गीताप्रेस नेपाल स्थापनाको प्रथम दशकको अवसरमा आयोजित श्री लिङ्गमहापुराण र श्री मत्स्यमहापुराणको नेपाली अनुवाद विमोचन तथा गीताप्रेस नेपालको वेभसाइट gitapressnepal.org, gitapressnepal.com एवं मोबाइल एप Gitapress Nepal लन्चिङ्ग कार्यक्रम बिहीबार (२९ जेठ) काठमाडौंमा सम्पन्न भएको छ ।
गीताप्रेस नेपाल, गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौंका अध्यक्ष जयकिसन साडाको सभापतित्व, गीताप्रेस गोरखपुरका प्रबन्धक डा. लालमणि तिवारीको प्रमुख आतिथ्यता तथा भगवान् पशुपतिनाथका मूल भट्ट गणेश रावल भट्ट र मानवसेवा आश्रमका संरक्षक डा. गोविन्द टण्डनको विशिष्ट आतिथ्यता, गीता परिवारकी अध्यक्ष श्रीमती सारिका अग्रवालको आतिथ्यतामा माधवराज सुमार्गी स्मृति भवन वनकाली पशुपतिमा धर्मानुरागीहरूको उल्लेख्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
सत्य एवं शान्ति हेतु मानवमात्रको सेवामा समर्पित भई विगत १०२ वर्षदेखि सेवाप्रदायक विश्वविख्यात संस्था गीताप्रेस गोरखपुरको अन्तर्राष्ट्रिय शाखा नेपालमा गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौं स्थापना भएको ९ वर्ष पूरा भई १० वर्षप्रवेशको अवसरमा आयोजित गीताप्रेस नेपाल स्थापनाको प्रथम दशकको गौरवमय उत्सव कार्यक्रममा उपस्थित जनहरूलाई स्वागत गर्दै गीतापे्रस नेपाल, गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौंका अध्यक्ष जयकिसन साडाले नेपालमा गीताप्रेस गोरखपुरको अन्तर्राष्टिय शाखा वि.सं. २०७३ जेष्ठ २९ गते (११ जुन, २०१६) शनिबार पशुपति क्षेत्र विकास कोषका तत्कालिन सदस्य सचिव डा. गोविन्द टण्डन एवं गीताप्रेस गोरखपुरका प्रबन्ध न्यासी विष्णुप्रसाद चाँदगोठिया, देवीदयाल अग्रवाल र नारायण अजीतसरियाद्वारा संयुक्त रुपमा धर्मपरायण हजारौं महानुभावको उपस्थितिमा विधिवत समुद्घाटन भई गीताप्रेसको अन्तराष्ट्रिय शाखाको रुपमा अनवरत रुपमा संचालनमा रहेको बताउनुभयो । वहाँले गीताप्रेसबाट प्रकाशित भएका कृतीहरुको प्रचार प्रसार एवं आम सर्वसाधारणले अनलाइनको माध्यमबाट पुस्तकहरु निःशुल्क अध्ययन गरी आध्यात्मिक एवं धार्मिक लाभ लिन सकुन् र चरित्रवान, सुसंस्कृति समाजको निर्माण होस् भन्ने उद्देश्य लिई गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौं स्थापना भएको १० वर्ष प्रवेशको अवसर पारी मोबाइल एप्स र वेभसाइट लन्च गरिएको जानकारी दिनुभयो । उक्त एप्स तथा वेभसाइटमा गीताप्रेसबाट प्रकाशित पुराण, रामायाण, उपनिषद, स्तोत्र, चालिसा, नित्य पाठ, कर्मकाण्ड, भजन सहित महत्वपूर्ण लेख रचनाहरुलाई समावेस गरिएको वहाँको भनाइ थियो ।

यस अन्तर्राष्ट्रिय शाखाबाट सिंगापुर, इन्डोनेशिया, दुबई, अष्ट्रेलिया, अमेरिका लगायतका देशमा पुस्तक पठाउने कार्य भइरहेको र विदेशमा रहेका मन्दिरहरुमा गीताप्रेसका प्रकाशनहरु उपलब्ध गराउने कार्य भइरहेको अनि गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौंको संचालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले गीताप्रेसबाट प्रकाशित भएका कृतिहरुको निःशुल्क वितरण तथा प्रचारप्रसार गरी निःशुल्क सेवा प्रदान गर्ने र सोही संस्थामार्फत नेपालमा गीता भवन निर्माण गर्ने उद्देश्य पशुपति क्षेत्र आसपास नेपालमै एक ‘गीता भवन’ निर्माणको योजना अगाडि सारिएको छ । यस भवनको मुख्य उद्देश्य गीताप्रेस गोरखपुरका सत्साहित्यहरुको थोक तथा खुद्रा विक्री केन्द्र स्थापना गर्नु, पुस्तक गोदाम तथा वितरण कार्यालय बनाउनु, मोबाइल गाडीबाट देशभर प्रचार-प्रसारको तयारी गर्नु र भविष्यमा अनलाइन प्रणालीमार्फत पुस्तक वितरणको दीर्घकालीन योजना कार्यान्वयन गर्नु रहेको बताइएको छ ।
कार्यक्रममा प्रमुख अतिथि गीताप्रेस गोरखपुरका प्रवन्धक डा. लालमणि तिवारी, विशिष्ट अतिथि भगवान् पशुपतिनाथका मूलभट्ट गणेश रावल भट्ट र मानव सेवा आश्रमका संरक्षक डा. गोविन्द टण्डन, अतिथि, गीता परिवार नेपालकी अध्यक्ष श्रीमती सारिका अग्रवालले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रममा उपस्थित महानुभावहरुलाई गीताप्रेस नेपालका उपाध्यक्ष ईश्वरी प्रसाद रिमालले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको संचालन यदुनन्दन भारद्वाजले गर्नुभएको थियो ।
- दिनेश महर्जन
प्रतिक्रिया