(ब्यङ्ग्योक्ति)
एउटा सामान्य कर्मचारीको बर्बराहटको पछि लागेर तपाईंजस्तो ‘प्रष्ट’ नेतालाई ‘भ्रष्ट’को ट्याग लाग्नु भनेको पार्टीको लागिमात्र नभएर समग्र गणतन्त्रमाथिको षड्यन्त्र हो भन्ने बुझ्नु जरुरी हुन्छ ! दायाँबायाँ राष्ट्रिय खोरेत र राष्ट्रिय भाउजू भएपछि तपाईंजस्ता ‘प्रष्ट’लाई कसैले भ्रष्ट भन्न सक्दैन । भनेपनि केही लछारपाटो लाग्दैन !
✍ ज्ञानमणि भुर्तेल
पचास लेखकज्यु, जय नेपाल !
नआत्तिनुस ! तपाईं लेखक हो देखक होइन । तपाईंले पचास बाहेक केही देख्नुभएकै छैन । तपाईंको मन्त्रालयका खोरेत सहसचिवले खण्डन वक्तब्य निकालेर आफ्नो कर्मकाण्ड पूरा गरिसक्नुभएको छ । तपाईं स्वयं बिपिवादको लेखक हो । त्यसमाथि तपाईंलाई राष्ट्रिय भाउजुको दाहिने पञ्जाको आशीर्वाद छ । सँगसँगै उहाँका पति राष्ट्रिय खोरेतको समेत सक्रिय साथ-सहयोग छ । दायाँबायाँ राष्ट्रिय खोरेत र राष्ट्रिय भाउजू भएपछि तपाईंजस्ता ‘प्रष्ट’लाई कसैले भ्रष्ट भन्न सक्दैन । भनेपनि केही लछारपाटो लाग्दैन !
एउटा सामान्य कर्मचारीको बर्बराहटको पछि लागेर तपाईंजस्तो ‘प्रष्ट’ नेतालाई ‘भ्रष्ट’को ट्याग लाग्नु भनेको पार्टीको लागिमात्र नभएर समग्र गणतन्त्रमाथिको षड्यन्त्र हो भन्ने बुझ्नु जरुरी हुन्छ ! पञ्चायतको अवसान र हाम्रो उदयपछि विगतमा पनि यस्ता झिना-मसिना आरोप लाग्दै आएका हुन् । आफ्नो घर सम्हाल्न छोडेर पोइसमेत त्यागेर माइती सम्हाल्न आएकी जर्मन रिटर्न राजमाताले मुलुक मात्रै होइन आफ्ना छोरी-ज्वाईं सम्हाल्दा समेत धेरैको गिद्धेनजर परेकै हो । उहाँमाथि पनि आवाज उठेकै हो । उहाँलाई आफ्नै बाउको आशिर्वाद भएकाले कसैले कुनै लछारपाटो लाउन सकेन ।
केही समयअघि हाम्री परम पुज्यनिय राष्ट्रिय भाउजुलाई समेत मिथ्या आरोप नलाएका होइनन् । उहाँलाई पनि तपाईंलाई जस्तै मान्छे बेच्ने आरोप लागेको थियो । उहाँका पति राष्ट्रिय खोरेतले सत्ता समीकरण नै उल्ट्याएर जोगाइदिनु भो १ भर्खरै मात्र पोलम जोगाउनुभो । अब पोलमले पूरै गाउँलाई स्वर्गयात्रा गराउने त्रास सुनिदैछ । उहाँका साला ‘राष्ट्रिय साला’ निस्के । पाँच करोड चप्काएर विदेश उडे भन्ने हल्ला छ । निश्चित छ- त्यसलाई पनि उहाँले हल्लामै सीमित गर्दिनुहुन्छ ।
यो मानव तस्करी अभियानमा तपाईं एक्लो हुनुहुन्न । तपाईंभन्दा माथि राष्ट्रिय भाउजू हुनुहुन्छ । भाउजुलाई राष्ट्रिय खोरेत दाजुको आशीर्वाद छ । नहोस् पनि कसरी ? यता तमाम प्रजातन्त्रवादी आफ्नो ज्यान हत्केलामा राखेर प्रजातन्त्र पुनर्स्थापना खातिर निर्वासन र जेलदेखि मृत्युदण्ड भोग्दैगर्दाको कालखण्डमा उता विदेशी सुखसयलमा रमाउँदै गरेकी कन्यालाई त्यो सुखको स्वर्गबाट निकालेर मुलुक निर्माण हेतु नेपाल खाल्डोको नर्कमा भित्र्याएर राष्ट्रिय भाउजुको रूपमा स्थापित गराइएकी त्यागकी प्रतिमुर्ति आफ्नी धर्मपत्निलाई आशीर्वाद नदिने कुरा घोर अप्रजातान्त्रिक र गणतन्त्रविरुद्ध हुने कुरामा शंकै रहन्न । राष्ट्रिय खोरेतले भ्रष्ट आरोपित हरेकलाई प्रष्ट बनाइदिनुहुन्छ । त्यसकारण तपाईंले आत्तिएर हतारमा राजिनामा गर्नु हुँदैन भन्ने हामी तमाम खोरेतग्रस्त कार्यकर्ताको आग्रह छ ।
तपाईंलाई राष्ट्रिय खोरेतको साथ समर्थन र आशीर्वाद छ । तपाईंसँग राष्ट्रिय भाउजु हुनुहुन्छ । पानीमा डुबेर मरेकोलाई आगोले पोलेर मरेको सावित गर्न सक्ने झापाली वकिल जो हाम्रो मुलुकको अम्बेडकर पनि हो, तपाईंको दाहिना हुनुहुन्छ । उहाँले राजिनामा गर्नुपर्दैन भनेर उर्दी जारी गरिसक्नुभएको छ । नेपाली अम्बेडकरले संवैधानिक उर्दी जारी गरिसकेपछि काफिला क्युँ लुटा ? भनेर लेग्रो तान्नै परेन । विपक्षीले क्युँ लुटा ? भनेर जतिसुकै चिच्याए पनि हमने नहिं लुटा, तलका सुब्बा खरदारने लुटा भनेर तलकालाई फसाएर आफू उम्किने सुडाने कलाकार तपाईंसँगै उभिनुभएको छ । त्यसमाथि लाउडा, धमिजा, भुटानी कोनि के कोनि के असंख्य भ्रष्टकाण्डलाई सुन्दरकाण्डमा परिणत गर्न सिपालु एकसेएक खोरेत हामीसँगै भएपछि तपाईंले राजीनामा दिनेतर्फ सोच्ने पनि हैन ।
अब तपाईं लेखक मात्र रहनुभएन, तपाईं पचास लेखक भैसक्नुभएको छ । तपाईंको अबको राजनैतिक यात्रा सय लेखकतिरको हुनुपर्छ । त्यसमा हामी सम्पुर्ण खोरेतको साथ र समर्थन छ । माथिका खोरेतले नपुगे हरेक काण्डबाट खारिएका एकसेएक हामी झापाली खोरेत तपाईं र तपाईं जस्ता प्रष्ट नेताका लागि ज्यान अर्पण गर्न तयार छौं । मगज त निकैअघि नै अर्पण गरिसकेका छौं । मगज तपाईंहरुलाई अर्पण गरिसकेपछि बुद्धिविवेक पनि तपाईंहरुसँगै बन्धकी राखेको कुरा प्रष्ट्याइरहनै परेन ।
यसलाई फगत झापाली गफ नठान्नुहोला । झापालीसँग तपाईं र तपाईं जस्ता भ्रष्ट आरोपितलाई प्रष्ट विभुषणबाट विभुषित गर्नसक्ने तागतवार एकसेएक खोरेत उपलब्ध छौं । हामीसँग सबैभन्दा ठूलो सम्पत्ति बीपीको फोटो छ । बिपीको फोटोमा वर्षमा दुईपटक पानी चढाएर चौलानी सेचन गरेबाट हामी स्वतः प्रष्ट हुने अचुक फर्मुला छ हामीसँग । मरेर गएका प्रेतलाई दैनिक सम्झिरहनु आवश्यक छैन । वर्षमा दुईपटकको कर्मकाण्डले हामी प्रष्ट भैहाल्छौँ ।
हामीसँग एकसेएक उम्दा खोरेत तैनाथ छन् । प्रतिकार समितिदेखि खकार समितिसम्मका सबैलाई हामीले प्रष्ट्याइसकेका छौं । ०४६ सालमा प्रतिकार समितिमा बसेर हामीउपर डण्डा बर्साउनेलाई त हामीले मन्त्री बनाएर उहिल्यै प्रष्ट्याइसकेका छौँ । मेची किनारमा बसेर रक्तचन्दनका मुठा बोक्नेले पनि राम्रै पदधारणको मौका पाएका छन् । सुपारीको बोरा बोक्नेहरु पनि चारतारे निधारमा गुथेर जिन्दावाद गाउने भएका छन् । पुलिसको सरुवामा पचासौं हजारको दलाली गर्ने काङ्ग्रेसको माथिल्लो पदधारण गर्दै प्रोटोकल खोज्दै हिंड्ने पनि हामीसँगै छन् । नगरपालिकाको अधिकृत धम्क्याएर मोबाइल नजराना लिने वरिष्ठ काङ्ग्रेस उनी नजन्मिदै काङ्ग्रेसका लागि जेल पसेर निस्केका काङ्ग्रेसलाई ‘कसैगरी पनि काङ्ग्रेस बनाउन सकिएन’ भन्दै सन्ध्याकालिन आरतिमा बर्बराउने पनि यतै छन् । वडाको टिकट बेचेर दारुपानीको ब्यवस्था गर्नेदेखि नगरको टिकट बेचेर गाडी चढ्ने वरिष्ठ खोरेत तपाईं-हामीसँगै भएपछि तपाईंले राजिनामा किन गर्ने ? टिकट बेच्दा तिमीहरुलाई लाजशरम लागेन भन्दा ‘बेचेको होइन हौ, डोनेसन लिएको हो’ भन्ने निर्लज्ज जवाफ फर्काउन सिपालु पुर्वबामपंथी हामीसगै भएपछि तपाईंका लागि पनि त्यस्तै जवाफ उपलब्ध हुने कुरामा तपाईं ढुक्क हुनुस् ।
तपाईं र तपाईंजस्ता प्रष्टका लागि सबैभन्दा भयानक रक्षाकवच त मै हो नि ! म यहाँको ठुटे पत्रकार ! पत्रकारको कार्ड देखाएर सबैलाई धम्क्याउन सिपालु । त्यही कार्डको फोटोकपी देखाएर मैले धेरै पालिकाको हण्डी बटुलेको छु । चामलको जोहो गर्दैछु । मलाई मान्नेलाई प्रष्ट र मसँग जोरी खोज्नेलाई भ्रष्ट बनाउने कला मसँग छ । मेरो खप्परमा स्थानीय खोरेतको आशीर्वाद त छँदैछ राष्ट्रिय खोरेतको समेत कृपादृष्टि छ । मैले लेखेपछि तपाईं पदेन प्रष्ट ।
त्यसकारण पचास लेखकज्यु ! तपाईं ढुक्कसँग अघि बढ्नुस् । तपाईं ‘पचास’ मात्र हैन अब ‘सय’ लेखक हुनुपर्छ, ‘हजार’ लेखक हुनुपर्छ, ‘लाख’ लेखक हुनुपर्छ !!
पचास लेखक अघि बढ.. खोरेत तिम्रो साथ छ ! बीपीको फोटो त छातीमै टाँसिएको छ !
प्रतिक्रिया