‘सुध्रिएनन् विमानस्थल अध्यागमनका कर्मचारी‘
‘भिजिट भिसा’ प्रकरणले यतिबेला मुलुकको राजनीति तताएको छ । सो प्रकरणमा अनियमितताको आरोप लागेका त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालिन प्रमुख तीर्थराज भट्टराईलगायतका आठ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नुपर्ने भन्दै विपक्षी राजनीतिक दलहरूले सदन समेत अवरुद्ध गर्दै आएका छन् । तीर्थराज भट्टराई अनुसन्धानमा तानिएपछि इमिग्रेसन अफिस प्रमुखको जिम्मेवारीमा सहसचिव विष्णुप्रसाद कोइरालालाई खटाइएको छ ।
यसरी ‘भिजिट भिसा’ प्रकरणले देशको राजनीति नै तताइरहेको बेला विमानस्थलमा हुने ‘सेटिङ’ एवम् अवैधानिक असुली रोकिएको होला भन्ने जो-कसैलाई लाग्न सक्छ । तर, विभागीय मन्त्रीलाई विवादमा पारेर धन्दा चलाउँदै आएका विमानस्थलका कर्मचारीहरूको रवैया उस्ताको उस्तै रहेको प्रमाण फेलापरेको छ ।
‘ढुङ्ग्रामा राखेर कुकुरको पुच्छर सोझो नभएजस्तै’ विमानस्थलका कर्मचारीले भिजिट भिसामा यात्रा गर्ने नेपाली युवाबाट ‘सेटिङ’मा अवैधानिक असुली गर्न छोडेका रहेनछन् भन्ने तथ्य गत मंगलबार (३ जुन) त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको एक घटनाले स्पष्ट पारेको छ ।
विमानस्थल कर्मचारी सुत्रले घटना र विचारलाई उपलब्ध गराएको जानकारी अनुसार मंगलबार बिहान दश बजे ‘भिजिट भिसा’मा उडान नं. QR649 पोर्चुगल उड्न लागेका पाँच जना नेपाली युवालाई ‘सोधपुछ गर्दा काम गर्ने उद्देश्यले जान लागेको तथा पेश भएका कागजातसमेत शङ्कास्पद देखिएको हुँदा अध्यागमन कार्यविधि, २०६५ को परिच्छेद ३ को ३.१ (३) बमोजिम प्रस्थान अनुमति नदिएको’ ब्यहोराको पत्र थमाएर विमानस्थलबाट फर्काइयो (हेर्नुहोस पत्र) ।

तर, यसरी मंगलबार उड्नबाट रोकिएका तिनै युवाहरू भोलिपल्ट अर्थात् बुधबार साँझ ६ बजे उडान नं. QR647 बाट आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन् । स्वतः स्पष्ट छ, अघिल्लो दिन उड्न नमिल्ने कागजात ‘सेटिङ’का कारण रातारात मिल्ने बन्यो !यसरी अघिल्लो दिन रोकिएर भोलिपल्टै सेटिङ मिलाएर विदेश उड्न सफल युवाहरू हुम्लाका सोनाम दोर्जे लामा, दावा थिन्ले, लेन्डुप लामा, मुस्ताङका तासी गुरुङ र दोलखाका दोर्जे थेन्डुप शेर्पा रहेका छन् ।
अहिले पनि विमानस्थलका कर्मचारीले सेटिङमा ‘मान्छे बेच्ने धन्दा’ जारी राखेका छन् भन्ने तथ्यका लागि यो एउटा उदाहरण मात्र हो । सयौँ नेपाली दिनहुँ सेटिङको धराप पार गर्दै अहिले पनि विदेशिइरहेका छन् । यसले के स्पष्ट पार्छ भने विमानस्थल अध्यागमनका कर्मचारीहरू राजनीतिक नेतृत्वलाई अटेर गरेर या छलेर ‘सेटिङ’मार्फत भिजिट भिसाबापत अवैध असुली गर्न हिच्किचाएका छैनन् । भ्रष्ट कर्मचारीका कारण राजनीतिक नेतृत्व मात्र नभइ सिङ्गै देशको अन्तर्राष्ट्रिय बेइज्जति भइरहेको छ ।
प्रतिक्रिया