द्वन्द्वकालमा घाइते भएका एक परिवारको कथामा आधारित रहेर तयार गरिएको चलचित्र ‘सिटामोल’ आगामी साउन २३ मा प्रदर्शन हुने भएको छ ।
चलचित्रमा समावेश गीत ‘झुम्का कानैमा’ सार्वजनिक गर्दै चलचित्रका निर्देशक राजबहादुर सानेले आफ्नो निर्देशन यात्रालाई फरक ढङ्गले परिभाषित गर्ने काम गरेको दाबी गरेका छन् ।
उनले भने, ‘विगतमा मैले गरेको कामभन्दा यो निकै फरक छ । यसपटक मैले रोजेको कथा र त्यसमा लेखिएका चरित्रमा जीवन्त बनाउनुभएका कलाकारले गर्दा भिन्न रूपमा आएको छु । यो चलचित्रले माओवादी द्वन्द्वकालमा घाइते भएको एक व्यक्ति र उसको परिवारको कथालाई समेटेको छ ।’
अभिनेता सौगात मल्लले चलचित्रसँग जोडिनाका कारण विषय र युद्ध लडेको लडाकुको जीवनसँगको सङ्घर्ष रहेको उल्लेख गर्दै भने, ‘समाज र देश परिवर्तन गर्न युद्धमा होमिएको एउटा व्यक्तिले आफ्नो जीविकोपार्जनका लागि गर्नुपरेको सङ्घर्ष कम छैन । यो एउटा द्वन्द्वको प्रभाव परेको व्यक्ति र उसको परिवारको कथा हो । यसले हाम्रो सोचाइमा परिवर्तन ल्याउँछ जस्तो लाग्छ ।’
चलचित्रमा अभिनेता मल्लसँगै अभिनेत्री बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मीलगायतका कलाकारले अभिनय गरेका छन् । उक्त चलचित्रको कथा निर्देशक सुनुवार र प्रदीप भारद्वाजले लेखेका हुन् ।
प्रतिक्रिया