सामाजिक चिन्तक मेघनाथ दाहालको ‘साँघु’ प्रकाशित

सामाजिक चिन्तक मेघनाथ दाहालको ‘साँघु’ प्रकाशित


बेस्टसेलर उपन्यास ‘दफन’बाट प्रसिद्धि कमाइसकेका मेघनाथ दाहाल गहिरो सामाजिक चिन्तनका धनी हुन् । सिक्किमे नेपाली साहित्यमा एक मौन तर महत्त्वपूर्ण साहित्यसेवी हस्ताक्षर नै हुन् उनी । सक्रिय अध्येताका रूपमा चिनिने र सामाजिक गतिविधिमा गुरुत्त्वपूर्ण दखल राख्ने बुद्धिजीवी दाहालले विशेष गरी स्तरीय व्यङ्ग्य लेखनबाट आरम्भिक परिचय कमाएका हुन् ।

१३ मार्च, सन् १९५९ का दिन सिक्किममा जन्मिएका दाहालका ‘ठूलो भाइसित चिया पसलमा’ (व्यङ्ग्य कथा), ‘आफैलाई चिथोर्छ मानबहादुरको देश’ (कथात्मक व्यङ्ग्य) प्रकाशित छन् । सिक्किमको जैविक अभियानमाथि एउटा पुस्तिका समेत प्रकाशित छ ।

उपन्यास ‘दफन’को लोकप्रियतापछि मेघनाथ दाहालको दोस्रो उपन्यास हो- ‘साँघु’ । पछिल्लो उपन्यासमा जस्तै यसमा पनि सामाजिक सरोकारलाई आख्यान-वृत्तको केन्द्रीय मुद्दा बनाइएको छ। गाउँ, गाउँलाई घेरेको जङ्गल, गाउँमाझबाट बग्ने खोला, गाउँकै आख्यानको मूल पात्र, सबैको नाम ‘अम्बटे’ राखिएको छ ।

वर्षौं पुरानो अम्बटे खोलाको पुल झरेपछि धेरै गाउँलेले ज्यान गुमाउँछन् । अम्बटे माइला ज्यान गुमाउनेहरूका परिवारजनलाई क्षतिपूर्ति दिइनुपर्ने र नयाँ पुल बनाइनु पर्ने माग गर्दागर्दै बितेर जान्छ । उसको मास्टर छोरा वासवजीत यही पुल निर्माणको यही स‌ङ्घर्षलाई नियमितता दिँदै न्याय प्रणालीसम्म पुग्छ। भोटपछि नेताहरूको आगमन हुने अम्बटे गाउँसम्म न क्षतिपूर्ति आइपुग्छ न त नयाँ पक्की पुल ।

यही कथाको सेरोफेरोमा समाजको फेदसम्म गाउँको आदिकालदेखि जरा गाडेर बसेको भ्रष्टाचार र व्यभिचारको उत्खननको निरन्तर प्रक्रियाले टुङ्गो नपाई आख्यान बेटुङ्गो भएर टुङ्गिन्छ । समग्रमा लोकतान्त्रिक भनिएको व्यवस्थामा कसरी जनताले मौलिक अधिकार समेतका लागि लड़ाइँ गरिरहनुपर्दछ र कसरी उसको अस्तित्वमाथिको शोषणको जाँतो घुमिरहँदछ, त्यसको औपन्यासिक समाज-सौन्दर्यको नवीनतम र प्रभावी प्रयोग हो- ‘साँघु’ ।

– कृति : साँघु
– विधा : उपन्यास
– कृतिकार : मेघनाथ दाहाल
– भाषा : नेपाली
– संस्करण : पहिलो, जून २०२५
– पृष्ठ सङ्ख्या : २३६
– मूल्य : भारु ३५०, नेरु ५६०