नेपाली कलाकार !

नेपाली कलाकार !


नेपालमा कलाकारिता भन्ने बित्तिकै पहिलो कुरा के आउँछ ?- फिल्म ? गीत ? नाटक ? कि टिकटक ? अहिलेसम्म त टिकटक पनि कलाकारिताकै हिस्सा बनेर समाजमा उच्च स्थान ओगटिसकेको छ । जुनसुकै बुढाबुढी, सानाठूला, गाउँघरका गोरुचोरदेखि लिएर ठुला नेताहरूसम्म अहिले टिकटकमा आफ्नै अभिनय देखाउन व्यस्त छन् । एक जमाना थियो, कलाकार हुनका लागि अभिनयको क्लास लिनु पर्थ्यो, नृत्य सिक्नुपर्थ्यो, गीत गाउन आउनुपर्थ्यो, तर अहिले ? फोन खोल, फिल्टर हाल, दुई चार नाटकिय एक्सप्रेसन देऊ, अनि तिमी कलाकार !

यसरी बनेका कलाकारहरु र आफैले आफूलाई कलाकार भन्न रुचाउनेहरुको नेपालमा भिड बढिरहेको छ। यी कलाकार हुन् वा होइनन् भन्ने प्रश्न आफैमा सोचनीय छ। केहि गिनेचुनेकालाइ अपवाद मान्ने हो भने यस्ता कलाकारले कलाकारिताकै राम्रो जोक बनाएको कुरा गर्छन समाजका बुझक्कडहरु। फेरी यी कलाकार जे जस्ता भए पनि यिनीहरुलाई कुनै न कुनै रूपमा सधैं चर्चामा रहन मन पर्छ । नेपाली कलाकारहरू चर्चामा आउनका लागि दुईवटा बाटाको प्रयोग गर्छन् ।  एक, साँचै राम्रो काम गरेर, र अर्को, कुनै ‘कन्ट्रोभर्सी’ गरेर । पहिलो बाटो हिँड्नेहरूलाई यहाँ कोही सोध्दैन, कोहि चिन्दैन । तर दोस्रो बाटो रोज्नेहरूले मिडिया, युट्युब, टिकटक सबै ठाउँमा आफ्नो स्थान सुरक्षित गर्छन् । कुनै कलाकारले राम्रो फिल्म बनाए भने ‘फ्लप’ हुन्छ, तर सोही कलाकारले ‘म आफैं हिरो हुँ, अरू सबै लट्ठक हुन्’ भनेर बोले भने, न्यूज हेर्ने सबै नेपालीको मोबाइल स्क्रिनमा उनको अनुहार टल्किन्छ। कहिले गीतको नाममै विवाद हुन्छ, कहिले कसैको ‘कन्सर्ट’ भन्दा ठूलो बबाल ‘ब्रेकअप’ हुन्छ, कहिले फिल्म रिलिज हुँदा हलमा भन्दा ‘साइबर बुलेट’ बढी हानिन्छ । अनि त्यो ‘नेपालको फिल्म राम्रो हुन्छ’ भन्ने आशा  पालेर बसेका दर्शकलाइ हेर्दा यस्तो लाग्छ, मानौ गाउँमा पहिलो पटक आएको बिजुलीको खम्बामा मैनबत्ती बालेर उज्यालो खोजिरहेका मानिसहरू जस्तै !

नेपाली फिल्म उद्योगलाई हेर्ने हो भने, यहाँ दुई प्रकारका मानिस भेटिन्छन्- फिल्म बनाउनेहरू र फिल्म नहेर्नेहरू । पहिलो वर्ग दिनरात ‘नेपालको फिल्ममा पनि अब केही राम्रो एक्सपेरीमेन्ट हुनुपर्छ’ भन्दै लेख्छन्, तर दर्शक भने हलमा सुत्नकै लागि मात्र जान्छन्, फिल्म त हेर्नलायक भए पो । बाहिरको उखर्माउलो गर्मि बाट जोगिने गतिलो साधन बन्दै छ आजभोलि सिनेमा हलहरु। अनि त्यसमा पनि अहिले त झन् हलसम्म नै  नपुगी ‘युट्युबमा अपलोड कहिले गर्छौ ?’ भनेर निर्माता/निर्देशकलाई तनाव दिने चलन बढ्दो छ।

संगीत, कलाकारिताको अर्को ठुलो क्षेत्र । अनि यसको कुरा गर्दा पनि, अहिले नेपालमा दुई प्रकारका गायक भेटिन्छन् । एक, जसलाई सबैले चिन्छन् तर उनीहरू गाउन नसक्ने बनिसके, अनि अर्को, जसले साँच्चै राम्रो गाउँछन् तर कोहीले चिन्दैनन् । एक जमाना थियो, जहाँ ‘लोकगीत’ भनेको साँच्चै लोककै भावना बोकेको हुन्थ्यो, तर अहिले ? लोक गीत कोठामै बसेर लेखिन्छ। लोकगीत बनाउने फर्मुला यस्तो छ, पहिलो- गीतमा ‘सिन्धुलीगढी’ या ‘रानीपोखरी’ भन्ने शब्द राख्नै पर्छ, दोस्रो- अनिवार्य रूपमा ‘फटाहा प्रेमी’ या ‘आफ्नो माया अर्काले लग्यो’ भन्ने टपिक हुनुपर्छ, अनि तेस्रो, कम्तीमा तीन पटक ‘हाइहाइ’ वा ‘वरि लै’ जस्ता शब्द प्रयोग गर्नै पर्छ ।

स्ट्यान्ड-अप कमेडी अहिले नेपालमा लोकप्रिय हुँदै गइरहेको छ । एक समय हाम्रा हास्य कलाकारहरूले गाउँ शहर अनि टोल गल्लीहरुमा प्रहसन गर्दै ख्याती कमाए, कमेडीको स्तर उचाले अनि हाम्रो देशमा पनि कमेडी हुन्छ/बन्छ भन्ने विश्वास दिलाए दर्शकहरुलाई। तर अहिले भने बेकारका जोक्स बनाएर ‘नेटफ्लिक्स स्पेशल’ गर्ने सपना देखिरहेका छन् केहि कमेडियनहरु। कति जनाले स्टेजमा उभिएर पुराना घिसेपिटे जोक्स सुनाउँछन्, अनि दर्शक हाँस्नुपर्ने दबाबमा पर्छन् । नेपालमा कमेडी सुन्दा दर्शकभन्दा पनि कमेडियन नै बढी टेन्सनमा देखिन्छन्, ‘कोहि हाँस्छन् कि !’ भनेर । नेताहरुलाई गाली गर्नु नै स्ट्यान्ड-अप कमेडी हो भन्ने भ्रममा बसेका यस्ता कमेडियनहरुले एक दुइ वटा स्टेज शो गरेपछि ‘यो देशमा भविष्य छैन’ भन्ने नारा लगाउंदै विदेशी बाटो समात्छन, पलयान हुन्छन्।

अब टिकटक कलाकारहरूको कुरा नगरौँ भने नाइन्साफी हुन्छ । जसले कुनै बेला ‘रिल’ भनेर नाक खुम्च्याएका थिए, अहिले तिनै मान्छे पन्ध्र सेकेन्डको ‘डाइलग मिमिक्री’ गरेर ‘कलाकार’ बनेका छन् । ‘ट्रान्जिसन’ भन्ने नयाँ जात फस्टाएको छ। एक छिनमा पुरानो लुगा, अर्को सेकेन्डमै ‘सुटेड-बुटेड’ राजा ! नेपाली टिभी शो मा ‘फेसन शो’ भन्दै लाखौँ खर्च गर्नेहरूसँग अहिले एउटा स्मार्टफोन र टिकटक अकाउन्ट छ भने, ‘सुपरमोडल’ बन्नलाई बेरै लाग्दैन। प्रविधिले भित्र्याएका यी टिकटकेहरुको जति वर्णन गरे पनि अपुरो हुन्छ आजको नेपालमा। 

टिकटके ‘सुपर मोडल’ जस्तै नेपालमा ‘सुपर स्टार’को परिभाषा बुझ्न पनि निकै गाह्रो छ । यहाँ कोही कलाकार एक वर्षमा पाँचवटा फिल्म खेल्छन्, पाँचवटै फ्लप हुन्छन्, अनि पनि उनी सुपरस्टार बन्छन/बनाइन्छन्। अर्को कोही राम्रो चलचित्र बनाएर हलसम्म पुर्याउन त भ्याउँछन, तर दर्शक हलमा पुग्दैनन् । अनि मिडियाले लेख्छ, ‘नेपाली दर्शकहरूले आफ्नै चलचित्रलाई समर्थन गरेनन् !’ हैन, दर्शकहरूले समर्थन गर्नुपर्छ भने त कलाकारहरूले पनि अलिक राम्रो चलचित्र बनाउनुपऱ्यो नि, जहाँ अभिनय पनि उच्चकोटीको होस् अनि कथावस्तुले पनि मन छोवोस् । राम्ररी नेपाली संवाद पनि बोल्न नजान्ने कलाकारबाट अंग्रेजी संवाद बोल्न लगाइन्छ, अनि उही ‘गैंडाज एण्ड डाँफेज’ गर्दै हाम्रो समाजको धज्जी उडाइन्छ। अब यस्ता फिल्महरु हेर्न पैसा खर्च गरि गरि को गइरहोस् सिनेमा हलमा ?! बरु गर्मीको बखत हलको सितलतामा सुत्न चाही मजै आउँछ बरु फिल्म हेर्नुभन्दा..।

अन्त्यमा, नेपाली कलाकारिता भनेको एउटा यस्तो महासागर हो, जहाँ सबै पौडिन चाहन्छन्, तर कसैले पौडिने कसरी सिक्न चाहँदैनन् । युट्युबमा ५ लाख भ्युज पुगेपछि आफूलाई ‘सेलिब्रिटी’ भन्ने, टिकटकमा ५० हजार फलोअर्स भएपछि ‘मलाई रेस्टुरेन्टमा फ्री खुवाउनुपर्छ’ भन्ने मानसिकता कहिलेसम्म चल्ने हो, थाहा छैन । तर एक कुरा पक्का छ, नेपाली कलाकारहरू कहिल्यै ‘बोर’ हुँदैनन्, किनभने उनीहरू आफ्नै कन्ट्रोभर्सी बनाउनमा व्यस्त हुन्छन् । त्यसैमा रमाउँछन्।

र, दर्शक भने सधैं उही प्रश्न गर्छन्, ‘नेपालको फिल्म उद्योग कहिले सुध्रिन्छ ?’ अनि कलाकारहरूको उही उत्तर आउँछ, ‘अब चाँडै, अर्को वर्षदेखि त अलि राम्रो हुन्छ !’

तर, अर्को वर्ष पनि उस्तै…