एक महिला यात्रुलाई लागुऔषध खुवाएर बलात्कार गरेको आशङ्कामा जापानी प्रहरीले एक पूर्व ट्याक्सीचालकलाई पक्राउ गरेको छ । मिडिया रिपोर्टहरूले दर्जनौँ थप पीडित हुन सक्ने बताएका छन् ।
प्रहरीले उनको ट्याक्सी वा उनको घरमा करिब ५० जना महिलालाई यौन दुर्व्यवहार गरेको करिब तीन हजार भिडियो र तस्बिर फेला पारेको योमियुरी सिम्बुन दैनिक र जिजी प्रेसले रिपोर्ट गरेका छन् ।
‘गत वर्ष ती व्यक्तिले २० वर्षकी एउटी महिलालाई निद्राको गोली खान लगाए, जसले गर्दा उनी बेहोस भइन्, उनलाई आफ्नो घरमा लिएर गए र अभद्र कार्य गरे, जसलाई उनले फिल्म बनाएका थिए’, टोकियो प्रहरीका प्रवक्ताले भने ।
प्रहरीले बुधबार ५४ वर्षीय ती व्यक्तिलाई ‘सहमतिविहीन यौन सम्पर्क र यौन अङ्गको छायाङ्कनको सजायसम्बन्धी कानूनको उल्लङ्घन’को आशङ्कामा पक्राउ गरेको थप विवरण नदिइ प्रवक्ताले जनाएका छन् ।
मिडिया रिपोर्टहरूका अनुसार उनको कपालमा निद्राको चक्कीका निशानहरू फेलापरेका थिए । रिपोर्टहरूका अनुसार ती व्यक्तिको फोन र अन्य उपकरणहरूमा बरामद गरिएका फुटेजहरू सन् २००८ देखिका थिए । ती व्यक्तिलाई गत अक्टोबरमा अर्की महिलालाई लागुऔषध खुवाएर उनको ४० हजार येन (दुई सय ८० डलर) लुटेको आशङ्कामा पक्राउ गरिएको पनि मिडियाले बताएका छन् ।
कथित अभद्र आक्रमणको आरोपमा डिसेम्बरमा फेरि हिरासतमा लिनुअघि उनलाई पछि रिहा गरिएको थियो ।
प्रतिक्रिया