विश्व-राजनीतिलाई नजिकबाट नियाल्ने उहाँको दृष्टिचेत विशाल नभैदिएको भए स्वर्गीय कँडेल एउटा समाजवादी चिन्तकका रूपमा त्यति धेरै प्रभावशाली हुनुहुन्नथ्यो होला । उहाँको स्वअध्ययन र प्राप्त ज्ञानलाई ब्यवहारमा उतार्ने कलाले नै उहाँलाई राजनेता र समाजवादी चिन्तक बनाएको हो ।
✍ डिल्ली अम्माई

मीठो बोली, सरल जीवन, बृहत् अध्ययन, स्वतन्त्र चिन्तन, निष्ठा तथा विवेकको राजनीतिले नेपाली समाजमा स्वर्गीय समाजवादी नेता गोविन्द कँडेलको विशिष्ट पहिचान बनाएको छ । उनी बाचुन्जेल भुइँमान्छेहरूको आवाज बनेर बाँच्नुभयो र अन्तिम अवस्थामा पनि कसैलाई सास्ती नदिइकन सुटुक्क संसारबाट बिदा लिनुभयो । जीवित कालमा कहिल्यै कसैसँग ब्यक्तिगत गुनासो गर्नुभएन । पद-प्रतिष्ठाभन्दा माथि उठेर समाज र राष्ट्रको हितमा बोलिरहनुभयो, सामाजिक तथा पार्टी कार्यमा सक्रिय रहिरहनुभयो र नेपालका प्रत्येक जिल्लाको माटो कुल्चेर यही २०८२ साल असार १५ गते हिँड्दै गर्दा चितवन टाँढीको बाटोमा अन्तिम स्वास लिनुभयो ।
म उहाँको जीवनशैली, स्पष्ट बुझाइ, मानविय चिन्ता र देशभक्तिबाट धेरै नै प्रभावित थिएँ । उहाँलाई मैले २०४८ सालपछि पटक-पटक भेटेँ । कुराकानी गर्दा राजनीति शास्त्रमा उहाँको ज्ञानको दायरा देखेर म चकित हुन्थेँ । वि.सं. २०४८ सालमा सांसद भएपछि उहाँले संसदमा सदैव जनताको आवाज बुलन्द पार्नुहुन्थ्यो । सभा सम्मेलनमा पनि उहाँले बीपीको प्रजातान्त्रिक समाजवादी कार्यदिशाबारे सबैले बुझ्ने शैलीमा प्रवचन दिइरहनुहुन्थ्यो । उहाँको बोलीमा शाब्दिक सौन्दर्यको झरना बर्सिन्थ्यो; उहाँको आवाजमा एक प्रकारको जादु थियो । उहाँका मन्तब्यहरूबाट मानिसहरूमा मरिसकेका आशा जागृत भएर आउँथे; सांस्कृतिक जागरणको लहर उठ्थ्यो र समाजवादी चेतनाले समुदायलाई जोड्ने काम गर्थ्यो । त्यस्तो नेता अब कहाँ पाउनु अब ! धौलागिरीको शितलता पिएर हुर्के/बढेकोले होला, उहाँको बोली र ब्यवहार नै शितल थियो । ब्यवहारमा कहीँकतै घमण्डको लेस थिएन । जनता र कार्यकर्तामा अति सरल ब्यवहार गर्ने, अति मिहीनरूपले जोडिइरहन मनपराउने नेता गोविन्द कँडेल अब हामीबीच हुनुहुन्न भन्नुपर्दा मन नै धुमिल भएर आउँछ ।
धौलागिरिमा जन्मेका नेताहरूमध्ये स्वर्गीय गोविन्दप्रसाद शर्मा कँडेलपछि अर्का सादगी जीवित नेता हुनुहुन्छ चित्रबहादुर केसी । ‘यी दुवै विचारमा फरक भएपनि जनताको आँखामा कहिल्यै नबिझाउने नेताकोरूपमा इतिहासमा सम्मानित रहनेछन्’ भन्नुहुन्छ पूर्वसांसद टंकप्रसाद कँडेल । उमेरले गोविन्द ३-४ वर्ष जेठा हुनुहुन्थ्यो भने केसी कान्छा हुनुहुन्छ । विपरीत राजनैतिक धारका यी दुई नेतामा फरक विचार मात्र हो तर सादगीपन र दर्शनको हिसाबले दुवै समाजवादी । पुर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी अझै बामपन्थी आन्दोलनमा उत्तिकै सक्रिय हुनुहुन्छ ।
जनप्रिय र ब्यवहरवादी नेता भएकै कारणहरूले मलाई बाग्लुङका पुराना बयोवृद्ध राजनेता गोविन्द कँडेलको जीवनी लेख्नुपर्छ भन्ने लागेको थियो । त्यही सोचका साथ २०७७ साल चैत ७ मा म र मेरो छोरा प्रकाश बाग्लुङ बिहुँ पुग्यौँ । त्यो बेला म बिहुँ पिडाल्नास्थित उहाँको घरमा बसेर उहाँको राजनैतिक उत्खनन् गरेँ । उहाँको लगभग ५ घण्टा जतिको अडियो अन्तर्वार्ता गरेँ । त्यसपछि धेरै पटक उहाँसँग बसेर जीवनीका धेरै पाटाहरू कापीमा उतारिसकेको छु । उहाँका राजनैतिक जीवनका मुख्य विषयसँग सम्बन्धित रहेर लिएको अन्तर्वार्ताको मुख्य अडियो अहिले मसँग सुरक्षित छ । त्यसलाई समेत मैले पाण्डुलिपिमा उतारिसकेको छु । तर दुर्भाग्य ! उहाँकै हातबाट विमोचन गर्नुपर्ला भनेर प्रकाशनको लागि ठिक्क पारेको उक्त पुस्तकको पाण्डुलिपिले पुस्तकको रुप धारण गर्न नपाउँदै उहाँ स्वर्गे हुनुभयो । मेरो त्यो धोको अहिले दुखेर मसँगै छट्पटाइरहेको छ ।
लेख्ने क्रमको बीच-बीचमा मैले उहाँलाई छुटेका विषयबारे धेरै सोधेर दुःख दिइरहेको थिएँ । ‘किताब निकाल्न हतार नगर्नुस् बाबु, यो एउटा दस्तावेज भएकोले तथ्यहरू अझै खार्नुपर्छ । मैले पनि एकपटक हेर्छु । म हिँड्दा–डुल्दै मरेछु भनेपनि केहि छैन, पछि छपाए हुन्छ किताब ।’ उहाँले पछिल्लो पटक भनेका शब्दहरू हुन् यी । तथ्यहरूको मैले धेरै किसिमले पुनर्लेखन गरेको छु, तथ्यहरू धेरै कोणबाट जाँचेको छु । पाण्डुलिपि पनि उहाँको हातमा पारेँ तर उहाँले नै आफैं एक पटक हेर्ने भनेपछि जीवनी तथा अन्तर्वार्ताको त्यो पुस्तक प्रकाशित गरेर उहाँकै हातबाट विमोचन गर्न सकिनँ । यो मेरो दुर्भाग्य नै हो ।
मैले उहाँ स्वर्गबास हुनुभन्दा १९ दिनअगाडि फोन गरेर सोधेको थिएँ, ‘बुबा किताव प्रकाशनमा दिउँकि के गरूँ ।’ उहाँले ठट्टा गर्दै भन्नुभएको थियो, ‘किन हतार गर्नु र बाबु; मैले हेर्न भ्याएको छैन, बाग्लुङ्गको इतिहाससँगै मेरो र चित्रबहादुर केसीजीको जीवनी जोडिएको छ । जीवनी पनि मिल्छ । हाम्रा बैचारिकी भिन्नता फरक भएपनि संकल्प र निष्ठाको जुनुन मिल्छ । हामी मरेर गएपनि हाम्रा कुराहरूले सबैलाई प्रेरणा दिने भएकोले इतिहासका तथ्यहरूमा चनाखो हुनुपर्छ । इतिहास भविष्यको दर्पण हो ।’
पछि नेता ‘गोविन्द बा’को जीवनी लेखनीमा छुटेका कुराहरू टिप्ने मनसायले बाग्लुङ्गकै ने.का.का नेता तथा पूर्वसांसद टंकप्रसाद कँडेललाई फोन गरेर ‘गोविन्द बा’को राजनैतिक जीवनको बारेमा जिज्ञासा राखेँ । उहाँले भन्नुभयो, ‘अचेल दाजुले राम्रोसँग कान सुन्नुहुन्न बाबु ! उहाँ २०१७ साल फाल्गुन ८ गतेबाट जेलमा पर्नुभयो । तत्कालिन कांग्रेसका सभापति भनौँ वा संयोजक (पार्टीबाट मनोनित) नेता योगेन्द्र काका र डिल्ली विचारीले हिरासतमै आत्मसमर्पण गरेर पञ्चायत प्रवेश गर्नुभयो । तर तिलक सापकोटा, गोविन्द दाइहरूले आत्मसमर्पण गर्नुभएन र ठुलो यातना भोग्नुभयो । धौलागिरिमा संकटको अवस्थामा कांग्रेस बचाउने नेता हो गोविन्द दाइ । पञ्चायत कालमा पनि पटक-पटक जेल पर्नुभयो । निर्वासित अवस्थामा पार्टीलाई पुनर्जीवन दिनुभयो । उहासँग जोडिएका यस्ता पुराना प्रसङ्ग र सन्दर्भहरू धेरै छन् । त्यसैले उहाँप्रतिको जनआकर्षण कहिल्यै घट्छ जस्तो लाग्दैन ।’ पुस्तक तयारीको लागि मैले धेरैलाई नेता गोविन्द बाको बारेमा सोधेँ, उहाँप्रति कसैको टिप्पणी असहज थिएन, पक्ष–विपक्ष सबैको समान श्रद्धा पाएँ ।
उहाँले कहिल्यै अल्कोहल पिउनुभएन, माछा-मासु खानुभएन । सादा जीवन जिउनुभयो । अन्तर्वार्ताको शिलशिलामा पाँच दिन उहाँसँग बिताउँदा उहाँको नम्रता उस्तै थियो । लामो समयसँगै बस्दा मलाई बरु लाज लाग्यो, तर उहाँले असहज महसूस गर्नुभएन । उहाँले दर्शनमा मार्क्स र बीपी विचारको भिन्नताबारे जेपी नारायणको सिद्धान्तसँग लगेर जोड्नुहुन्थ्यो ।
‘बीपीको प्रजातान्त्रिक समाजवाद जेपी नारायणको समाजवादबाट प्रभावित छ बाबु । जे.पी.ले समाजवादलाई सामाजिक र आर्थिक पुनर्गठनको सिद्धान्तको रूपमा चित्रण गरेका छन्, जसले सामाजिक स्वामित्वको पक्षमा उत्पादक सम्पत्तिको निजी स्वामित्वलाई उन्मूलन गर्दछ । समाजवादको बारेमा ‘धार्मिक’ केही छैन; ‘यो व्यक्तिगत आचारसंहिता होइन; यो त्यस्तो चीज होइन जुन तपाईं र म फरक फरक किसिमले अभ्यास गर्न सक्छौं । समाजवाद समुदायको एकीकृत अभ्यास हो ।’ गोविन्द भन्नुहुन्थ्यो, ‘बीपीले मार्क्सलाई पनि गुरु मान्नुहुन्थ्यो बाबु, उहाँका अनुसार समाजवाद हाम्रै देशको मौलिक विशेषतामा आधारित हुनुपर्छ । यसले नेपालकै नैतिक चेतना सहितको भौतिक प्रचुरताको समाज सिर्जना गर्नेछ जहाँ मानिसहरूले सद्गुण अभ्यास गर्न कुनै तनाव पाउने छैनन् ।’ उहाँले हरेक कुरालाई बीपीको विचारसँग जोडेर पार्टीको सिद्धान्तको व्याख्या गर्नु हुन्थ्यो ।
मैले उहाँसँग गरेको वार्ताको एक प्रसङ्गमा भन्नुभएको थियो, ‘बाग्लुङ्गमा म मात्रै हैन, चित्र बहादुरजीको पनि जस्ताको तस्तै जीवनी लेखिनुपर्छ, जसबाट भोलिका पिँढीले उहाँका संकल्प, त्याग र बलिदानको सिको गर्न सकुन् । त्यस्तै प्रमानन्द गुरु, तिलक सापकोटा, गोपाल सापकोटा, रेम प्रसाद सापकोटा, दुर्गा आचार्य, शहीद थिर बम मल्ल लगायत धेरै नेताहरू थिए यो भूमिमा, जसले दुनिया बदल्ने अभियानमै आफ्नो सम्पूर्ण जीवन समर्पण गरे । अबका अन्वेषक लेखकहरूले उहाँहरूलाई पनि खोज्ने र लेख्ने गर्नुपर्छ ।
वास्तवमा गोविन्द कँडेल असाध्यै पढ्ने र हात्तीको जस्तो सम्झना शक्ति भएको व्यक्ति हुनुहुन्थ्यो । लेखपढ गर्न उहाँलाई विशेष सुविधा चाहिँदैनथ्यो । आचार्य नरेन्द्रदेव, जयप्रकाश नारायण, राममनोहर लोहिया तथा बीपी कोइरालाको जीवन, सिद्धान्त तथा दृष्टिकोणबाट उहाँको सैद्धान्तिक राजनीतिक यात्रा शुरू भएको हो । उनीहरूका पुस्तक, लेख तथा भाषणहरू उहाँलाई लगभग कण्ठै देखिन्थ्यो । जयप्रकाश नारायणको विद्वत्ता तथा राममनोहर लोहियाको मार्क्स, गान्धी एन्ड सोसलिज्म उहाँको कुरा सुन्दा पटक पटक सन्दर्भमा आउँथ्यो । आफू वैष्णव भएपनि बुद्ध दर्शन र गान्धीको सोचबाट उहाँका दृष्टिकोणहरू क्रमशः विस्तारित भएका देखिन्छन् ।
रुसको अक्टोबर क्रान्ति, भारतको स्वतन्त्रता सँग्राम, लेनिनको संघर्ष, ट्रट्स्कीको जीवन र मान्यता, पोल्यान्डकी मार्क्सवादी रोजा लुक्सम्बर्ग, जर्मनीका एड्वर्ड वर्नस्टाइन जस्ता दर्जनौं पश्चिमा विचारकहरूका मूल्य–मान्यताहरू यस क्षेत्रको सामाजिक तथा आर्थिक परिस्थितिका आधारमा उहाँ निरन्तर व्याख्या गर्न तल्लिन हनुहुन्थ्यो । यस टिप्पणीकारले मेक्सिम गोर्कीको आमा उपन्यास पनि उहाँकै आग्रहमा पढेको हो ।
औपचारिक कक्षा थोरै पढेको भएपनि उहाँको स्वअध्ययनको क्षेत्र विशाल थियो । अझ राजनैतिक क्षेत्रमा उहाँलाई थाह नभएको विषय कम नै हुन्थ्यो । विश्व-राजनीतिलाई नजिकबाट नियाल्ने उहाँको दृष्टिचेत विशाल नभैदिएको भए स्वर्गीय कँडेल एउटा समाजवादी चिन्तकका रूपमा त्यति धेरै प्रभावशाली हुनुहुन्नथ्यो होला । उहाँको स्वअध्ययन र प्राप्त ज्ञानलाई ब्यवहारमा उतार्ने कलाले नै उहाँलाई राजनेता र समाजवादी चिन्तक बनाएको हो ।
राजनीतिसँग ‘पावर’को पक्ष जोडिएको हुन्छ । सामान्यतः शक्ति प्राप्त गर्ने लालसा छैन भने राजनीतिमा कोही पनि होमिदैन । धेरै कम मान्छेहरू मात्र अपवादका रूपमा लिन सकिन्छ । त्यसमध्येको सबैभन्दा बलियो उदाहरणका रूपमा भारतका गान्धी थिए भने नेपालका गोविन्द कँडेल र प्रदिप गिरी मानिन्छन् । जो समग्र परिवर्तनको अवधारणा राख्थे । राजनीति यसको एउटा पाटो मात्र थियो । महात्मा गान्धी, प्रदीप गिरि र गोविन्द कँडेल वास्तविक राजनीतिक शक्तिको आकांक्षा नभएको एउटा आदर्शवादी, मानवतावादी तथा अध्यात्मवादी नेता हुन पुग्नुभयो । शासन र शक्ति प्राप्त गर्ने कुनै चाहना नै भएन उहाँहरूको जीवनमा । उहाँहरूको व्यक्तित्व तथा विचार, धर्म तथा राजनीति, प्राचीन दर्शन तथा मौलिक समाजवादी आदर्श सम्मत हुन पुग्यो ।
आफ्नो आस्था तथा विचारको ‘लेबोरेटरी’का रूपमा गिरीले जस्तै गोविन्दले पनि गुरुकुलबाट शिक्षाका साथै सामुहिक जीवन पद्धतिको शुरुवात गर्नुभयो । नेपालका धेरै राजनीतिकर्मीले यस प्रकारको प्रयोग गरेको देखिदैन । २०११ सालमा भारतबाट गुरुकुल अध्ययन बिचैमा छोडेर नेपाल फर्कनुभएका गोविन्द कँडेलले आफ्नै गाउँमा बिद्यालय स्थापनाको लागि मरिमेटेर लाग्नुभयो । स्कुलको स्थापना गर्नु भयो । त्यसपछि रामकोटमा गुरु आश्रम निर्माणमा पनि विशेष योगदान दिनु भयो । २०१५ सालको चुनावमा भएको आम चुनावमा कांग्रेसलाई जिताउन कमान्डरको रुपमा प्रचारप्रसारमा होमिनुभयो । २०१६ सालमा नेपाली कांग्रेसले चुनाव जितेपछि बाग्लुङ्गमा विकास परिषदको सदस्य भएर सरकार निर्माणमा भाग लिनुभयो । २०१७ सालको पुस १ गते राजा महेन्द्रले पंचायती ब्यवस्थाको शुरुवात गरेपछि सोही साल फाल्गुन ८ बाट उहाँ जेल पर्नुभयो र करिव नौ महिना जेलमै बिताउनुभयो । जेलमा धेरै कठोर यातना भोग्नुभयो तर कहिल्यै पार्टीलाई ढोका दिनुभएन । पार्टीका तात्कालिन जिल्ला सभापति र सचिवले आत्मा समर्पण गर्दा पनि तात्कालिन युवा नेता गोविन्दप्रसाद कँडेलले पञ्चायती ब्यवस्थाका सामु आत्मसमर्पण गर्नु भएन । प्रजातन्त्र समाप्त पार्ने राजा र उनका हिमायतीहरूको डटेर मुकावला गर्नुभयो ।
अन्त्यमा, नेता गोविन्द कँडेल जस्ता धौलागिरीका अग्ला राजनैतिक हस्तीको निधनले सिङ्गो धैलागिरीमात्र नभएर देश नै मौन शोकमा छ । उहाँको पार्टीका माननीय पार्टीसभापति शेरबहादुर देउवा तथा सम्मानित राष्ट्रपतिबाट देशले एक निष्ठाका सतिशाल गुमाएकोमा शोक वक्तब्य जारी भएको छ । लाग्छ- उहाँका ब्यवहारवादी गुण, राजनैतिक निष्ठा र समाजवादी सपनालाई अवश्य पनि जनताले भुल्ने छैनन् । अग्रज पुस्ताका उदाहरणिय नेता तथा बाग्लुङका एक राजनैतिक अविभावक गुमाउनु पक्कै पनि देशको लागि एक अकल्पनीय क्षति हो । महान नेता स्वर्गीय गोविन्दप्रसाद शर्मा कँडेलको आत्माको चीर शान्तिको कामना तथा परिवारजनामा हार्दिक समवेदना !
प्रतिक्रिया