✍ श्यामकृष्ण लम्साल
हामीसँग के थियो र के गुम्नु ?
गाँस, बास र कपासको
बन्दोबस्त छैन भन्दैमा
हामी कसरी सुकुम्बासी भयौँ ?
म र मजस्तालाई
राज्यले उपेक्षा गरेको भरमा
हामी कसरी उत्पीडित भयौँ ?
कसैले भिराइदिएका
अन्य जातिको माला घाँटीमा झुण्ड्याएर
हामी रमाइरहेका छौँ नि त !
इतिहासले हामीलाई
शासकवर्गको सन्तान लेखेछ,
राज्यसत्ताको आँखाले सम्भ्रान्त वर्ग देखेछ,
हाम्रा पुर्खाहरू थरी थरी
जिम्बुवाल, जिम्दारी पखारी थिए रे !
कनैवेलाका शोषक, सामन्त पनि रे !
त्यसैले,
वर्तमानमा हामी
सबै कुरामा अघाएका छौँ
हिँड नभए पनि हिँड बाँधिएको टोलो सुँग्दै,
बाजेले खाएको घ्यूको कथामा रम्दै
मुखियाको रगत हुनुको मानमा
शिर हल्लाउँदै
कम्मर मकाउँदै
अन्य जातिको माला भिरेर
राग अलाप्दैछौँ बलिपाध्येको सन्तान भनेर !
जावो बस्ने बास नभएर के भयो र ?
पेटमा दगुरिएका मुसा दगुरिरहन्छन् नि !
आदिम युगमा रूखका बोक्राहरूले काम चलेकै थियो र !
आउने खाली जाने पनि खाली नै हुने भएपछि
अन्य जातिले थाङको लाग्नुमा
के आपत्ति रह्यो र ?
किन राज्यसँग लाप्पा खेल्नुहोला र ?
प्रतिक्रिया