सामाजिक सञ्जालबाट एलिना चौहानलाई दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

सामाजिक सञ्जालबाट एलिना चौहानलाई दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप


गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र दुर्व्यवहार गर्नेमाथि अनुसन्धान गर्न तीन दिनको म्याद थप भएको छ । गायिका चौहानले दिएको जाहेरीका आधारमा चितवनको भरतपुर महानगरपालिका-१० घर भई हाल ललितपुरको गोदावरी बस्ने ३३ वर्षका गुञ्जन राईलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरी बिहीबार (१९ असार) काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो ।

अदालतको आदेशले विद्युतीय कारोबार ऐन २०६३ को कसुरमा छानबिन तथा अनुसन्धानका लागि ब्युरोलाई तीन दिनको म्याद प्राप्त भएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिएका छन् ।

एस्पी अवस्थीले भनेका छन्, ‘प्राविधिक विश्लेषण र अनुसन्धानबाट उक्त घटनामा राई नै संलग्न रहेको पाइयो, धेरै आइडी बनाएर यस्ता गतिविधि पनि गर्ने गरेको पाइएको छ, उनमाथि अनुसन्धान जारी छ ।’

उनका अनुसार राईले चरित्र हत्या हुनेगरी पीडितको तस्बिर र भिडिओसमेत पोष्ट गर्ने र पीडितकै फेसबुकमा गालीगलौज गरी चरित्रहत्या हुने खालका विषय कमेन्ट बक्समा पोष्ट गर्ने गरेको पाइएको छ ।

गायिका चौहानले आफ्नो फेसबुक स्टाटसमा चरित्रहत्या हुनेगरी कमेन्ट गर्ने गरेको उल्लेख गर्दै यही असार १६ गते ब्युरोमा जाहेरी दिएकी थिइन् ।

यो लडाइँ आफ्नो मात्रै नभएको भन्दै गायिका चौहानले चरित्रहत्या गर्ने अधिकार कसैलाई नभएकाले साथ दिन सार्वजनिक अनुरोध गरेकी छन् ।