ए गणतन्त्र !

ए गणतन्त्र !


ए गणतन्त्र
तँलाई हामीले काँधमा बोक्यौँ
फूल-अक्षताले पर्सियौँ
जलको अभिषेक गऱ्यौं
घर-घरमा तामाका घडा भऱ्यौं
भुटन सिध्याएर दीपावली गऱ्यौं
तेरो आगमनार्थ जेलसमेत भऱ्यौं
अराष्ट्रिय तत्वसमेत ठहऱ्यौ
झ्याखाना र प्रवासतिर सऱ्यौं

गणतन्त्र !
तँ भित्रिएपछि के के न हुन्छ ठान्यौं
मानिआएका सबैलाई लात हान्यौं
तेरो वकालत गर्नेसँग मितेरी लायौं
कहिले आधापेट त कहिले भोकै रह्यौं
तेरो रुप हेर्न हामी अन्धा नै भयौं
तँ कत्तिको कालो कपटी छस् भेउ पाएनौं

गणतन्त्र !
तँ आइस् तर के के खाएर आइस् ?
के के पाउने आशामा आइस् ?
तेरो छद्मरुप समेत लुकाइस्
हामीलाई तेरो भजन भुकाइस्
अहिले निचोडमा लोप्पा ख्वाइस्
तँ अधर्मी अपराधी समेत ठहरिस्

गणतन्त्र !
तैंले हाम्रा होनहार युवा बेचिस्
एक्लै अपच हुनेगरी घिचिस्
चेलिबेटीको अस्मिता लुटिस्
आमाको काखसमेत खोसिस्
सधुवाको सिउँदो लुटिस्
संस्कार संकृति पनि छिनिस्
आज परचक्रिको इशारामा हिँडिस्
आज हाम्रो सारा अपनत्व भयो ‘फिनिस्’ !

गणतन्त्र !
तँ यत्तिको कुलंगार थिइस् त..
हामीलाई यतिबिघ्न झुक्याइस्
तीन करोड नेपालीलाई मुक्याइस्
धर्म संकृति संस्कार सबै खाइस्
जनताको छाला कपडा लाइस्
प्यारो देश आज परदेश बनाइस्
भाषा भेषभुसा सबै तैंले खाइस्
हराभरा देश मरुभूमि बनाइस्
तँ यत्ति चाँडै कुहिइस्-सडिस्
डुङ्डुङ्ती गलिस्-गन्हाइस्
हामीलाई ब्यर्थै पिछलग्गु बनाइस्
अगुवाहरूलाई विदेशी दलाल भनाइस् !

गणतन्त्र !
जनता तेरो मुख हेर्न मान्दैनन्
तँलाई कहिल्यै आफ्नो ठान्दैनन्
तेरो भरमा आफ्नोलाई लात हान्दैनन्
तँ मरिस् भनेपनि आँसु झार्दैनन्
तँ मशानघाटमा भट्किरहन्छस्
र, भन्नेछस्- जैसा करनी वैसा भरनी !