भारतीय अभिनेत्री नोरा फतेही नेपालमा

भारतीय अभिनेत्री नोरा फतेही नेपालमा


भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेहीले नेपाल र नेपालीबाट आफूले माया पाइरहेको बताएकी छन् । शनिबार (३ जेठ) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालमा आएर प्रस्तुति दिन पाउँदा उत्साहित भएको प्रतिक्रिया दिइन् ।

‘म नेपालीलाई भेट्न उत्साहित छु । हामीले आफ्नो तयारी गरिसकेका छौँ, नेपालीलाई प्रत्यक्ष भेटेर मनोरञ्जन दिने उद्देश्यले म नेपाल आइपुगेकी हुँ । यो मेरो पहिलो नेपाल भ्रमण हो’, अभिनेत्री फतेहीले भनिन् । उनले नेपालको आतिथ्य र सहयोगी भावना प्रशंसनीय रहेको पनि बताइन् । फतेही संयुक्त अरब इमिरेट्सबाट फ्लाई दुबईमार्फत नेपाल आएकी हुन् ।

फतेहीको नृत्य टोलीमा रहेका अन्य २३ सदस्य शुक्रबार नै नेपाल आइसकेका छन् । उनले तारागाउँस्थित ह्यात चौरमा ‘नोरा फतेही लाइभ इन नेपाल’ नामक कार्यक्रम प्रस्तुति दिँदैछिन् ।

शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युुमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेहीलाई नेपाल ल्याइएको वर्ल्डवाइड फिल्मस् नेटवर्क प्रालिका मनिष कार्कीले जानकारी दिए ।

अभिनेत्री फतेहीको ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ लगायतका गीत भारतसँगै नेपालमा पनि लोकप्रिय छन् । आयोजक कार्कीका अनुसार अभिनेत्री फतेही आइतबार बिहान भारत फर्किंदैछिन् ।