✍ लामिछाने मातृका

हो साथी म झोले हुँ !
फगत झोले
दुनियाँले जे भनुन्
संसारले जे देखुन्
बोक्नेले जे बोकुन्
किनकि म झोले हुँ
मैले बोकेको झोला
झोलाभित्र के के होला
अरुले बोक्ने भन्दा भिन्न होला
मैले बोकेको झोला
कसैले बाटो पुल-पुलेसा कसैले खोला
कसैले कामकाज कसैले सिंगै कार्यालय
कसैले माल-सामान
हातहतियार, औजार बोकेका होलान्
कसैले किताब, कलम
खानेकुरा लाउने कुरा
जे जे बोकुन् बोकुन्
तर म बोक्छु भिन्न झोला
झोलाभित्र के के होला
यो पढेर जान्नुहोला
पढ्नेले पढ्नुहोला
नपढ्नेले छाड्नुहोला ।
निरन्तर, अविश्रान्त,
लगातार, अविरल
खुरन्दार भएर धुरन्धर भएर
खपिनसक्नु भएर अन्धानुभक्त भएर
दिलचित्त लाएर एकभक्त भएर
ब्यवहार विचार आदर्श
नीति नियम दर्शन शास्त्र
सिद्धान्त आचरण अनुशासन
कानुन ऐन विनियम विधि
नियमावली कार्यविधि
आदेश उपदेश तर्क वितर्क
कार्य योजना रणनीति बिर्सेर
उपनाम राख्दै तथानाम फलाक्दै
नाम बदनाम हुँदै
उपनाम तथानाम
जे जे आइलागोस्
सोको किञ्चित
परवाह छैन मलाई
धारेहात लाउँदै
सत्तोसराप गर्दै
तिनलाई डाँडा कटाउन मन छ
मलिकका चरणकमलमा सास्टाङ्ग
दण्डवत गर्न मन छ
मलाई झोले बन्न मन छ
अनि सवैलाई भन्न मन छ
साथी म झोले हुँ ।
झोला बोकेर होस्
या नबोकी होस्
झोला नबोक्नेहरु झोले हुँदैनन्
झोला बाक्ने मात्र पनि झोले हुँदैनन्
अलिकति मनको पन्तुरोमा
आशको झोला, त्रासको झोला
डरको झोला, करको झोला रहरको झोला
लहरको झोला, लहडको झोला
बाध्यता वा विवशताको झोला
भिडको झोला या भेडाको झोला
जे सुकैको झोला बोके नि
आखिर हुने झोले नै हो
रित्तो झोला बोकेर कोही झोले कहलिँदैन
झोला बोकेर झोला भर्ने कला जानेको हुनुपर्छ
त्यो कला झोला बोक्नेलाई भन्दा
मलाई बढ्ता थाहा छ
त्यसैले त मलाई पनि झोेले हुने चाह छ ।
हो साथी जरुर म झोले हुँ
तातो खोले हुँ
मलाई बोके पनि हुन्छ
खाए पनि हुन्छ
दुईचार झापु लाए पनि हुन्छ
सहन्छु तर जो नेताले भने सो कहन्छु
जे गर भन्यो त्यो गर्छु
जे नगर भन्यो त्यो झन् धेरै लुकीलकी गर्छु
जे खा भन्यो त्यो खान्छु
जस्तो ला भन्यो उस्तै लाउँछु
जता जा भन्यो उतै जान्छु
लुरुलुरु खुरुखुरु
बैरी रोऊन् बरु धुरुधुरु
मतलव छैन मलाई
आफ्नो बुद्धिमा बिर्को लाउँछु
कखरा नपढेको दुनियाँ सडेको नेताले जो जो भन्यो त्यहि हो हो भन्छु
सुगारटाइ लाउँछु
केही परे उही तीनमाने नेताकोमा धाउँछु
भए नभएको फतुर लाउँछु
उसकै भक्तिगान गाउँछु
किनकि म झोले हुँ ।
गोबरलाई गुँदपाक भनेछन् नेताले भनेपनि म जुँगामा ताऊ लाउँछु
गधा धोएर गाई बनाउँछु भनेछन् भने पनि म साबुन लाउँछु
कसैले चम्चे हुक्के बैठके
तालुके, चिलिमे, भजने, मण्डले
अरौटे भरौटे पिछलग्गु कुरौटे
धुपौरे, पिंधौरे, लगौंटे जे जे भनुन्
म त्यो सहन्छु र
कहन्छु गोपी कृष्ण कहु गोपी कृष्ण कहु
म प्रभुको आदेशपालक, सेवक हुन मन छ
सत्कारमा तल्लिन रहन मन छ
मलाई झोले बन्न मन छ
अनि सवैलाई भन्न मन छ
जरुर साथी म झोले हुँ ।
म झोले हुँ
त्यसैले त डर त्रास धाक धम्की
जालझेल तिकडम गरिदिन्छु
सिष्टम गोलमाल पारिदिन्छु
नजिक पर्नेलाई अरिंगाल झैं चिल्छु
छेउ पर्नेलाई थेबे अचार झैं पिस्छु
सामदाम दण्डभेद सबै अपनाउँछु
कमिशन, घोटाला, भ्रष्टाचार
दुराचार, बलात्कार, अत्याचार
हत्या, हिंसा, आगजनी
तोडफोड रजगज
यी सबै अश्त्रहरु प्रहार गर्छु
विरोधीलाई सखाप पार्छु
विपक्षीलाई भित्तैमा पुऱ्याइदिन्छु
मिडिया किनी दिन्छु
न्याय छिनीदिन्छु
पुलिस प्रशासन सबै चिनिदिन्छु
कसैले छोउन् मात्र त मलाई
म ‘बा’को पावर देखाइदिन्छु
अमर कृति लेखाइदिन्छु
‘बा’ तिम्रो नाममा कसम खाइदिन्छु
जहिले भन जहाँ भन त्यहाँ आइदिन्छु
त्रन्त्र-मन्त्र बिजोग पारेर ‘बा’को पुराण लाइदिन्छु
किनकि म इमान नभएको इमानदार झोले हुँ
ठोक भन्दा ठाक्ने बोक भन्दा बोक्ने
म बफादार झोले हुँ ।
त्यसैले त तिम्रो दलानमा ढुकिरहन्छु
तिम्रा बैरीविरुद्ध भुकिरहन्छु
म सधैं तिम्रो छायाँमा लाचार बनेर
तिम्रै छत्र–छहारीमा हुर्कने
तिम्रै जुठो खाने म झोले हुँ
मलाई आफैंले खाएको थालमा
सौच गर्ने आँट छैन
मलाई त नुनको सोझो गर्दै
प्रभुको र मेरो
सात पुस्तालाई पुग्ने पोल्टो भर्दै
दुधैदुधले नुहाउने मन छ
मलाई झोले बन्न मन छ ।
प्रभु म तपाईंको लम्लस्ट
कृतज्ञ झोले हुँ ।
जे जे परे सहन्छु
अनि त म कहन्छु
जय नेता जिन्दावाद
विचार र बाद मुर्दावाद
म झोले जिन्दावाद
कहिले विद्यार्थी बनेर
कहिले नेता, अभिनेता बनेर
कहिले वकील पत्रकार बनेर
कहिले कामदार मजदुर बनेर
ब्यभिचारी दुराचारी बनेर
छद्म कर्मचारी बनेर
अध्यापक, प्राध्यापक बनेर
विवेक बन्धक बनाएर
विभिन्न जात र रंगका झोला बोकेर
प्रभुको दलानमा बाहिर–भित्र गरिरहन्छु
जोर चरणमा चिल्लो दलिरहन्छु
प्रभुको सेवा गरिरहन्छु
भनुन् लम्पसारवादी कसैले
नातावाद, कृपावाद, फरियावाद
जे सुकै उपसर्ग प्रत्यय
नाम सर्वनाम वा विशेषण
राखुन बैरीले, सो सवै शिरोधार्य छ
जे जे भन्नु छ, गर्नु छ तिनका लागि
म जस्ता झोलेको
साईबर सेना तैनाथ छ
मलाई धेरै नजिस्क्याऊ
म त नेताको नजिकको मान्छे,
घरभित्रको भित्रिया
उसको परम् भक्त अनुयायी
उसकै पदचाप पछ्याउने पदगामी
किचन क्याविनेटको कारिन्दा
भण्डारको भण्डारी, खजाञ्ची
मासुसँग नङको सम्बन्ध जस्तै
हनुमानसँग पुच्छरको आवश्यकता जस्तै
म झोलेको अपरिहार्यता नेतालाई
नेताको आशीर्वाद म झोेलेलाई
प्रभुका सेवामा सदेैव तत्पर म झोले
म बाट के झुठ के सत्य
कदाचित दृष्टिगोचर हुन सक्दैन
किनकि मेरा चक्षु आफैंले केही देख्दैन
जो नेताले देख्छन्् सो मैले देख्ने हो
जो तिनले लेख्छन् सो मैले लेख्ने हो
तिनले घृणास्पद बोले मैले नि तुच्छ बोल्ने हो
वाकयुद्ध मच्चाएर वार लड्ने हो
ज जे भन्छन् मालिकले त्यही गर्ने हो
किनकि म घ्राणशक्ति नभएको बबुरो हुँ
किनकी म म लम्पट झोले हुँ ।
जरुर साथी म झोले हुँ ।
प्रतिक्रिया