(इतिहास)
प्रधानमन्त्री मोहन शमशेरपछि बिपी बसेको देखेपछि बबर शमशेर रिसले चुर भए । उनले बिपी बसेको कुर्चीमा खुट्टाले हान्दै दोश्रोमा आफू बस्ने अडान लिए । प्रधानमन्त्री मोहनशमशेरले भाइलाई सम्झाउँदै दोश्रोमा बिपी नै बस्ने हो, तेश्रोमा तिमी बस्नु भने । उनलाई बैठकमा बिपीभन्दा पछि बस्न मनले मानेन । बरु रक्षामन्त्रीको पद नै छोड्ने निधो गरे ।
✍ सुनिल उलक

प्रस्तुत तस्बिर हो बबर शम्शेर परिवारको, बबरको साथमा सानो बाल शमशेर र आफ्नी रानी ! ६५ वर्षअगाडि बबर शमशेरको निधन भएको थियो । अलिक झोक्की स्वभावका बबरशम्शेर राणाशासन समाप्तिपछि बनेको पहिलो मन्त्रिपरिषदमा रक्षामन्त्री बनाइएका थिए । यदि २००७ सालमा राणाशासन समाप्त नभएर केही समय अझै रहेको भए रोलक्रमअनुसार बबर शमशेर ‘श्री ३’ बन्थे ।
राणाकालका अन्तिम कमान्डर इन चिफ थिए, बबर शमशेर । नेपाली कांग्रेसको नेतृत्वमा भएको राणाविरोधी आन्दोलनको सफलतासँगै १०४ वर्ष लामो राणाशासन मात्र समाप्त भएन, श्री ३ बन्ने रोलक्रममा प्रतीक्षा गरेर बसेका बबर शमशेरको सपना पनि सदाका लागि समाप्त भयो । तथापि, उनमा राणाशासन फर्काउने चाह थियो, र श्री ३ बन्ने दुःस्वप्न पनि । राणासमर्थकहरूको समुह जम्मा गरेर राणाशासन फर्काउने ध्येयस्वरूप नै त्यतिबेला भरतशमशेर खुकुरी दलको नेतृत्व गरिरहेका थिए ।
वीर शमशेरले आफ्ना ठूलो बुबा रणोद्वीपको हत्या गरि सत्तामा पुगेको दुई वर्षपछि वि.सं. १९४४ माघ १५ गते बबर शमशेरको जन्म भएको थियो । चन्द्रशमशेरको माहिलो छोराको रुपमा जन्म भएका बबर शमशेरका लागि बुबा चन्द्र शमशेरले आफू श्री ३ भएको समयमा सिंहदरबारको दक्षिणमा दरबार बनाइदिएर बबरमहल नामाकरण गरिदिएका थिए ।
राणाशासनको समाप्तिपछि राणा र कांग्रेसको संयुक्त सरकार बन्यो । दिल्लीमा भएको सम्झौताअनुरुप प्रधानमन्त्री राणाशासका श्री ३ मोहन शमशेर नै प्रधानमन्त्री बनिरहे । वरियताक्रममा प्रधानमन्त्रीपछि दोश्रो स्थानमा गृहमन्त्री कांग्रेसका नेता बिपी कोइराला रहे । वरियताक्रमको तेश्रोमा रक्षामन्त्रीका रुपमा रहेका बबर शमशेर रहे । पहिलो मन्त्रिपरिषदको बैठक बस्ने भयो । बैठकमा मन्त्रीहरू वरियताक्रमअनुसार लहरै बस्ने भयो । प्रधानमन्त्रीपछि गृहमन्त्री बिपी बसेका थिए । केही ढिला गरी पुगेका बबर शमशेरले दाजु प्रधानमन्त्री मोहन शमशेरपछि बिपी बसेको देखेपछि रिसले चुर भए । उनले बिपी बसेको कुर्चीमा खुट्टाले हान्दै दोश्रोमा आफू बस्ने अडान लिए । बिपीले विवादलाई गम्भिर नबनाउने ध्येयले बबर शमशेरका लागि कुर्ची छोडिदिए । बैठकपछि प्रधानमन्त्री मोहनशमशेरले भाइलाई सम्झाउँदै दोश्रोमा बिपी नै बस्ने हो, तेश्रोमा तिमी बस्नु भने । उनलाई अब हुने बैठकमा बिपीभन्दा पछि बस्न मनले मानेन । बरु रक्षामन्त्रीको पद नै छोड्ने निधो गरे ।
अन्ततः २००८ जेठ २७ गते बबर शमशेरले मन्त्रिपरिषदबाट राजिनामा दिए । राजीनामापछि उनले सम्हाल्दै आएको रक्षा मन्त्रालय मोहन शमशेरले नै लिए भने उनको स्थानमा राणाहरूबाट सिंहशमशेरलाई ल्याइयो र उनलाई वन मन्त्रालयको पदभार सुम्पियो ।
मन्त्रिपरिषदबाट राजिनामा दिएका बबर शमशेरले भने केवल मन्त्रिपरिषद मात्र छोडेनन्, उनले देश नै छोड्ने निधो गरे । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुलाई विशेष अनुरोध गरेर विशेष विमान चार्टर्ड गरी सो जहाजमा कुनै किसिमको चेकजाँच नगर्नेगरी सपरिवार धनसम्पति हिरामोती, जवाहरात बोकेर बैंगलोरतर्फ गएका थिए । त्योबेला बबर शमशेरका साथ स-साना नाति-नातिनीहरू पनि संगै बेंगलोर गएका थिए । त्यतिबेला बबर शमशेर तथा उनका परिवारले कांग्रेसलाई सबैभन्दा ठूलो दुश्मन नै मानेका थिए ।
चन्द्रशम्शेरका माहिला छोरा बबरशम्शेरलाई पोखरेलीले पनि सम्झनुपर्ने आवश्यकता छ । उनले नै पोखरामा सार्वजनिक कलधारा स्थापना गरेर बस्ती विकासको लागि महत्वपूर्ण योगदान गरेका थिए ।
वि.सं. १९७७ मा बेलायतबाट मगाइएका आधुनिक कलधारा पोखराका प्रमुख १४ स्थानमा जडान गरेका थिए । यी धाराका पानीको श्रोत पोखराको पश्चिममा मुलको पानीलाई जम्मा गरेर तीनवटा पानीको टंकी बनाइ वितरण गरिएको थियो । धाराको पानी जम्मा गरिएको स्थानको नाम नै पछि धारापानी रह्यो ।
वि.सं. १९६२ मा जन्मिएका जेठो छोरा बालशम्शेरको केवल १४ वर्षको उमेरमा असामयिक निधन भएपछि उनकै सम्झनामा पोखरामा बालधारा जडान गरिएको थियो । प्रस्तुत तस्बिरमा बुबा बबर शमशेर र आमाका साथ बायाँतर्फ उभिएका तिनै बालशम्शेर हुन् ।
देशमा प्रजातन्त्र आएपश्चात केही समयपछि नै भारतको बंगलोरमा पलायन भएका बबरशम्शेर केही वर्षको भारत प्रवासपछि नेपाल फर्केका थिए । उनको २०१७ बैशाख ३० गते बबरमहलमा नै निधन भएको थियो ।
प्रतिक्रिया