झापाकी चर्चित स्रष्टा खगिन्द्रा खुसीको आख्यान कृति (उपन्यास) ‘खुशीको गाउँ’ नेदरल्याण्डमा विमोचन गरिएको छ ।
विश्व भूटानी साहित्यिक संगठन जिबिएलओको आयोजनामा सम्पन्न तीनदिने साहित्यिक तथा साँस्कृतिक कार्यक्रमको अवसरबीच गत जेठ ३१ गते सो उपन्यास विमोचन गरिएको हो । जिबिएलओका अध्यक्ष कर्ण गुरुङको अध्यक्षता तथा नेदरल्याण्डका लागि नेपालकी राजदूत सेवा लम्सालको प्रमुख आतिथ्यमा भव्य कार्यक्रमका बीच पुस्तक विमोचन गरिएको थियो ।
झापा सदरमुकाम चन्द्रगढी निवासी रेडियोकर्मीको पहिचान बनाएकी खुसी छन्द कविता लेखन, गायन, उद्घोषण र फुटकर रचनामा चर्चित सर्जक हुन् ।
कृति विमोचन कार्यक्रममा प्रमुख अतिथि सेवा लम्साल, सभाध्यक्ष कर्ण गुरुङ, स्रष्टा प्रकाश आङ्देम्बे लगायतको बाहुलीबाट उपन्यास विमोचन गरिएको थियो । जिबिएलओले प्रकाशन गरेको सो उपन्यास भुटानी शरणार्थी शिविरसँग सम्बन्धित विषयमा लेखिएको उपन्यासकार खगिन्द्रा खुसीको भनाइ छ ।
प्रतिक्रिया