अन्धविश्वासविरुद्धको आवाज चलचित्र ‘मोहर’

अन्धविश्वासविरुद्धको आवाज चलचित्र ‘मोहर’


आगामी साउन २३ मा प्रदर्शन हुने चलचित्र ‘मोहर’ले देवीदेवताको सेवाका नाममा कन्या बालिकालाई ‘देउकी’ बनाउने जस्ता अन्धविश्वासविरुद्ध जनचेतना जगाउने लेखक तथा निर्देशक ओम प्रतीकले जानकारी दिएका छन् । बालिकामाथि हुने परम्परागत सामाजिक हिंसाका घटनालाई चलचित्रले निरुत्साहित गर्ने संदेश प्रवाह गर्ने उनको जिकिर छ ।

‘मेरो जानकारीमा भएसम्म विसं २०७९ सम्म देउकी प्रथा चलेको छ । त्यसकारण पनि आजकै शैलीमा उक्त कथालाई भनेका छौँ । अहिले विभिन्न बहानामा बालिका माथि हुने गरेको हिँसालाई बन्देज गर्नुपर्छ भन्ने संदेश चलचित्रले प्रवाह गर्छ । यो मनोरञ्जनसँगै सामाजिक विकृतिलाई उठान गरिएको चलचित्र हो’, उनले भनेका छन् ।

उनले चलचित्रका माध्यमले धेरै तथ्यलाई बुझाउन सहज भएकाले ‘मोहर’को विषयवस्तु छनोट गरेको जानकारी दिए । चलचित्रमा पल शाह, बेनिशा हमाल, निती शाह, अर्जुनजङ्ग शाही, सुशील देवकोटा, मिस पबि लगायतका कलाकारले अभिनय गरेका छन् । सामाजिक यथार्थ र विद्रोह मिसिएको कथावस्तुमा बनेको ‘मोहर’ले दर्शकलाई निराश बनाउने अभिनेत्री शाहले बताइन् ।

‘यसले मनोरञ्जनसँगै हाम्रो एउटा दुःखद परम्परालाई समेटेको छ । यो चलचित्र हेरेपछि महिला वा बालिकालाई हुने हिँसा थोरै भएपनि घट्छ भन्ने विश्वास छ’, नितीको भनाइ छ ।

चलचित्रमा भुपेन्द्र अधिकारीले सम्पादन, दिपेन बस्न्यातले छायाङ्कन, रामजी लामिछाने र कविराज गहतराजले नृत्य निर्देशन, कुमार महर्जनले द्वन्द्व निर्देशन गरेका छन् ।