तीन कविता

तीन कविता


१. रोइरहेछु

अन्तिम मृत्युबाट
मान्छेहरु चिच्याइ रहेछन्
गुहार भनी
मृत्युकै मुखबाट हाम फाल्दै
उफ !
कति चिच्याउनु ?
घाँटी सुकि सक्यो आज पनि
पानी
पानी
पानी
अन्तिम माग यही हो मेरो पनि
जो कोही मरिरहेछन् (बालक, युवा, वृद्ध)
सूर्य उदाए पछि
र सूर्य अस्ताए पछि पनि
हे ईश्वर (यदि कतै छौ भने)
म तिमीलाई बारम्बार पुकारी बस्छु
जीवनदान प्राप्तिका लागि
जीवन दान दिन नसक्ने हैशियतका तिमी ?
तिम्रो कुनै भरोसै छैन
तिम्रो पूजा अर्चना गर्नु किन ?

मन
आस्था
र विश्वासहरु
मरिरहेको यो क्षण
म जीवन खोजिरहेछु
जीवनकै पटाङ्गिनीमा
मान्छेहरु पिइरहेका छन्
पिउनेहरुलाई श्राप देउ
जो प्यालाका प्याला पिइरहेछन्
उफ !
जीवन रित्याउँदै
कस्तरी पिउन सकेका ?
बेहोश हुने गरी ।

यी अक्षरका नाराहरु मात्रै हैनन्
हुन सक्छन विरोधका जुलुसहरु
या जिउँदा लासका मलामीहरु
म मान्छेको मृत्युमा
डाँको छोडेर रोइरहेको छु
सकेसम्म
मेरी आमा
मृत्यु छेक्ने कोशिस गर्दै
मलाई जीवनदान दिन्छिन्
म आमाप्रति कृतज्ञ बन्छु ।

२. यात्रा

म फूल्न उत्साही छु,
सुनाखरी जस्तो
मन विश्रङ्खलित नहुनु पर्ने
भावना लुकाउन चाहन्न
तिनीहरुलाई मिलाएर राख्छु
भावना नमर्ने गरी
मनका फाँटहरुमा ।

प्रफुल्लित छु यो बेला
एकै छिन मुस्कुराउँछ
मधुर ओठहरु मिलाएर
हृदयलाई स्पर्श गर्छु
आखिर मनै न हो
सुखद सपना कल्पदै
स्मृतिका फाँटहरुमा
आहोरदोहोर गर्छु
जीवनको जिजीविषा बोकेर ।

लाग्छ
म देश निमार्णमा जुटेको छु यसबेला
म संग एक जोडी हात छन
देश उचाल्ने
म संग एक जोडी खुट्टा पनि त छन्
देशको यात्रा गर्ने
आमा भन्छिन
सपुत
तिम्रा हातहरु सृजनाका प्रतीक हुन्
तिमीले देशको ढुङ्गा माटो खोस्रनु पर्छ
निरन्तर पसिना बगाएर
तिम्रा खुट्टा देशका खम्बा हुन्
तिमीले देशको पहरेदारी गर्नु पर्छ
निरन्तर सीमारेखा जोगाएर ।

३. नयाँ यात्रा

गज्याङ्ग मज्याङ्ग हाम्रा अस्तित्वहरु
छरिएर छरपस्ट कोलाहल छ मन भित्र
वर्तमान आकुल व्याकुल छ
जिन्दगीको परिभाषा नभेटे पछि
म कोलाहल पएिर
बृद्धत्व प्राप्तिका लागि
यात्रामा निस्किएको छु ।

यो वर्तमान
स्वार्थले दन्किएर
मलाई खरानी बनाउन खोज्छ
मेरो टाउकोमाथि खुकुरी झुण्डाएर
एउटा कालो युग दौडिरहेछ म माथि
म वर्तमानका विसङगतिसंग जुझ्दै
पहाड उक्लन्छु
देउरालीमा पाती चढाइ
भञ्ज्याङ्गतिर ओर्लन्छु ।

मलाई उचाल्ने पछार्ने धेरै छन्
नाङ्गलोमा निफन्नेहरु पनि छन्
खुट्टा तान्नेहरु पनि छन् ।

म कायरहरुकै सामुन्ने
आँधी बनेर आएको छु
मलाई रोक्ने दुस्साहस नगर
म नयाँ यात्रा थाल्न चाहन्छु
जहाँबाट यात्राको प्रस्थानविन्दु आरम्भ हुनेछ ।

  • सुन्दरहरैंचा-६, दुलारी, मोरङ