खुच्चिङ्ग !

खुच्चिङ्ग !


भाइ दिलभुषण !

निकैअघिको एउटा प्रसंग याद आयो-
०४६ सालको जनआन्दोलन ताका तिम्रो बुबा कृष्णप्रसाद पाठक र म जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा सँगै थियौँ ! बुबालाई खाना लिएर आउँदा भूमिगत बारे जिज्ञासा राखेको थियौँ ! तिम्रो बालसुलभ मष्तिष्कले बुझेअनुसार भूमिगत भनेको खाल्डो खनेर जमिनमुनि लुक्नु थियो ! मैले तिमीलाई भूमिगत बारे प्रष्ट्याउँदै गर्दा अनि तिमीले प्रजातन्त्रबारे राखेको जिज्ञासा मेटाउँदै गर्दा तिम्रो प्रजातन्त्रप्रतिको उत्साह उर्जापुर्ण थियो !

निकैपछि एउटा वैवाहिक समारोहमा तिम्रो मेरो भेट भयो ! म ठूलो भाग खोज्न काठमाडौं पसेको थिएँ ! तिमी पनि ठुलै भाग खोज्न उता भासिएका थियौ होला ! तिमी चर्चित पत्रकार भइसकेका रहेछौ ! म माइतीघर चोकमा सानो स्टेसनरी पसल राखेर काठमाडौंवासी हुने असफल प्रयत्नमा थिएँ ! ०४६ सालको स्मरण गर्दै तिमीले राजनीतिबारे सोधपुछ गर्दा- ‘छोड्देउ भाइ… राजनीतिका कुरा मलाई थाहा छैन र चासो पनि छैन’ भन्दा ‘हामीलाई फसाइहाल्नुभो ! अहिले छोड्देउ भन्न मिल्छ ?’ भन्दै प्रतिप्रश्न गरेका थियौ ! जतिसुकै छोडौँ भनेपनि प्रजातन्त्रदेखि गणतन्त्रसम्मको लुतो कन्याउन भने छोडिएको छैन ! मलाई लाग्छ तिमी पनि त्यो पुर्ख्यौली रोगबाट मुक्त छैनौ !

अर्को एउटा अलि तितो प्रसङ्ग पनि स्मरण गरौँ-

बहुदल आएको (ल्याएको ?) उन्मादसँगै काङ्ग्रेस कोटाबाट मन्त्री भएकालाई आफ्नै ठान्ने भ्रम पाल्दै हरेक शनिबार (आफ्नै ?) मन्त्रीको क्वार्टर पुगिन्थ्यो अनि बहुदल ल्याएको दम्भबीच आफ्नो घर-गाउँमा फोकटको फोन सुविधा (ट्रन्कल) लिँदै प्रजातान्त्रिक अभ्यासको आत्मरतिमा रमाइन्थ्यो ! लाग्थ्यो कि प्रजातन्त्रको पुर्ण उपभोग गरिँदैछ ! यसभन्दा धेरै केही चाहिन्न ! बोनसमा कालो चियाले वरिपरिका हुक्के लाउकेको स्वागत हुन्थ्यो ! त्यसमा आफू पनि परिन्थ्यो !

रातो चिया पार्टी चल्दैगर्दा कुनै प्रसङ्गमा मन्त्राणीजी (भाउजू) ले दिग्दारी प्रकट गर्नुभो- कहिलेकाहीँ त दिनको पाँच किलो चिनी लाग्छ ! कसरी सक्नु हौ ?

छुच्चो थुतुनो ! हातमा भएको चियाको ग्लास उचाल्दै म बोलेँ- ‘भाउजू, यो चिया फाल्दिउँ ?’

‘किन र बाबू ?’ भाउजुको स्वर अलि नरम भयो !

‘तपाईंलाई यो चिया हामीले ख्वाउनु भनेको छ र ? तपाईंको चिनीको हिसाब हामीलाई किन सुनाउनुहुन्छ ?’

‘हैन बाबू ! तपाईंलाई भनेको होइन नि !’

‘कसलाई भन्नुभएको त ? यहाँ सबै मजस्तै दाइलाई काँध थापेर हिंडेकाहरू छन् ! प्रजातन्त्र खातिर ज्यान हत्केलामा राखेर कुँदेर दाइलाई यो कुर्सीमा ल्याउनेहरू छन् ! सबै प्रतिबद्ध काङ्ग्रेस छन् !’ मैले हातै जोडें अनि थपेँ – ‘सुन्नुस भाउजू ! दाइ हाम्रो नेता हो ! उहाँको दुई वचन सहन सकिएला, तेस्रो सहन्नौँ ! तपाईं दाइसँग बिहे गरेर भाउजू हुनुभएको हो ! तपाईंले मेरो भाइसँग बिहे गर्नुभएको भए मेरो बुहारी हुनुहुन्थ्यो र तपाईंले मलाई जेठाजु भनेर ढोग्नुपर्थ्यो ! त्यसकारण भाउजू तपाईं आफ्नो थान्कामा बस्नुस् ! तपाईं हाम्रो ‘भाउजू’सम्म चैं हो, नेता होइन ! हामी पञ्चायतविरुद्ध ज्यानको बाजी लाएर लड्दैगर्दा तपाईं विदेशी सुखसयलमा रमाउँदै हुनुहुन्थ्यो ! हजारौँ काङ्ग्रेसजनले जेलनेल भोग्दैगर्दा, पञ्चायती पुलिसको बुट पिठ्युँमा बजारिँदैगर्दा तपाईं डिस्कोमा बुट बजार्दै हुनुहुन्थ्यो ! काङ्ग्रेसमा तपाईंको योगदान दाइको पत्नी हुनुभन्दा बढी केही छैन ! तपाईंलाई भाउजू मान्न सकिएला नेता मान्न सकिन्न ! प्लिज भाउजु ! आफ्नो मर्यादामा बस्नुस् ! यसरी प्रतिबद्ध कार्यकर्ताको निष्ठालाई रातो चियाको कपमा नचोपल्नुस् !’ यति आक्रोश पोखेर निस्केपछि फेरि त्यता फर्केर पनि गइएन !

समय बित्दै गयो ! मेची महाकालीका धेरै पानी समुन्द्रमा बिलिन भए ! प्रजातन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दा तालुका कपाल केही फुले, केही झरे ! झरेकालाई यचु तेल दलेर रोक्ने असफल प्रयास जारी छ ! फुलेकालाई कालो दलेरै भएपनि युवा भएको भ्रम छरिँदै छ ! जसरी नेताले विकाश र सुशासनको भ्रम छर्दैछन् ! कानुनी राजको राग अलाप्दैछन् !

अब गनगन अन्त गरौँ होला !

जहाँसम्म तिमीलाई फँसाएको आरोप छ ! उसबेला यस्तो थिएन ! तिमीलाई मैले बताएको प्रजातन्त्र साँच्चै प्रजातन्त्र थियो ! प्रजातन्त्रको पाठ तिमीले तिम्रो घरबाटै तिम्रो बुवाबाटै सिकेका हौ ! मेरो कल्पनामा केही फुलबुट्टा भरियो होला त्यो अलग हो ! मैले पनि मेरा काका बाउ, दाजुहरूबाटै प्रजातन्त्रको साउँ अक्षर चिनेको हुँ ! तिमीले सिकेको प्रजातन्त्र र मैले चिनेको प्रजातन्त्र गलत छैन ! अहिले गणतन्त्रसम्म आइपुग्दा केही उतारचढाव देखिएको पक्कै हो ! रात जतिसुकै लामो भएपनी उज्यालो अवश्य हुन्छ ! चन्द्रमाको ग्रहण पनि केही समयका लागि मात्रै रहन्छ !

तैपनि तिमिलाई मैले फँसाएकोमा चित्त दुखेको भए क्षमाप्रार्थी छु ! मेरा काकाबाउ अनि दाजुहरूले मलाई फँसाएकोमा चैं पट्टक्कै गुनासो छैन ! प्रजातन्त्रदेखि गणतन्त्रसम्म मेरो प्रतिबद्धतामा कुनै कमी आएको छैन र आउने पनि छैन !

तर उसबेलाको मेरो अडान अहिले पनि कायम छ- प्रजातान्त्रिक आन्दोलनमा भूमिकाविहीन दाजुकी स्वास्नीलाई ‘भाउजू’सम्म चैं स्विकार गरिन्छ ! उनको हरेक गलत हरकत अनुमोदन गर्दै नेता मान्न सकिन्न !

तिमीलाई के लाग्छ ? त्यो तिम्रो कुरो हो !

तर अहिलेको अराजक अवस्थामा आफूले आफैंलाई खुच्चिङ्ग भन्दै लोपार्छु ! यो मेरो नैसर्गिक हक हो ! मेरो प्रजातान्त्रिक अधिकार हो !