काठमाडौंको नागर्जुन नगरपालिकाका दश वटा वडाका स्थानीयवासीले मोबाइलबाट लघु चलचित्र निर्माण गर्नेसम्बन्धी कार्यशालामा सहभागिता जनाएका छन् । इमेज एकाडेमीको आयोजना र इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन (IAWRT) नेपालको सहकार्यमा १५ दिवसीय ‘मोबाइलबाट लघु चलचित्र निर्माण’ कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा नागर्जुन नगरपालिकाका दशवटै वडाबाट १०५ जना स्थानीय सहभागी थिए ।
सो कार्यशालाका क्रममा स्वास्थ्य, शिक्षा, कृषि, युवा, बालबालिका र महिलाका विषयमा आधारित १६ वटा लघु चलचित्रहरू निर्माण गरिएका छन् । कार्यशालामा इमेज एकाडेमीकी संस्थापक अध्यक्ष अनुपा श्रेष्ठ, IAWRT नेपालकी अध्यक्ष इच्छा गुरुङ, फिल्म निर्देशक सङ्गीता श्रेष्ठ, सञ्चारकर्मीहरु; अनुशा पौडेल, सन्ध्या थापा, सन्तोषी पौडेल, शिलु अधिकारी, शैलजा सिंह, दृश्य सम्पादक निशा मानन्धर र कन्टेन्ट क्रियटर दिपेश घिमिरेले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षार्थीहरूले मोबाइलमार्फत चलचित्र निर्माण गर्ने प्रशिक्षण पहिलोपटक पाउँदा उत्साहित भएको र कार्यशाला निकै उपयोगी रहेको प्रतिक्रिया दिएका छन् ।
IAWRTनेपालकी अध्यक्ष इच्छा गुरुङले कार्यशालाबाट छनोट भएका उत्कृष्ट १० जनालाई एडभान्स प्रशिक्षणमा सहभागी गराइने र निर्माण गरिएका लघु चलचित्रहरू आगामी मंसिरमा IAWRT नेपालद्वारा आयोजित छैठौं लघु चलचित्र प्रतियोगितामा प्रदर्शन गरिने जानकारी दिएकी छन् ।
असार २९ गते आयोजित समापन समारोहमा नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिन् । सो अवसरमा वडा नं. ५ का अध्यक्ष महेश रिमाल, IAWRT International की सचिव मन्दिरा राउत, विभिन्न वडाका प्रतिनिधिहरूको उपस्थिति थियो ।
प्रतिक्रिया