१३ औ गोर्खा कपको तयारी पूरा

१३ औ गोर्खा कपको तयारी पूरा


IMG_1151बेलायत । मे १७ तारीख तमू धिं यूकेले २००२ देखि प्रत्येक वर्ष आयोजना गर्दै आएको यो १३ औं गोर्खा कप फुटवल प्रतियोगिताको तयारी पूर्ण भएको कुरा हिजो एक पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । आयोजकका अनुसार यसपाली विगतमा भएका कमीकमजोरी प्रति पूर्ण सतर्कता छ । हुन त अब तमू धिं यूकेसंग विगतका १२ वटा अनुभवले गर्दा सुधार गर्नु पर्ने र बेलाबखतमा के कस्ता कमीकमजोरी हुन सक्छन् भन्ने ज्ञान भएकोले आशा गरिएको छ कि कुनै दुर्घटना हुने छैन र उपस्थित सबैले रमाइलो भेटघाट र मनोरञ्जन गर्न पाउनेछन् ।
आगामी २४ गते आइतवार अल्डरशट आर्मी क्यामको क्वीन्स एभिन्युको ठूलो घाँसे मैदानमा हुने यो खेलको संयोजकमा क्यापटेन पिताम्वर गुरुङ्ग र सहसंयोजकमा रिटायर्ड लेफ्टिनेण्ट कुसाङ गुरुङ्ग रहेका छन् । यी दुबैसँग खेल क्षेत्र र समूह परिचालनको लामो अनुभव छ, त्यसैले पनि कार्यक्रम सफल नहुनेमा कुनै शंका लिनु पर्दैन भनिएको छ । आयोजकले जानकारी गराए अनुसार यस पटक जम्मा ४० टिम सहभागी हुनेछन् र जसमा एक टिम पोर्चुगलको पनि छ । तर के कारणले सधैं सहभागी हुने वेल्जियमको टिमको सहभागीता भने देखिएकाछैनन् । ४० मध्ये ३२ युवा टिम र ८ वटा भेट्रान टिम छन् ।
बेलायतवासी नेपालीले खेल हेर्नभन्दा पनि आफ्ना आफन्त र साथी भाइलाई भेट्न पाउने हुंदा यसलाई एउटा चाडको रुपमा बढी लिने गरिएको लाग्दछ किनकि विगतदेखि नै यहाँ विभिन्न किसिमका खानाका परिकारदेखि लिएर अन्य कुराका व्यापारिक स्टल पनि राखिएका हुन्छन् र यसपालि पनि कम्तीमा ६ वटा खानाका स्टल र २२ भन्दा बढी व्यापारिक र च्यारिटि संस्थाका स्टलहरु रहने छन् । मेलालाई आकर्षक बनाउन यसपालि पनि मुख्य कपलाई अल्डरशट ग्यारीएशनका चिफ अफ स्टाफ मेजर रुद्र बहादुर खड्काको कमाण्डमा प्यारासुटबाट ल्याई मंचमा सजाइने छ ।
IMG_1157यसपालिको खेल विशेष गोर्खालीहरुबाट बेलायती सेनामा आवघ्द भएको दुई सयौ वर्षगांठ मनाउने सिलसिलामा जोडिएको छ र यसबाट आर्जन भएको रकमको केही अंश भूकम्प पीडित नेपालीको लागि पनि खर्चिने आयोजकले जनाएका छन् । सो उद्देश्य परिपूर्तिका लागि मैदानमा प्रवेशका लागि प्रतिव्यक्ति एक पाउण्ड र प्रतिकार पांच पाउण्ड शुल्क तोकिएको छ र प्रत्येक टिकटमा एउटा रिष्ट वेण्ड दिइन्छ । मेलाका अन्य आकर्षणमा नौमती बाजा, प्रहरी टिम, एम्बुलेन्स, आदि छन् । सुरक्षालाई ध्यानमा राख्दै यस पटक एभरेष्ट सेक्युरिटिबाट ५० जना सुरक्षाकर्मी र २०० भन्दा बढी स्वयं सेवकको व्यवस्था गरिएको छ । यस कार्यक्रमका प्रमुख अतिथिमा रसमुर वरोका काउन्सिलर मेयर विएन वेडफोर्ड रहनेछन् । उक्त दिन कार्यक्रममा सहभागी हुने आमन्त्त्रित संचारक्रर्मीका लागि प्रवेशव्दारमा पासको व्यवस्था हुने छ ।