काकाको ऋण चुक्ता गरेका थिए ।
अंग्रेज सरकारले त्यसबेला जंगबहादुरलाई महारानीको सुपुर्दगी गर्न अनुरोध गर्दा जंगले भनेका थिए- हाम्रो धर्म शरणमा आएकाहरूको रक्षा गर्नु हो, तसर्थ शरणको मरण गर्नु हुँदैन ।’ यसो भन्दै जङ्गले अंग्रेज सरकारको अनुरोध अस्विकार गरेका थिए ।
वि.सं. १९१८ मा नेपाल छोडेर बेलायत फर्कने बेला सो महल रानी जिन्द कौरले एक ब्राम्हणलाई दान दिएर गए । ब्राम्हणलाई दान दिएको खोस्नु हुँदैन भनेर ब्राम्हणबाट जंगबहादुरले किनेर फिर्ता लिए । थापाथलीको सो घर पछि जङ्गबहादुरले काशी बाईलाई दिए ।
जङ्गबहादुरले पञ्जावका महाराजा रणजीत सिंहको रानी जिंद कौरलाई बहिनीको रूपमा सम्मानित रुपमा राखेको हुँदा सिखहरूले काठमाडौलाई मामाघर र नेपालीहरूलाई मामाको रुपमा सम्मान गर्दथे ।
जिन्द कौरले बारम्बार अंग्रेज सरकारसँग छोरासँग भेट्न अनुमति माग्दा पनि अवसर पाइनन् । अन्ततः काश्मिरमा रहेका सिख योद्धा भाइ महाराज सिंहसँग उनको सम्पर्क भयो । भाइ महाराज सिंह अंग्रेजको कट्टर विरोधि भएको हुँदा उनबाट सहयोग पाउने अपेक्षा रानीले गरेकी थिइन् । भारतमा रहेका खालसा सैनिकहरूसँग रानीको निरन्तर गोप्य सम्पर्क भइरहेको थियो । गोप्य रूपमा नेपाल पस्दै गरेका ६ खालसा सैनिकहरूलाई नेपाल सीमानजिकै अंग्रेज सरकारले समातेपछि जङ्गबहादुरलाई रानीमाथि विशेष निगरानी राख्न अनुरोधसमेत गरेका थिए । जङ्गले ब्रिटिस रेसिडेन्टलाई रानीले खालसा सैनिकका लागि रू २००० सहयोग पठाउँदा यस कार्यमा रोक लगाउँदा रानीसँग सम्बन्ध केही बिग्रिएको जानकारी समेत दिएका थिए ।
रानीले भारतमा सम्पर्क गर्ने क्रममा काश्मिरका राजा गुलाव सिंहबाट गोप्य पत्रसमेत पाएकी थिइन् । जसले गर्दा केही गरी काश्मिर पुग्न सकेमा सुरक्षित रहने ब्यवस्था मिलाउने जानकारीसमेत दिएका थिए । यसरी विभिन्न सम्पर्क गरिरहेका उनलाई यदि भारतीय भूमिमा समातिए अझ कठोर कारावासमा राख्नसकिने हुँदा भारत नजान आग्रहसमेत गरिएको थियो ।
अंग्रेज सरकारको बारम्बारको दबाबका कारण जङ्ग पनि रानी जिन्द कौरप्रति केही कठोर बन्दै गएका थिए । जङ्गले उनका निकट सहयोगीलाई काठमाडौंबाट निष्काशन गरे । साथै उनको महलमा रहँदै आएका सम्पूर्ण नेपाली कर्मचारी पनि हटाइदिए । र, थापाथली दरबारमा नै रहनसमेत अनुरोध गरे । तर, रानीले जङ्गको प्रस्ताव अस्विकार गरिन् । उता बेलायतमा रहेका छोरा दलिप सिंहसँग पनि उनको गोप्य सम्पर्क भएको थियो । छोरासँग बेलायतमा बस्नसमेत इच्छा ब्यक्त गरेकी थिइन् । छोरा दिलिप सिंहले आमालाई आफू लाचार भइ केही गर्न नसक्ने भन्दै लेखेको प्रत्युत्तर पत्र काठमाडौंमा रहेको ब्रिटिस रेसिडेन्टको हात परेको थियो ।
वि.सं. १९१७ को अन्तमा दलीप सिंहलाई अंग्रेज सरकारले भारत फिर्ता आउन अनुमति दिए, तर पंजाव जान नपाउने भनियो । त्यतिबेलासम्म जिन्द कौर पनि वृद्ध भइसकेकी थिइन् । तसर्थ जिन्द कौरलाई पनि नेपालबाट भारत प्रवेश गर्न छुट दिए । अन्ततः नेपाल प्रवासको १२ वर्षपछि वि.सं. १९१८ को वैशाखमा रानी जिन्द कौरले थापाथली दरबारनजिकै उनका लागि बनाइदिएको चारबुर्जा दरबार एक ब्राम्हणलाई दान दिएर जङ्गबहादुरसँग बिदाइ लिँदै कलकत्ताका लागि हिँडिन् । कलकत्ता बन्दरगाहनजिकै आमा-छोराको भेट भयो । जिन्द कौर र दलिप सिंह लण्डन गए । लण्डन गएको दुई वर्षपछि वि.सं. १९२० साउन २० गते बेलायतको केंसिंगटनमा महारानी जिन्द कौरको देहावसान भयो ।
प्रतिक्रिया